डमरुप्रसाद निरौला
पुरुषोत्तम महिना मलमास वा अधिमास भनेर चिनिन्छ । पुरुषोत्तम महिना (मलामास) भनेको के हो ? भन्ने धेरै मानिसलाई थाहा नभएको पनि हुनसक्छ । आजको लेखमा पुरुषोत्तम महिना के हो ? त्यो प्रकाश पार्ने प्रयत्न गर्ने छु ।
महिनाहरु धेरै प्रकारका हुने गर्दछन् । तीमध्ये सूर्य महिना र चन्द्र महिना विशेष गरी हाम्रो चलनचल्तिमा ल्याइएका महिना हुन् । सूर्य महिना संक्रान्तिदेखि सुरु भएर १ गते, २ गते, ३ गते हुँदै मसान्तमा अन्त्य हुन्छ । सूर्य महिना दैनिक जीवनमा आधिकारिक कार्यको लागि प्रयोग गरिन्छ, जस्तै आज यति गते हो, आज स्कूल लाग्छ । आज यति गतेदेखि अफिस सञ्चालन हुन्छ र नेपाल सरकारका सम्पूर्ण कार्यालय बैंक, बोर्डिङ स्कूल आदि कार्यालयहरुमा सूर्य महिनाको गतेका आधारमा मिति लेख्ने गरिन्छ ।
जस्तै कुनै पनि कुराहरुमा हामीले सूर्य महिनालाई आधार बनाएर भनिरहेका हुन्छौँ । सूर्य महिनामा ३ सय ६५ दिन हुने गर्दछ । चन्द्र महिनामा आधारित रहेर हाम्रा जति पनि चाडपर्वहरु छन््, जस्तै दशैँ, तिहार, बुद्धजयन्ती जनैपूर्णिमा, सोह्रश्राद्ध, शिवरात्री, राम नवमी, कृष्ण जन्माष्टमि, एकादशीको ब्रत आदि मनाउने गर्दछौँ । चन्द्र महिना प्रतिपदा, द्वितीया, तृतीया हुँदै औंशी र शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्मको समयलाई शुक्ल पक्ष भनिन्छ । चन्द्र महिना २९ दिन, ३३ घडी, ५० पलाको हुने गर्दछ तर सूय वर्ष भने ३ सय ६५ दिनको हने हुँदा एक चन्द्र वर्ष र सूर्य वर्षको बीच ११ दिनको फरक हुने गर्दछ ।
एक वर्षमा ११ दिन, २ वर्षमा २२ दिनको फरक हुदैँ, ३२ महिना, १५ दिन, ३३ घडी, २८ पला ४७ विपला जाँदा मलमास पर्दछ । ३२ महिना, १५ दिन, ३३ घडी, २८ पला, ४७ विपला जाँदा चन्द्र वर्षभन्दा सूर्य वर्षमा १ महिना अधिक हुनाले त्यो अधिक भएको महिनालाई नै अधिकमास भनिन्छ । संक्राति हुँदैन र औँशी दुईवटा हुने गर्दछ । ग्रह, तारा, नक्षत्र, बार, राशी, दिन सबैको आफ्नो स्वामी हुने गर्दछ ।
तर मलमासको आफ्नो स्वामी नभएको हुनाले निरिश्वर मलमासलाई सबैले हेला गर्ने गरेको र त्यसपछि पीडामा रहेको मलमास बैकुण्ठ गएर विष्णु भगवान्लाई सम्पूर्ण कुरा बेलिविस्तार लाएपछि मलमासको शोक देखेर मलमासलाई लिएर विष्णु भगवान् गोलोक गएर श्रीकृष्ण भगवन्सँग बिन्ति गरेको र श्रीकृष्ण भगवानले अबदेखि आफू मलमासको स्वामि हुने र आफ्नो परुषोत्तम नामले मलमास महिना प्रख्यात हुने वरदान दिएपछि यस महिनाको नाम पुरुषोत्तममास हुन गएको शास्त्रमा वर्णन गरिरहेको छ ।
पुरुषोत्तम महिनामा नित्य कर्म गर्न मिल्छ साथै नैमित्य कर्म चाहिँ पुरुषोत्तम महिनामा गरिँदैन । नित्यकर्महरु जस्तै गर्दै आएका कर्महरु जस्तै गर्दै आएको ब्रत, नित्य गरिने पूजापाठ, बालक जन्मँदा नामाकरण, नवबालकलाई अन्नप्रासन गर्दै आएका होमादी कार्य आदिलाई निरन्तरता दिनु पर्दछ र दान स्नान, भागवत पाठजस्ता शुभादि कर्महरुलाई छाड्नु हुँदैन भने नैमित्य कर्मजस्तै घरको जग राख्ने, बालकको विवाह, ब्रतबन्ध क्षेवार, नयाँ मन्दिरमा फलको आशा गरेर जाने आदि गर्ने र गराउने गरेको पाइँदैन ।
