मानिसलाई अध्यात्मको ज्ञान किन चाहिन्छ ?

सुप्रिया माँ

सबैभन्दा पहिला अध्यात्म के हो ? त्यसलाई बुझौं । मानिसको अन्तरमुखी दृष्टिलाई अध्यात्म भनिन्छ । बहिरमुखी दृष्टिलाई विज्ञान भनिन्छ । अध्यात्मको अर्को अर्थ हुन्छ आफूले आफैलाई जान्नु । पदार्थको वास्तविक स्वरुपलाई जान्नु विज्ञान हो ।

चेतनाको वास्तविक स्वरुपलाई जान्नु अध्यात्म हो । चेतना र पदार्थ दुवै मिलेर बनेको छ हाम्रो जीवन । अर्थात् जीवन चेतन र जडको संयोग हो । जीवन भनेको विज्ञान र अध्यात्मको योग हो भन्न पनि सकिन्छ । विज्ञानमा मात्र आधारित जीवन अधुरो हुन्छ ।

किनकि विज्ञानले जड तत्वको मात्र ज्ञान दिन्छ । चेतन तत्वको ज्ञान विज्ञानले दिँदैन । अध्यात्मलाई नजानिकन मानिसले चेतन तत्वलाई राम्रोसँग जान्न सक्दैन । यो संसारमा जड सँगसँगै चेतन तत्व पनि छ । त्यसकारणले पनि विज्ञान र अध्यात्म दुवै कुरा मानिसले जान्नु पर्दछ ।

मानव जीवन के हो ? त्यसलाई पनि बुझौँ । मानव जीवन ईश्वरबाट पाएको एउटा विशिष्ट, अमूल्य र सुन्दर उपहार हो । मानव जीवनका चारवटा आधार स्तम्भहरु छन् । अर्थात, मानव जीवन चारवटा आधार स्तम्भ भौतिक शरीर, मन, भावना वा हृदय र चेतनाले बनेको छ ।

मानिस भन्ने बित्तिकै चारवटा आधार स्तम्भहरु भौतिक शरीर, मन, भावना वा हृदय र चेतना भन्ने बुझिन्छ । मानिसको देखिएको बाहिरको खोल हो भौतिक शरीर र त्यो सबैको आँखाले देखिन्छ । तर यो शरीरभित्र नदेखिएको मन छ, भावना वा हृदय छ र विशिष्ट र अमूल्य तत्व चेतना पनि छ । यो बहिरको आँखाले देखिँदैन ।

मानिस भन्ने बित्तिकै अब मन, भावना र चेतनालाई बुझिन्छ । शरीर मानिसको बाहिर देखिएको एउटा खोल मात्र हो । मानिसभित्र मन, भावना र अन्य प्राणीहरुकोभन्दा उच्च चेतना रहेको पाइन्छ । अरु प्राणीहरुमा मनजस्तो विशिष्ट कुरा पाइँदैन । मानिसको चेतना पनि अन्य प्रणीहरुको भन्दा धेरै भएकाले मानिस एउटा विशिष्ट प्राणी हो भन्न सकिन्छ ।

मानिसको भित्र अनन्त सम्भावनाहरु र क्षमताहरु रहेको छ । बाहिर देखिएको क्षमता मात्र दश प्रतिशत हो । भित्र नदेखिएको अन्तरिक क्षमता ९० प्रतिशत छ । हामीभित्र यति धेरै क्षमता र सम्भावनाहरु भए तापनि त्यो त्यसै दबिएर रहेको हुन्छ र राम्रोसँग उजागर हुन पाएकै हुँदैन ।

यो क्षमता र सम्भावनाहरु राम्रोसँग उजागर गर्ने हो भने मानिस जे पनि बन्न सक्छ र जस्तो पनि हुन सक्छ । अध्यात्म यस्तो ज्ञान हो जसले हामीभित्र रहेको त्यो विजरुपी क्षमता र सम्भावनालाई उजागर गरेर एउटा ठूलो वृक्ष बनाउन सहयोग गर्छ ।

मानिसभित्र रहेको क्षमता र सम्भावनाहरु उजागर हुने हो भने मानिस आफू मात्र सम्पन्न नभएर अन्य धेरै मानिसहरुलाई पनि छहारी दिनसक्ने एउटा ठूलो वृक्ष पनि बन्नसक्छ । त्यो सबै अध्यात्मको ज्ञानबाट सम्भव छ ।

