अमरराज आचार्य
दाङ, १८ कार्तिक । दाङको घोराहीमा कृषकले उत्पादन गरेका वस्तु खरिद गर्ने तथा उपभोक्तालाई सहुलियत रुपमा सामग्री उपलब्ध गराउने उद्देश्यले सहकारी बजार सञ्चालनमा ल्याइएको छ । केही दिन अघिदेखि घोराहीमा सहकारी वजार सञ्चालनमा ल्याइएको हो ।
घोराहीमा रहेको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी सहुलियत बजार सञ्चालन गरेको छ । सहकारीले प्रदेश सरकारको सहयोगमा सहकारी बजार सञ्चालनमा ल्याएको जनाएको छ । सहकारी बजार सञ्चालनका लागि लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ५० प्रतिशत सहयोग र सहकारी संस्थाकोे ५० प्रतिशत लागतमा सहकारी बजार सञ्चालमा ल्याइएको हो ।
सहकारी बजारमा एउटै छानामुनि दैनिक आवश्यक पर्ने सम्पूर्ण उपभोग्य सामानहरु सहुलियत दरमा उपलब्ध हुने सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष धुव्रराज पौडेलले जानकारी दिए । बजारमा शेयर लगानी गरी कारोबार गर्ने सदस्यहरुले वर्षभरिमा आफूले गरेको कारोबार अंकको शून्य दशमलव ५ देखि २ प्रतिशतसम्म रकम फिर्ता समेत हुने योजना सहकारी बजारको रहेको छ ।
सहकारी बजारमा भान्छामा आवश्यक पर्ने सबै प्रकारका दैनिक उपभोग्य वस्तुहरु, खाना पकाउने ग्यास, सुके–पाकेका तयारी तरकारी तथा खाद्यान्नहरु, स्थानीय प्रजातिका तरकारीहरु तथा खाद्यवस्तुहरु जस्तै कोदो, फापर, मकैको पीठो, आटो, जौंको सातु, डोको, नाम्लो, तोरण, दुना, टपरीजस्ता सहजै उपलब्ध हुन नसक्ने वस्तुहरुसमेतको उपलब्ध हुने अध्यक्ष पौडेलले बताए ।
‘स्थानीय तथा अर्गानिक तरकारी तथा फलफूलहरु सिधै कृषकहरुबाट खरिद गरी सरसफाई तथा ग्रेडिङ समेत गरी उपभोक्ताहरुले घरमा लगेर कत्ति पनि खेर नजाने गरी उपलब्ध गराइने छ’, अध्यक्ष पौडेलले भने । जिल्लाभरमा उत्पादन हुने कृषि उपजहरुलाई खरिद गर्नका लागि स्थानीय किसानहरुलाई समेत संस्थामा आबद्ध गराई उनीहरुको कृषि उत्पादन खरिद गरिने भएको छ । यसरी बाह्य बजारमा किसान र उपभोक्ताहरुबीच हुने मूल्यको अन्तर समेत कम हुने उनको भनाइ रहेको छ ।
सहकारी बजारले होम डेलिभरी तथा अनलाइन किनमेल गर्न सकिने पौडेलले बताए । शेयर सदस्य बनेर कारोबार गरेपछि वार्षिक कारोबारका आधारमा शून्य दशमलव ५ प्रतिशतदेखि २ प्रतिशतसम्म रकम फिर्ता हुन्छ । सपिङ कार्डको माध्यमबाट घरका अन्य सदस्यहरुले समेत सामान खरिद गर्न सक्नेछन् । शेयर कित्ताको आधारमा लाभांश प्राप्त गर्न सकिने उनले बताए ।
लगानीको आधारमा सदस्यलाई पनि कुनै विभेद नहुने अध्यक्ष पौडेलले बताए । शेयर बढी घटी भए पनि विदेश नहुने उनको भनाइ रहेको छ । शेयरको आधारमा मुनाफा कम बढी हुने संस्थाले जनाएको छ । सहकारीमा आवद्ध नभएका अन्यलाई पनि सामान खरिद गर्दा बाह्य बजारमा भन्दा सहुलियतमा उपलब्ध गराइने संस्थाको दाबी रहेको छ ।
संस्थाले संरक्षित पुँजी फिर्ता कोषको रकम प्राप्त गर्नुका साथै संस्थाले सञ्चालन गर्ने अन्य परियोजनाहरुमा समेत सहभागी हुन सकिने बताइएको छ ।