नेता कस्तो हुने ?

गुरुप्रसाद शर्मा रेग्मी
नेपालजस्तो विकासोन्मुख देशको लागि एउटा धरातलीय र व्यावहारिक, आर्थिक दर्शन के हुनसक्छ भन्ने कुरा यो देशको सरकारले न सोच्न सक्यो न विकासको धरातलमा न पत्याउने गरी अगाडि बढेका देशबाट यो देशको राजनीतिक दलका नेताले पाठ नै सक्नि सके । केवल अर्को देशको दलाली गर्ने र सत्ता र सम्पन्नताको जोहो गर्ने मात्र गरेका छन् ।

वर्तमानको अवस्थामा जसरी राजनीतिक र आर्थिक दर्शनले मोड लिएको छ त्यसको धेरै देशहरुलाई विकासको बाटोमा दगुराएको छ । समाजवाद र पुँजीवादको मिश्रित रुपमा सत्ता र अर्थलाई चलाउने हो भने वास्तविक रुपमा अर्थशास्त्रको दर्शन त्यसैमा लुकेको हुन्छ । यही समाजवाद र पुँजीवादको मिश्रित बाटोबाट हिड्दा हिजोको चाइना आज कहाँ पुग्यो । एक्काइसौँ शताब्दीको सत्य र समय सापेक्षता एवं वास्तविकता बुझेर मात्र युगान्तकारी परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरा यो देशका नेताले न बुझ्न सके न सोच्न नै सके । उही पुरानो सडेगलेको बासी विचारलाई आफ्नो राजनीतिक दर्शन बनाएर हिड्ने मात्र कम गरिरहेका छन् ।

नेताहरुको यही कमजोरीले गर्दा विकसित राष्ट्रहरुको गिद्धेदृष्टि पर्न जाने भएकोले यहाँको राजनीतिमा उतार चढाव आइरहेको छ । देशमा कुनै राजनेता जन्मन नसकेकाले सीममा अतिक्रमण भइरहेको छ । यहाँ मिलिजुली सरकार बन्छ तर कुने पनि साझा एजेण्डा बन्न सक्दैन, राज्य छ तर राज्य भएको विश्वास जनतालाई गराउन सकेको छैन । सरकार छ तर सरकारले आफ्नो अस्तित्व जनतालाई देखाउन सकिरहेको छैन । यो देशको विडम्बना भनौँ राजतन्त्रबाट गणतन्त्र आउँदासम्मको आधार शताब्दी बितिसक्दासम्म पनि कुनै तन्त्रले आफ्नो जग बस्न सकेको हुँदैन । अर्को मन गणतन्त्रको परिकल्पना सलबलाउन थालिसकेको हुन्छ ।

अनि कसरी आउनसक्छ राजनीतिक स्थिरता ? भई के रहेको छ भने नेताहरुले जनताको नाममा राजनीति गरिरहेका छन्, गरीबी र बेरोजगारीको नाम बेचेर विदेशी सहायता अशुलिरहेका छन् । तर, अहिलेसम्म जनता को हो ? कसलाई जनता भन्ने कुरा अन्योलमा छ । गरीबी र वेरोजगारी बढ्नुले के पुष्टि गर्दछ भन्नु पर्छ जस्तो लाग्दैन ।

आर्थिक क्रान्तिको नारा दिएर कान्ति पटक–पटक नभएको अवस्था पनि होइन । क्रान्तिको नाममा केही मोटाएका उद्योगपतिलाई निचोरेर बोसो निकाल्ने र आफूहरुले बाँडेर या एक्लै खाएर धनाढ्य हुने काम गरे । तर सुनको अण्डा दिनसक्ने जनताको वथानलाई योजना बद्ध तरिकाले उपयोग गरी देशको आर्थिक विकास गर्ने काम अहिलेसम्म कुनै राजनीतिक दलका नेताहरुले गरेनन् । नेता र नेताहरुका कार्यकर्ता मात्र जनता भएको विपन्न मनसिकता नेताहरुको भएकोले यो देशमा गरीबी र वेरोजगारी बढ्दै गएको कुरा सबैको सामू छ ।

यसैले गर्दा यहाँ भ्रष्टाचार चरम सीमामा पुगेको छ । यो देशमा जननेता भन्न सुहाउने कोही नेता भएनन् । जो भए ती सबै भ्रष्टाचार, तस्करी, चोरी, डकैती र काण्डैकाण्डका नायिके हुने भएकाले न अवस्थामा कार्यकर्तालाई न फलानो दलको कार्यकर्ता हुँ भन्न पनि लाजमर्दो अवस्था बन्न गएको छ । नेताहरुको यो अवस्था किन हुन लाग्यो ? दलहरुप्रति जनताको आँखा भए पनि विश्वास किन हुन सकेन भने – देश र जनताको स्वार्थलाई हेरेर राष्ट्रियता, राष्ट्रिय स्वाभिमानमा समर्पित कोही दलका नेताहरु हुन सकेनन् ।

केवल नजिकका राष्ट्रहरुको दलाली गरेर आफ्नो राजनीतिक अस्तित्व बनाउन खोज्ने र सम्पन्न हुने नेताहरु भएकाले नै नेपालीलाई धनी देशका गरीब जनता भएर बस्नु परेको छ । वास्तवमा यहाँका नेताहरमा नेतृत्व दिन सक्ने दृढसोच भएको कोही पनि हुन सकेनन् । यहाँका नेताहरु किन असक्षम र अयोग्य हुन गए भन्ने कुरालाई बुँदागत रुपमा उल्लेख गर्ने प्रयास गरेको छु ।

