चाडवाडको संघारमा झाँगिँदो संक्रमण

भूवन पोख्रेल
नेपालमा अहिले कोरोना भाइरसका कारण ६ सयभन्दा बढीले अकालमा मृत्यु वरण गरिसकेका छन् भने एक लाखभन्दा बढीको संखयामा संक्रमित भइसकेका छन् । यही अनुपातमा बढ्दै जाने हो भने संक्रमण नियन्त्रण बाहिर जाने प्रवल सम्भावना देखिन्छ । पछिल्लो समय काठमाडौं उपत्यका संक्रमणको हटस्पट बनिसकेको छ ।

देशभर दैनिक थपिएका संक्रमितको संख्यामा काठमाडौं उपत्यकाले आधाभन्दा बढी हिस्सा ओगटेको छ । कोरोना संक्रमितका लागि अस्पतालमा आइसियु, भेन्ट्रिलेटरको सुविधा सहितका शै®या पाउन धौ–धौ छ । यसले गर्दा महामारी नियन्त्रण होला कि भनेर बसेका आम सर्वसाधारण निराश र चिन्तित छन् । भाइरस संक्रमणका कारण त्रासदीपूर्ण जीवन बाँच्न विवश आम जनता भाइरस नियन्त्रणमा सरकारको अकर्मण्यताको स्थिति देखेर झनै वाक्क बनेका छन् ।

जनसंख्याको यत्रो ठूलो संकटमा सरकारको लाचारीपन देखि झनै आश्चर्यमा परेका छन् । संक्रमण समुदाय स्तरमा गाँजिसक्दा पनि सरकाले संक्रमण समुदाय स्तरमा फैलेको छ कि छैन भनी अध्ययन गर्दै छ । परीक्षणको दायरा जति बढाउनु पर्दथ्यो बढाउन नसक्दा वा सरकारी प्रयास हुनुपर्ने जति नहुँदा अहिले राजधानीमा भयावह स्थितिको सामना गर्नुपरेको हो । कोभिड–१९ रोकथाम र नियन्त्रणमा सरकार नराम्ररी चुक्नुको परिणाम स्वरुप महिनौँको लकडाउन र निषेधाज्ञाका वावजुद पनि मुलुकको अवस्था झन–झन विकराल बन्दै गएको छ ।

संक्रमणको दरको पारो यति तीव्र गतिमा बढेको छ कि नेपालले आफूभन्दा ४७औँ गुणा बढी जनसंख्या भएको चीनलाई पनि उछिनेर खतराको घण्टी बजाइसकेको छ । काठमाडौं उपत्यका त अझ भाइरस संक्रमणको अवस्था भयावह भइसकेको छ । सरकारले कुनै प्रभावकारी कदम नचालेर संक्रमणको गति यही दरमा बढ्ने हो भने परिस्थिति नियन्त्रण बाहिर गई संक्रमित सडकमै लड्ने स्थिति नआउला भन्न सकिँदैन । आसन्न संकट टार्न सरकारले हरसम्भव उपाय चाल्न ढिला भइसकेको छ भने नागरिक पनि परिस्थितिको गम्भीरताबोध गर्दै पर्याप्त सतर्कता अपनाउनु पर्छ ।

कोरोना सोरोना केही होइन यो त सामान्य रुघाखोकी हो यसलाई तातो पानी र बेसार, गुर्जोले ठिक पार्न सकिन्छ भन्दै हल्का रुपमा लिने र सामाजिक दूरी कायम गर्नुको साटो समूह र भेटघाटमा रमाउने प्रवृत्तिले गर्दा वर्तमान अवस्थाको सामना गर्नुपरेको हो । मुलुकका अन्य भागको तुलनामा काठमाडौं उपत्यका सुरुका दिनहरुमा सुरक्षित जस्तै थियो तर मुलुकभर कूल संक्रमितको संख्या एक लाख भेट्ने दिशामा उक्लिँदै गर्दा तिनको एकतिहाई जति काठमाडौं उपत्यकामा छन् । सक्रिय संक्रमितको संख्याको आधा भन्दा बढी काठमाडौं उपत्यकामा देखिनु संकटग्रस्त अवस्था हो ।

मुलुकका अन्य भागको तुलनामा यहाँ ढिला गरी संक्रमण झाँगिन थालेको थियो तर जोखिमपूर्ण क्षेत्रको रुपमा अहिले काठमाडौं उपत्यका देखिन थालेको छ । संक्रमितको संख्या ध्वस्तै बढेसँगै जटिल प्रकृतिका विरामीको दर पनि तीव्र गतिमा बढिरहेको छ । यही कारण काठमाडौं उपत्यकाका अस्पतालहरुमा शै®या अभाव देखिएको छ । कोरोना भाइरस संक्रमित विरामीहरुका लागि सघन उपचार बेड भरिभराउ भइसकेका छन्, भेन्ट्रिलेटर खाली छैनन् । जटिल प्रकृतिका विरामीलाई पनि सामान्य बेडमै उपचार गर्नुपर्ने वाध्यता सिर्जना भएको छ । अब संक्रमण जसरी विस्तार हुँदै छ त्यो काबु बाहिर जाने जोखिम देखिँदै छ ।

