४० लाखको लगानीमा खुल्यो सजावट डेकोर पसल

दाङ,२ कार्तिक । कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुले अहिले उद्यममा लाग्न थालेका छन् । लामो समयको लकडाउनका कारण नीजि क्षेत्रमा रोजगार गर्दै आएकाहरुको रोजगारी अनिश्चित बन्दै गएपछि दाङका थुप्रै युवाहरु उद्यममा लाग्न थालेका छन् ।

युवाहरुले आफ्नै लगानीमा विभिन्न व्यवसाय शुरुवात गर्नेको संख्या बिस्तारै बढिरहेको छ । घोराही उपमहानगरपालिका–१५ शहीद मार्गमा घर सजावटसम्बन्धी सामग्री पाईने पसल आईतबारबाट संचालनमा आएको छ । लामो समयको लकडाउनका कारण रोजगारी अनिश्चित बनेपछि कल्पना खड्काले करीव ४० लाख लगानी गरेर घर सजावटसम्बन्धी सामग्रीसहितको पसल संचालनमा ल्याएकी हुन ।

पसल संचालक कल्पना खड्काको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको प्रमुख आतिथ्य तथा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सबिन प्रियासनको विशिष्ट आतिथ्यतामा आईतबार एक कार्यक्रम गरी उक्त व्यवसायको उद्घाटन गरेका हुन । त्यस अवसरमा प्रमुख अतिथि भुसालले कोरोना महामारीले सबै भन्दा प्रभावित बनेको नीजि क्षेत्रलाई उकास्न युवाहरु व्यापार व्यवसायमा लाग्नु आफैमा सराहनीय कार्य भएको बताए ।

अर्थतन्त्रलाई चलायमान बनाउन तथा आर्थिक दृष्टिकोणले सबल बन्न युवाहरु व्यापार व्यवसायमा आकर्षित भईरहेको बेलामा उनीहरुलाई थप हौसला प्रदान गर्न आवश्यक रहेको बताए । यसका लागि राज्यले व्यवसायको वातावरण बनाउँदै बैंक तथा वित्तिय सुविधा दिएर काममा आकर्षण गर्न सक्नु पर्नेमा जोड दिए ।

नयाँ व्यवसाय थालेकी खड्कालाई व्यवसायिक सफलताको कामना गर्दै उनले आफु र आफ्नो संस्थाका तर्फबाट सक्दो सहयोग रहने वचन पनि दिए । घरको सजावटसम्बन्धी सामग्री पाइने सजावट डेकोरमा सहुलियत मुल्यमा गुणस्तरीय सामान पाइने पसल संचालक खड्काले बताईन् ।