 नेताहरुमा जिज्ञासा हुनु पर्दछ । जिज्ञासा नै नभएका नेताहरुले सत्ताको बागडोर बुद्धिमत्ता ढङ्गबाट चलाउन सक्देन । यस्तै नेताहरुले मनपरीतन्त्रबाट सत्ताको बागडोर चलाउने गर्दा यो देशमा अहिलेसम्म प्रजातान्त्रिक सिस्टम नै स्थापित हुन नसकेको वास्तविकता हो ।

 नेताहरुमा सिर्जनशीलता विशिष्ट गुण हुनु पर्दछ । नेपालका नेताहरुमा यही गुण नभएकाले नेतृत्वको लागि आफू उपयोगी हुन सकेका छैनन् । अरु मानिसको बुद्धि र विचारको कठपुतली बन्नुपर्ने भएकाले अविशवास, असफलता र अयोग्यता नै उसको हात परिरहेको हुन्छ ।

 नेतृत्व गर्न चाहने नेताले आफ्नो विचार, भावना र अवधारणा स्पष्ट रुपमा अरुको सामू राख्न सक्नु पर्दछ । यो देशका नेताहरुमा यही नभएकाले उनीहरुले जे भन्छन् त्यो गर्दैनन्, जे भन्दैनन् त्यो गर्दछन् । यिनको भन्ने र गर्ने कामको मेल खाएको देखिँदैन । यिनीहरु नेताको पगडी लगाएर नेता बन्न खोजेका हुन्छन् । त्यसैले केही जननेता हुँदैनन् ।

 नेतामा ठीक, बेठीक, न्याय, अन्याय छुट्याउन सके र ठिक र न्यायलाई संरक्षण दिने चरित्र हुने मानिस नेता हुने हो भने उसले आफ्नो दायित्व र जिम्मेवारी निर्वाह गर्न सक्दछ । तर यहाँका नेताहरुमा के देखिन्छ भने भ्रष्टाचार गर्ने ठाउँ नपाएसम्म जति आवश्यक र सही विषय भए पनि त्यसको चर्को विरोध गर्ने र आफ्नो दुनो सोझ्याउने प्रवृत्तिले गर्दा भ्रष्टाचार, तस्करीको नायिके भएर बस्नुपर्ने वाध्यता हुन गएको छ ।

 एउटा नेताको आँट र साहसको प्रदर्शन उसको वाहुबल र भाषणबाट नभएर उसको निजी, पेशागत दलगत सबै स्वार्थ त्यागेर विपक्षीहरुसँग पनि आमनेसामने भएर सौहार्दपूर्ण वातावरणमा राष्ट्रिय हित र राष्ट्रिय सम्मानको लागि डिल गर्नसक्ने हुनु पर्दछ । तर यो देशको विडम्बना विपक्षीका कुरा छाडौँ आफ्नै दलका नेता कार्यकर्ताहरुसँग पनि स्पष्ट कुरा राख्न सक्दैनन् । यसैले गर्दा यहाँ भत्ता, तलव, सुविधा र सुरक्षा वाहेक अरु कुनै कुरामा साझा सहमति र साझा एजेण्डा हुँदैन ।

 एउटा नेतामा आत्मबल र आत्मविश्वासमा दृढता हुन गयो भने उसलाई सेनाको सुरक्षा घेरामा बस्नु पर्दैन । जन्मदाता जनताको सामू जाँदा पनि सुरक्षा घेरामा जानु पर्दैन । जनताको सामू गएर उसको सुख–दुःखका कुरा सुन्न नसक्नेलाई नेता भन्न के सहाउँछ ?

 वास्तवमा त्यो मात्र नेता हुन सक्दछ । जसको विलक्षण व्यक्तित्वले जनसमुदायलाई प्रभावित पार्न सक्दछ । विश्वास दिलाउन सक्दछ । जनतालाई उर्दी, पुर्जी, दाम बाँडेर नेताको पछि लगाउनु पर्दैन । यो देशको दुर्भाग्य यस्तो नेता कुनै हुन सकेन । जो छन् सुकिलो लुगा लगाउने, विलाशमय जीवन बिताउने, आगो ओकल्ने भाषण गर्ने, आफूलाई शासक मान्ने र आफ्ना कार्यकर्तालाई जनता मान्ने नेतालाई कसरी नेता भन्ने र मान्ने ?

 योग्यता र क्षमतालाई नेताको गुण भनिन्छ । तर, यो देशका नेताहरुमा आवशयक गुण नभए पनि हावादारी कुरा गर्ने, हावादारी हाउझाउ देखाउने जनतालाई झुक्याउने र भोट लिएर सत्तामा जाने र भोट दिनेलाई बिर्सने नेता मात्र भए ।

 नेताहरुमा हुनुपर्ने विवकेशीलता नै श्रेष्ठ गुण हो । नेपालका नेताहरुमा यही गुण नभएकाले उनीहरु नेताको लागि मात्र नभएर कार्यकर्ता हुन पनि अनफिट छन्भन्दा अत्युक्ति नहोला ।