टार्जन खड्का
दाङ, १६ कार्तिक । जीवनमा कहिल्यै पक्की घरमा बसूँला भनेर नसोचेका विपन्न दलित परिवारको घर सरकारले बनाइदिएपछि घोराही उपमहानगरपालिका–२ रामपुरका विपन्न दलितहरु निकै खुशी भएका छन् ।
सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. २ बालिम, कटैया, चप्री र पलासेका ५ जना विपन्न दलित परिवारका दुईकोठे पक्की घर बनाउन रकम दिएको छ । जसबाट अहिले कतिको घर निर्माण सम्पन्न भइसकेको छ भने कतिपयको अन्तिम चरणमा छ ।
वर्षौंदेखि ऐलानी जग्गामा बनेको सानो झुपडी त्यसमा पनि गत वर्षको वर्षाले भत्काएपछि पलासेकी राधादेवी विकको मन कम्ता रोएको थिएन । झुपडी भत्किएपछि ससुरालीमा घरज्वाईँ बस्न गएका जेठा छोराको माइतीघर विक दम्पत्तिको सहारा बन्न पुग्यो । ‘छोराबुहारी विदेश गएका छन्, सानो नातिलाई हेरचाह गर्दै आएको छु’ विकले भनिन् ‘श्रीमान् चित्रबहादुर विकको जन्डिस र पेट फुल्ने समस्या छ, औषधीमुलो गर्ने पैसा समेत छैन ।
झन नयाँ घर बनाएर वस्ने त कुरै भएन ।’ पेट पाल्नका लागि बालिम खोलामा गिट्टी कुट्दै आएको उनको भनाइ छ । तर हिम्मत नहारेमा भगवानले पनि हेर्दा रैछन् भनेझैँ उनको दयनीय अवस्था देखेर वडाध्यक्ष केशवराज आचार्यको सिफारिसमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङको जनता आवास कार्यक्रमबाट उनको घर निर्माणका लागि करिब साडे तीन लाख रुपैयाँ प¥यो । जसबाट अहिले उनको दुई–कोठे बरन्डा सहितको पक्की घर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
यस्तै लामो समयदेखि अरुको आलिसान घर बनाउँदै आएका मानबहादुर दमाईले आफ्नै पक्की घर बनाएर बसूँला भनेर वर्षौंदेखि सपना देखेका थिए । त्यसकै लागि ऋणधन गरी विदेश जाने र पैसा कमाएर घर बनाउन भनी पासर्पोट बनाइसकेका थिए । तर उनी विदेश नजाँदै जनता आवास कार्यक्रमबाट उनको पक्की घर बन्ने भयो । जसबाट उनी र उनको परिवारमा छुट्टै किसिमको रौनकता छायो ।
अहिले उनको भवन निर्माणको काम पनि अन्तिम चरणमा छ । उता वर्षौंदेखि विभिन्न दुःखकष्ट र मिहिनेत गर्दै आएका घोराही उपमहानगरपालिका वडा नं. २ जनएकता बालिम टोल बस्ने किम्मतप्रसाद पछाई जिन्दगीदेखि हार खाइसकेका थिए । आफ्नो र परिवारको पेट पाल्नका लागि उनले कुनै पनि काम बाँकी छाडेनन् । तर पनि उनको हातमा सोचेजस्तो उपलब्धि हात लाग्न सकेन । उनले न त गत्तिलो घर बनाउन सके न त परिवारको राम्रोसँग लालनपालन गर्न ।
रोल्पा जिल्लाको पाङबाट बसाई सरेपछि उनले विभिन्न समस्यासँग जुझ्दै अगाडि बढ्दै आएको बताउँछन् । तर पनि बल्ल बल्ल प्राप्त भएको यस जुनीमा आई आइपर्ने अप्ठेरासँग नआत्तिने र सप्ठेरोसँग नमात्तिएमा अवश्य एकदिन सफलता मिल्छ भन्ने अठोट गरे । विपन्नको घर बनाउने सरकारी योजना अनुसार उनको पनि जनता आवासबाटै घर बन्दै छ । जसले गर्दा उनमा पक्की घरमा बसेर जीवन काट्ने सपना पूरा भएको छ ।
अहिले वडा नं. २ मा ५ वटा घर बनाउन जनता आवास कार्यक्रमबाट बजेट परेको छ । गत वर्षको बजेटबाट दुईवटा घर निर्माण सम्पन्न भइसकेको छ । विपन्न परिवारको घर निर्माणका लागि आवश्यक सहयोग र सहजीकरण गर्नका लागि वडा सदस्य गिरबहादुर केसीलाई जिम्मेवारी दिइएको वडाध्यक्ष आचार्यले बताए ।