दाङ,१४ कार्तिक। तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ बर्षीय कुमार विकको खुट्टा काटेको अभियोग खेपेका दूई युवालाई प्रहरीले सार्वजनिक गरेको छ । तुलसीपुर–१० पढ्ढा निवासी २४ बर्षीय अमृत चौधरी र तुलसीपुर–१६ उत्तर कुररीया निवासी २२ बर्षीय पवन चौधरीले विकको खुट्टा आफुहरुले खुर्पाले हानेर छिनालेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।
शुक्रवार विहान पत्रकार सम्मेलन गरेर प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । अमृत र पवन नाताले जवाँई जेठान हुन । दशैंको दिन पवन पढ्ढा स्थित माइतीमा आएका थिए । संगै बसेर मदिरा सेवन गरिरहेको सयममा तुलसीपुर १० गौलौरी निवासी अमृतका भिनाजु दूर्गा चौधरीले फोन गरेर अमृत र पवनलाई सहयोगका लागि बोलाएका थिए ।
दूर्गाले आफ्नो बुवालाई मरानासन्न हुनेगरि गाउँकै मानिसहरुले कुटपिट गरेको भन्दै गुहार मागेपछि पढ्ढाबाट अमृत र पवन घरेलु हतियारसहित गौलौरी तर्फ जाँदा विक बाटोमा फेला परेपछि उनी माथि अनाहकमा आक्रमण भएको देखिन आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबहादुर सिंहले बताए । घाइते विक गौलोरीका चौधरीहरुको बीचमा भएको उक्त झगडामा सामेलपनि थिएनन् । आक्रमण कारी र विकका बीचमा चिनजान पनि थिएन ।
अनाहकमा विकमाथि चौधरी द्धयले झगडामा सामेल भएको आशंका घरेलु हतियारले मरनासन्न हुनेगरि आक्रमण गरेको प्रहरीले बताएको छ । उक्त दिन विक गौलौरीस्थित आफ्नो भान्जाको विहे भोज खाएर पैदल हिडेर नवलपुरस्थित घर जाँदै थिए ।
डिएसपी शिंहका अनुसार बिकलाई बाटोमा भेटेपछि चौधरी द्धयले विकलाई सोधपुछ गरेपछि उनले विहे भोज खाएर आएको र घर जान थालेको बताए । त्यसपछि विकलाई चौधरीद्धयले झगडा गरेर आएको हो भनेर सोधे । उनले सामान्ने झगडा भएको हो त्यस्तो केही होइन भन्ने जवाफ फर्काएपछि उनीमाथि आक्रमण भएको देखिन आएको डिएसपी शिंहले बताए ।
विकको बायाँ खुट्टा चुरीगाँठा नजिकवाट छिनालिएको अवस्थामा फेला परेको थियो भने दुबै हात र ढाडमा धारिलो हतियार प्रयोग भएको प्रहरीले बताएको छ ।
‘ घाइते विकले पनि मदिरा सेवन गरेको देखिन्छ,’ डिएसपी शिंहले भने ‘आक्रमणकारी दुबै जवाँई जेठानले पनि अत्यधिक मदिरा सेवन गरेको खुल्न आएको छ।’घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । विकको खुट्टा छनाल्ने दुबै जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । घाइते विकको हाल भारतको लखनउमा उपचार भइरहेको छ ।