हामीभित्र रहेको विजरुपी क्षमता र सम्भावनाहरुलाई उम्रिने र फैलिने वातावरण बनाउनुपर्छ । त्यो वातावरण अध्यात्मको ज्ञानले बनाइदिन्छ । हामीभित्र रहेको क्षमता र सम्भावना उजागर भएपछि हामी जे बन्नका लागि यो संसारमा आएका हौँ, अब त्यो बन्न सकिन्छ ।

अध्यात्मले मानिसमा रहेका चार आधार स्तम्भ भौतिक शरीर, मन, भावना र चेतना को क्षमता र सम्भावनालाई बृद्धि गरिदिन्छ र मानिसभित्र रहेको त्यो ९० प्रतिशत सम्भावना र क्षमतालाई उजागर गरिदिन्छ ।

१. कसरी हुन्छ भौतिक शरीरको क्षमतामा बृद्धि ?
अध्यात्मले भौतिक शरीरलाई पनि स्वस्थ राख्न सहयोग गर्छ र शरीरको क्षमतालाई अत्याधिक बृद्धि गरिदिन्छ । अध्यात्मका विभिन्न विधाहरुजस्तै योगाभ्यास र प्राणायामको माध्यमबाट हामीले शरीरलाई कसरी स्वस्थ राख्ने त्यो कला पनि जान्दछौँ । शरीर स्वस्थ रहने बित्तिकै त्यस्को क्षमता पनि स्वतः बृद्धि हुन्छ ।

२. कसरी हुन्छ मनको क्षमता र सम्भावनामा बृद्धि ?
मनले हामीलाई दुईवटा आयाममा जान सहयोग गर्छ । एउटा हो बाहिरको भौतिक संसारमा सफल र समृद्ध हुन मनले हामीलाई सहयोग गर्छ र अर्को हो हामीभित्र रहेको मानसिक शान्ति र आनन्दतिर जान पनि हामीलाई मनले नै सहयोग गर्दछ ।

बाहिरको संसारमा जति पनि मानिसहरु सफल र समृद्ध भएका छन्, उनीहरुले आफ्नो मनको क्षमतालाई बृद्धि गरेर भएका हुन् । हामीभित्र रहेको खुशी, उत्साह, उमङ्ग, मनसिक शान्ति र आनन्दलाई पनि मनले नै बृद्धि गर्न सहयोग गर्छ ।

अर्थात् हामीलाई हामीभित्र रहेको शान्ति र आनन्दसम्म जान पनि मनले नै सहयोग गर्छ । मनको क्षमता र सम्भावनालाई बृद्धि गर्ने हो भने बाहिरको संसारमा पनि सफल र भित्रको संसारमा पनि सफल भइन्छ ।

भित्रको संसार भनेको हामीभित्रको खुशी, उत्साह, उमङ्ग, मानसिक शान्ति र आनन्द हो । बाहिर र भित्र सफल हुन स्वस्थ मनले सहयोग गर्छ । अध्यात्मको पुरै जोड मनलाई स्वस्थ बनाउनु, मनका क्षमता र सम्भावनहरुलाई उजागर गर्नु र मनभन्दा पनि पर गएर विशिष्ट कुराको अनुभूति गर्नु हो ।

३. कसरी हुन्छ भावनाको क्षमतामा बृद्धि ?
सबै प्रकारका संवेदना भावनामा वा हृदयमा हुन्छ । भावनाको क्षमतामा बृद्धि भनेको हृदयको क्षमताको बृद्धि पनि भनिएको हो । दया, माया, प्रेम, करुणा र हरेक कुराहरुलाई ग्रहण गर्ने क्षमता भावनामा हुन्छ वा हृदयमा हुन्छ ।

भावनाको क्षमता बृद्धि हुने बित्तिकै हाम्रो प्रेम, करुणा, दया, मायाजस्ता मानवीय गुणहरु बृद्धि हुन्छन् । अध्यात्मले हामीलाई संवेदनशील बनाउँछ । अध्यात्मले हरेक कुराहरुलाई गहिराईबाट ग्रहण गर्न सक्ने र भावनात्मक तरिकाले बुझ्न सक्ने क्षमता बृद्धि गरिदिन्छ । प्राणायाम र ध्यानले हामीलाई संवेदनशील बनाउँछ र हाम्रो भावनाको क्षमतालाई बृद्धि गरिदिन्छ ।

