खेमराज रिजाल
दाङ, १८ कार्तिक । जिल्लाकै गौरवका रुपमा सञ्चालनमा आएको चारलेन सडक निर्माणको काम ल्याङ–ल्याङको अवस्थामा छ । सडक स्तरोन्नतिको शुरुमै ढुंगा उत्खनन्मा विवादमा आएको सो सडकका निर्माण एजेण्ट तोकिएको समयमा कार्यप्रगति देखाउन नसकेपछि प्रारम्भिक चरणको कारबाहीमा परिसकेका छन् ।
अझै काममा ढिलासुस्ती देखाए ठेक्का रद्द हुनसक्ने चारलेन सडक निर्माण परियोजनाको कार्यालयले गोरक्षलाई बताएको छ । भारतका प्रधानमन्त्री नेपाल भ्रमणमा रहेका बेला मध्यपश्चिम क्षेत्रमा गौरवका सडक बनाउने उद्घोष गरेसँगै परियोजना शुरु भएको हो । लमहीदेखि तुलसीपुरसम्मको सडक विस्तार गरी चारलेन बनाउने भनिए पनि नेपाल सरकारले भारत सरकारले दिएको पूरै बजेट सडक स्तरोन्नतिमा नहालेपछि घोराहीको कुइरेपानीदेखि तुलसीपुरसम्म चारलेन सडक बनाउने गरी ठेक्का भएको थियो ।
भारतको एक्जिम बैंकले आर्थिक सहयोग गर्दै भारतको मुम्बईकै तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राइस्ट्रक्चर प्रालिले ठेक्का पाएको थियो । मुम्बईको सो कम्पनी आफै काममा नआएर यहीँकै अष्ठभैरव कन्सट्रक्सन प्रालिलाई पेटी ठेकेदारका रुपमा काममा लगाएको थियो । त्यसको नेतृत्व यहाँका युवा जनक डाँगीले गरेका थिए । तर पहिलो किस्ता लिएअनुरुप कार्यप्रगति नदेखिएपछि सो आधिकारिक निर्माण कम्पनीले जनक डाँगीलाई प्रतिनिधिबाट हटाएर यहीँकै अनुप पाण्डेलाई आधिकारिक प्रतिनिधि बनाएको छ ।
सडकको चौडाई कम्तीमा २१ मिटर कायम गर्ने तथा बीचमा ग्रिन वेल्ट समेत निर्माण गर्नेगरी काम शुरु भएको थियो । तर सबै काम लथालिंग अवस्थामा छ । ग्याविन वाल निर्माणमा समेत गुणस्तरको प्रश्न उठिरहेका बेला काम नै सन्तोषजनक नभएको भन्दै सडक निर्माण परियोजनाले निर्माण कम्पनीले राखेको बैंक ग्यारेन्टीबाट कारबाहीस्वरुप रकम आफ्नो कव्जामा लिएको सो परियोजनाका प्रमुख तथा इन्जिनियर पारश हमालले बताएका छन् ।
सो परियोजनाका लागि भारत सरकारको लगानी करिब १ करोड २१ लाख ८२ हजार ३०१ अमेरिकी डलर खर्च हुनेगरी ठेक्का सम्झौता भएको थियो । जुन करिब नेपाली रुपैयाँ १ अर्ब २० करोडको हाराहारी हुन आउँछ । निर्माण कम्पनीले काम शुरु गरेको ११ फेव्रुअरी, २०१९ देखि हो । निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम मिति ३ जनवरी २०२२ थियो ।
कोरोना भाइरसको संक्रमणका कारण निर्माण अवधि ५ महिना थप गरिएको सो परीयोजनाले जनाएको छ । निर्माण कम्पनीले पहिलो किस्तास्वरुप करिब १० करोड पेश्की लिएको थियो तर काम सन्तोषजनक नभएको रिपोर्ट आएपछि परियोजनाले निर्माण कम्पनीले राखेको बैंक ग्यारेन्टीबाट ३ करोड रुपैयाँ खिचिसकेको छ । ‘यो पनि पहिलो चरणको कारबाही हो, तोकिएको समयमा तोकिएको काम नगरेपछि सो रकम खिचिएको हो’, परियोजना प्रमुख हमालले भने ।
पहिलो किस्ता बुझेअनुरुप कार्यप्रगति हुन नसकेकाले स्थानीय निर्माण कम्पनीका प्रतिनिधि जनक डाँगीलाई हटाइएको परियोजना प्रमुख हमालले बताएका छन् । तोकिएको समय र मापदण्डमा काम नगरे निर्माणको ठेक्का सम्झौता रद्द हुने पनि उनले बताएका छन् । तथ्य इन्जिनियरिङले नियुक्त गरेका स्थानीय प्रतिनिधि अनुप पाण्डेले पनि तोकिएको समयमा तोकिएको काम नगरे ठेक्का रद्द हुने पनि उनको अभिव्यक्ति थियो ।
सडक चौडाको कामसँगै सडक आसपासका रुख काट्ने काम सकिएको छ भने अबको दुई सातामा विद्युतका पोल सार्ने काम पनि शुरु हुने परियोजनाले दावी गरेको छ । विद्युत प्राधिकरणले सबै स्टीमेट दिइसकेपछि परियोजनाको बजेटमै विद्युतका पोलहरु स्थानान्तरण गरिने छ । त्यसैगरी सडक चारलेनसँगै नदी तथा खोलाहरुमा बनेका पुलहरुको समेत चौडा गर्ने काम अघि बढ्ने बताइएको छ ।
फिजिविलिटी अध्ययन भइसकेको छ, अबको एक बर्षपछि पुल चौडा गर्ने काम पनि शुरु हुनेछ’, परियोजना प्रमुख हमालले बताए । विद्युतको इष्टिमेट आउँदैछ, एक÷दुई हप्तामा पोल हटाउन शुरु हुन्छ । पुल थप्नका लागि फिजिवल इष्टडी भइसकेको छ । एक बर्षभित्र त्यसको काम पनि शुरु हुन्छ । तर निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि अनुप पाण्डेसँग धेरै प्रयास गर्दा पनि फोन सम्पर्क हुन सकेको छैन ।