यो प्रकोप तत्काल टुङ्गिने टुङ्गो छैन । पूरा विश्वले कोरोना विरुद्धको खोपको प्रतीक्षा गरेको छ । तर, खोप कहिले आउने अत्तोपत्तो छैन । यदि खोप आइहाले पनि त्यसको प्रभावकारिता कति हो र हाम्रो सरकारले कति छिटो खोप नेपाल ल्याउने हो ? यसमा शंका गर्ने प्रशस्त ठाउँ छ । विश्व बजारमा खोप आउनासाथ सरकारले नेपालमा ल्याएर जनतालाई तुरुन्त खोप लगाइदिहाल्ला भन्ने कुरामा पनि ढुक्क हुन सकिँदैन । सरकारले निजी क्षेत्रलाई त्यसका निम्ति प्रोत्साहित गर्ने हो, सरकार आफू जिम्मेवार बन्नसकेको देखिँदैन । अब नागरिक आफै सतर्क भई रोगबाट जोगिने उपाय अवलम्बन गर्नु पर्छ ।

अहिले संक्रमणको संकटपूर्ण घडीमा हाम्रा नेपालीका महान् चाडपर्व बडादशैं र तिहार घरआँगनमा भित्रिइसकेका छन् । संघारमा आएका चाडबाडमा घर बाहिर रहेका आफन्तको आगमनको प्रतीक्षा गरिन्थ्यो अघिल्लो दशैंहरुमा तर यसपालिका चाडवाडमा टाढाबाट आउने भाइभतिजा, छोराछोरी र भान्जाभान्जीलगायतका आफन्तसँग नजिकिनु, भलाकुसारी गर्नु, भेटघाट र जमघट गर्नु भनेको संक्रमणको जोखिम बढाउनु हो । तसर्थ, चाडबाडमा विशेष सावधानी र सतर्कता अपनाउन जरुरी देखिन्छ । काठमाडौं उपत्यका उच्च जोखिममा छ । जोखिममा चाडवाड मनाउन यसपालि गाउँ फर्कनु झन भयावह स्थिति निम्त्याउनु हो ।

गाउँ फर्किने रहरमा आफ्ना बृद्ध बाआमा र बाजेबज्यैलाई कोराना कहरमा पार्ने अपराध नगरौँ । यदि हाम्रै कारणले घरमा सुरक्षित अवस्थामा बसेका अभिभावक संक्रमित बन्न पुग्नुभयो भने उहाँहरुको जीवन नरहनसक्छ । हामी स्वस्थ रह्यौँ भने चाडवाड फेरि पनि मनाउन सक्छौँ, अभिभावकको साथमा । काठमाडौं बाहिर जाँदा आउँदा संक्रमण पनि ओसारपसार हुन सक्ने जोखिम रहेकाले यसपालिको दशैँ घरपरिवारमा मात्र सीमित रहेर मनाउनुपर्ने वाध्यता छ । घरबाहिर अध्ययन र कामको सिलसिलामा रहेकाहरुले यसपालि भर्चुअल टीका लगाउने र टाढैबाट आशीर्वाद लिनुपर्ने भएको छ । चाडवाडकी निहुमा जमघट, भेटघाटलाई बढावा दिँदा जोखिम बढेर जाने सम्भावना देखिन्छ ।

नेपालका अस्पतालका शै®या र स्वास्थ्य क्षेत्रले संक्रमित विरामीको चाँपलाई थेग्नसक्ने छैन । हामीसँग पर्याप्त सघन उपचार शै®या र भेन्ट्रिलेटर नभएकाले हामीले मृत्युदर पनि कम गर्न सक्ने छैनौँ । समुदायमा हुने संक्रमणको दरलाई कम गर्नसक्दा मात्र वास्तवमा मृत्युदर घट्न सजिलो हुन्छ । विरामी धेरै सिकिस्त भएर अस्पताल जाने र मृत्यु पछि मात्र कोरोना भाइरस संक्रमण भएको पुष्टि हुने जस्तो विडम्बनापूर्ण स्थिति नेपालमा झेल्नु परेको छ ।

परीक्षणमा गरिएको ढिलाईका कारण धेरै सिकिस्त भएर अस्पताल पुग्ने र पछि राम्रो उपचारै नपाई मृत्यु हुने देखिएको छ । कति विरामी आफै नै खर्चको कारणले वा अस्पतालमा गएर परीक्षण गर्न जाँदा उल्टो आफूलाई अर्काको कोरोना भाइरस सर्छ कि भन्ने डरले वा यातायातको असुविधाको कारणले परीक्षण गर्न जाँदैनन् । यसले गर्दा संकट निम्तने सम्भावना बढेर जान्छ ।