४. चेतना (consciousness) को बृद्धि
मानिसलाई चेतनशील प्राणी मानिएको छ । तर मानिसमा रहेको यो चेतना पनि सामान्य चेतना मात्र हो । चेतनालाई यो सामान्य स्थितिभन्दा पनि माथि लैजान सकिन्छ । Normal conscious बाट Super conscious मा जान सकिन्छ । मानिसको चेतनालाई माथि लैजान वा बृद्धि गर्न अध्यात्मले सहयोग गर्छ ।

अध्यात्ममा लाग्नुको मूल कारण यो पनि हो । मानिस आफ्नो सामान्य चेतनाबाट माथि उठेर विशिष्ट चेतना भएको प्राणी हुन चाहन्छ । अध्यात्ममा गरिने ध्यानका विधिहरुले हाम्रो चेतनालाई बृद्धि गरिदिन्छ ।

अध्यात्मको ज्ञानबाट हामीले आत्मा र परमात्मा भनेको के हो ? म को हुँ ? ईश्वर के हो ? र कहाँ छ ? यो सारा जगत कस्तो शक्तिले सञ्चालन भएको छ ? संसारलाई सञ्चालन गर्ने शक्ति कहाँ रहेको छ ? भनेर यस्ता रहस्यमय कुराहरु पनि जान्न सकिन्छ ।

अध्यात्मले हामीलाई यस्तो रहस्यमय ज्ञानसम्म लैजान्छ । यस्ता रहस्यमय कुराहरु जान्न अध्यात्मको ज्ञानले मात्र सम्भव छ । गौतम बुद्धले चार आर्य सत्यको कुरा गर्नुभएको छ ।
१. जीवन दुःख छ ।
२. जीवनमा दुःख छ भने त्यसको कुनै कारण छ ।
३. दुःखको कारण छ भने त्यसको निवारण गर्ने तरिका पनि छ ।
४. दुःखरहित अवस्था भनेको सत्चित् र आनन्दको अवस्था हो र त्यो अवस्था जान्न सकिन्छ । दुःख तीन प्रकारका हुन्छन् :

१. भौतिक शरीरको दुःख – शरीरमा कुनै चोटपटक र रोग लागेमा हुने दुःख ।

२. वस्तुपरक दुःख – बाहिरको कारणले हामीलाई भएको दुःख, वस्तुपरक दुःख हो । वस्तुपरक दुःख हाम्रो नियन्त्रणभन्दा बाहिर रहेको दुःख हो । जस्तै बाहिरका सबै प्रकारका युद्ध, लडाइ, महामारी रोगहरु र प्रकृति प्रकोप आदि ।

३. मनस्थितिपरक दुःख – हाम्रो आन्तरिक कारणले भएको दुःखहरु, मनस्थितिपरक दुःख हो । अर्थात् हाम्रो मनले मानेका दुःखहरु जस्तै, व्यापारमा घाटा, सम्बन्धमा असमझ, बाहिरको संसारमा भएको असफलता, प्रियजनको मृत्यु, जीवनमा आउने विभिन्न प्रतिकुल परिस्थिति र चुनौतीहरु आदि ।

यसरी मानिसभित्र विभिन्न प्रकारका दुःख र पीडाहरु छन् । यस्ता दुःख र पीडाहरुबाट बाहिर आउन अध्यात्मले मानिसलाई सहयोग गर्छ र दुःखरहित परम सुखको अवस्थामा अध्यात्मले लैजान्छ ।

मानिसभित्र धेरै प्रकारका दुःख र पीडाहरु छन्, त्यसकारणले पनि बाहिरको जगतमा मानिसका धेरै गुनासाहरु छन् । मानिसलाई आफ्नै जीवनप्रति पनि धेरै गुनासाहरु छन् ।

बाहिरको संसारमा पनि गुनासोरहित र आफ्नै जीवनप्रति पनि गुनासो रहित भएर अहोभाव र धन्यताको भावले जीवन जीउन मानिसलाई अध्यात्मको ज्ञान चाहिन्छ । आजलाई यति नै, हरि ॐ !

सुप्रिया माँ आनन्दपथ संस्थाको संस्थापक हुनुहुन्छ ।