पुरुषोत्तम महिनामा विशेष गरी पुरुषोत्तम मास माहत्म्यको पाठ र ब्रत गरिन्छ । यसरी श्रद्धा, भक्तिले, पुरुषोत्तम मासको ब्रत, दान, स्नान आदि गर्नाले व्याख्या गर्न नसकिने फल प्राप्त हुन्छ । यो महिना श्रीकृष्ण भगवान्को अत्यन्त प्यारो महिना भएकाले र पुरुषोत्तम नामले मात्र पनि पुरुषोत्तम भगवान्लाई सम्झाउने महिना भएकाले पुरुषोत्तम भगवान्को पूजा निष्काम, श्रद्धा र भक्तिभावका साथ ग¥यो भने मनले चिताएको सम्पूर्ण इच्छाहरु पूर्ण हुनुका साथै पुरुषोत्तम मासमा गरिएको पुण्य अरुबेला गरिने ब्रत स्नान, पूजा आदि पुण्यको फलभन्दा करोडौँ गुणा अधिक फल मिल्ने गर्दछ ।
यस मासमा ब्रत गर्नाले आफ्नो समस्त कूलको उद्धार भई मनुष्य कृष्णमै मिलिजान्छ र दुःख, रोग, बुद्याइले ब्याकुल यस पृथ्वीलोकमा पुनः जन्मनु पर्दैन भन्ने शास्त्रहरुमा लेखिएको छ । आदिकालमा ब्रह्माजीले सारा वेदमा वर्णन गरिएको होम, जप, दान आदि गर्नाले पाइने फल र पुरुषोत्तम महिनामा ब्रत, स्ना, दान गर्नाले पाइने फललाई एउटै तराजुमा जोख्दा पुरुषोत्तम महिनामा गरेको ब्रत, दान, स्नान आदि गर्दा पाइने फल नै भारी भएको कथा शास्त्रमा वर्णन गरिएको छ । पुरुषोत्तम महिनामा सुर्याेदय अघि स्नान गरेर, सन्ध्याकालमा तिलको तेलमा बत्ती बाल्दा मात्र मनले साचेको सबथोक पूरा हुने शास्त्रमा लेखेको पाइन्छ ।
उहिले पार्वती माताले पनि पुरुषोत्तम महिनामा ब्रत बसेको र शिवजीलाई कुन चाहिँ दान गर्दा ब्रतको पूर्ण फल प्राप्त होला भनि प्रश्न गर्दा शिवजीले पुरुषोत्तम महिनामा सक्नेले ३० वटा काँसको थालमा मालपुवा राखेर धागोले बेरेर आचारमा बाँधिएको ब्राह्मणलाई दान गर्दा विश्वभरमै सबैभन्दा उत्कृष्ट दान हुने भनेको र पार्वती माताले पनि त्यसै गर्नुभएको र हामीले पनि मलमासमा भक्तिभावपूर्ण ब्रत बसेर काँसको थालमा मालपुवा बनाएर सक्नेले ३० वटा ब्राह्मण र आर्थिक अवस्था कमजोर हुनेले एउटै ब्राह्मणलाई मात्र एउटै काँसको थालमा ३० वटा मालपुवा दान गर्नाले पापरहित भई मनले सोचेको कुरा पुरा हुन्छ ।
समग्रमा मलमास संक्रान्तिरहितको महिना हो । मलमासको स्वामि स्वयम् दिननाथ श्रीकृष्ण भएकाले, श्रीकृष्णको पुरुषोत्तम नामले पुरुषोत्तम महिना प्रशिद्ध रहेको छ । यस महिनामा पुरुषोत्तम मास महात्म्य पाठ, पुरुषोत्तम भगवानको ब्रत, दान, स्नान आदि कार्य गर्नुपर्छ र हरिध्यानमा लीन हुनाले यस लोकमा सोचिनसक्नुको फल पाइन्छ र मृत्युपछि पनि गोलोकमा गएर पनि अत्यन्तै सुखभोग गर्न पाइन्छ भन्ने शास्त्रमा लेखिएको पाइन्छ ।
लेखक नेपाल ज्योतिष परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष हुन् ।