समुदायमै पर्याप्त मात्रामा आइसोलेशनका श®याहरुको व्यवस्था गर्दा समग्रमा हताहती धेरै घटाउन सकिने छ । काठमाडौंमा कोरोना भाइरसका विरामीका लागि सघन उपचार कक्षका शै®या र भेन्ट्रिलेटरको चरम अभाव हुन थालेको छ । उपचारको क्षमता सरकारले रातारात बढाउन सक्ने होइन । भौतिक सुविधा र भवन कक्षहरुको लागि पैसा त जुटाउन सकिएला तर भएका स्वास्थ्यकर्मीको अपुग हुनसक्छ ।

मुख्य समस्या भनेको यस्तो जटिल उपचारलाई चाहिने कुशल र विशिष्टिकृत तालिम प्राप्त स्वास्थ्यकर्मीका टोलीहरु रातारात तयार हुँदैनन् न तिनको कामलाई नियमित र सही ढङ्गले निर्देशित गर्ने प्रक्रियागत प्रोटोकल र प्रणालीको स्थापना पनि एकाएक गर्न सकिन्छ । मुलुकले विगतदेखि भोग्न नपरेको गम्भीर संकट र चुनौतीको सामना गर्नुपरेको छ । अहिले संक्रामक रोग लागेर उपचार गर्नुभन्दा यस रोगबाट बच्ने उपायप्रति सचेत हुनु बढी बुद्धिमानी हो । स्वास्थ्य मापदण्डको पालना गर्दागर्दै पनि कहीँकतैबाट अचानक संक्रमित भइहाले पनि आइसोलेशनमा कडाईका साथ बस्यौँ भने अरु कैयौा व्यक्तिलाई हामीले संक्रमित हुनबाट जोगाउन सक्छौँ ।

महामारी विरुद्धको लडाइँ अस्पताल बाहिर समुदायमै लड्न थाल्यो भने मात्र हामी यस रोगका विरुद्ध उभिन सक्छ । अस्पतालमा मात्र संक्रमित महामारी रोगसँग लड्दा हामीले शतप्रतिशत हार खानुपर्ने छ । यसरी संक्रमित हुनेहरुको संख्यालाई हामी पटक्कै कम गर्न सक्दैनौँ । अन्ततः सघन उपचार वा भेन्ट्रिलेटरमा उपचार चाहिने व्यक्तिको संख्या पक्कै बढेर जाने छ कम हुने छैन । जसको परिणाम स्वरुप मृत्युदर पनि कम गर्न सक्दैनौँ किनभने हामीसँग पर्याप्त सघन उपचार शै®या र भेन्ट्रिलेटर नभएकाले भयावह स्थिति ननिम्तिएला भन्न सकिँदैन ।

समुदायमा नयाँ संक्रमित हुनेहरुको संख्या कम गर्ने उपायहरुको उपयोग गर्दा मात्र समग्रमा महामारी पूरै नियन्त्रण गर्ने आशा गर्ने ठाउँ हुनेछ र महामारी पूरै नियन्त्रण गर्न नसके पनि कमेसकम अस्पताल पुग्ने वा सघन उपचार वा भेन्ट्रिलेटर चाहिने विरामीको संख्या धेरै कम गर्न सकिने छ र हताहती घटाउन सकिने छ । सरकारले बेहोस् हुन थालेपछि अस्पताल पु¥याउने भनेको छ । यसमा आम जनताको बुझाईमा मृत्यु घोषणा गर्न अस्पताल पु¥याउने हो कि उपचार पाएर पुनर्जीवन पाउन अस्पताल लैजाने हो ? भनी प्रतिप्रश्न उब्जेको छ ।

रगतमा अक्सिजनको मात्रा कम हुन थाल्ने बित्तिकै जुन विरामी अस्पताल पुगे तिनीहरुले उपचार पाए भने मृत्युदर पनि घट्ने देखिएको छ । सिकिस्त भएर ढिला अस्पताल पुग्दा भेन्ट्रिलेटरको अभावमा मृत्यु पनि हुनसक्ने भयो । धेरै सिकिस्त भएर अस्पताल पुग्ने र पछि मृत्यु हुने विरामीलाई कोरोना भाइरस रोगको लक्षण देखिन थालेको हप्ता–दश दिन जति भइसकेको हुन्छ तर त्यतिबेलासम्म परीक्षण नै भएको हुँदैन । परीक्षण भई कोरोनाको पुष्टि हुँदा मृत्युको मुखमा पुगिसकेको हुन्छ । तसर्थ बेलैमा परीक्षणको दायरा बढाऔँ ।