विष्णुकुमार देवकोटा
घटना र मर्म व्यक्तिगत भए पनि स्वास्थ्य सुरक्षाजस्तो संवेदनशील एवम् सामूहिक चासोको विषय भएकाले हालसालै आफूले भोगेको एक अनुभव पस्किने जमर्को गरेको छु ।
गुमेको वस्तुकरुो क्षतिपूर्ति असम्भव जस्तै छ, तर घटना प्रस्तुतीकरणको अभिप्राय मुद्दा मामिला र प्रतिशोधभन्दा पनि सम्बन्धित सरकारी निकाय वा मेडिकल काउन्सिलजस्ता संघ संस्थाहरुले यस्ता घटनाहरुको वास्तविकता पत्ता लगाई विशेष ध्यानाकर्षण भएमा मैले जस्तो अवस्था अरुले भोग्नु नपरोस् भन्ने अपेक्षा हो ।
नेपालको संघीय संविधानमा स्वास्थ्यलाई मौलिक अधिकारका रुपमा लिइसकेको अवस्थामा सरकारले सबै नागरिकहरूको स्वास्थ्य अधिकारको सुरक्षा र सुनिश्चितता गरोस् भन्ने अभिलाषा हो । खासमा तुलसीपुरका प्रादेशिक अस्पताल नागरिककै अगुवाईमा स्थापना भएको हो । तुलसीपुर क्षेत्रका नागरिक समाज, सामाजिक अभियन्ताहरूको बीचमा आफ्नो क्षेत्रको मौजुदा स्वास्थ्य उपचारको अवस्था र सुधारका विषयमा एकपटक छलफल र समीक्षा होस् भन्ने मेरो अपेक्षा पनि हो ।
जस्तोसुकै महामारीको बेलामा पनि आफ्नो जिउज्यान हत्केलामा राखेर बिरामीको स्वास्थ्य सेवामा तल्लीन सम्पूर्ण चिकित्सकहरू र स्वास्थ्यकर्मीहरूप्रति मेरो आस्था र सम्मान छ । यस अर्थमा चिकित्सकहरू देवतासरह हुन् । तर देवताहरूकै आवरणमा मिसिएर अमृत पान गर्न उद्यत राहुहरूको पहिचान हुन पनि त्यत्तिकै जरुरी छ ताकि स्वर्णिम भविष्यको सपना बोकेर घरबाट हाँस्दै अस्पताल पुगेका हाम्रा दिदीबहिनीहरु सेतो आवरणभित्रको कालो मन भएका कुनै चिकित्सकको चक्रव्यूहमा परेर, अङ्गभङ्ग भएर वा सेतो कपडामा पोको परेर घर नफर्कियून् ।
अब घटना विस्तारतिर लागौं, प्रसङ्ग बुहारी सुस्मिताको प्रसुतिको हो । पहिले काठमाडौं र गत चैत महिनादेखि तुलसीपुरमा डाक्टर विनोद सिंहसँग प्रादेशिक अस्पताल र कहिले उनैसँग तुलसी अस्पताल, तुलसीपुरमा गर्भवतीको नियमित स्वास्थ्य परीक्षण गराउँदै आएकामा कोरोना महामारीका कारण कम भीडभाड र ल्याव परीक्षणको सहजताको लागि तुलसी अस्पतालमा परीक्षण गराउँदै आइएको थियो ।
तुलसी अस्पातलमा एकपटक डा. विनोद नभएको दिनमा प्रादेशिक अस्पतालकै डा. शेखर थापालाई पनि देखाइएको थियो । काठमाडाँैले सुत्केरी हुने सम्भाव्य मिति गत भाद्र ११ गते दिएको थियो । भाद्र ६ गते प्रसूति व्यथा लागेको ठानेर बुहारीलाई प्रादेशिक अस्पतालमा लैजाँदा चिकित्सकले परीक्षण गरी व्यथा नलागेको भनेपछि घर फर्कियौ । भोलिपल्ट पुनः पेट दुखेपछि बिहानै तुलसी अस्पतालमा गई डा. विनोदलाई देखाइयो ।
उनले सम्भाव्य मिति ११ गते नभएर १७ हुनुपर्ने हो भन्दै अपरेसन गर्ने कि नर्मल डेलेभरी गर्ने भनेर सोधेकोमा बुहारीले नर्मल डेलेभरी रोजिन् । डा. विनोदले ल राम्रो डिसिजन गर्नु भो, बच्चा र आमाको स्वास्थ्य पनि नर्मल छ भन्दै प्रादेशिक अस्पतालमा भर्ना हुन सुझाब दिए । दिउँसो २ बजेतिर अस्पताल लिएर गइयो । हाम्रो विचार पनि नर्मल डेलेभरी होस् त्यो पनि प्रादेशिक अस्पतालमै भन्ने थियो ।
नर्मल डेलेभरिको सोचले प्रादेशिक अस्पतालमा बस्दै गर्दा साढे चार बजेतिर बच्चाले दिसा खान थालेकोले तुरुन्तै अप्रेशन गर्नपर्ने भनी महिला डाक्टरले भित्र लिइसकेको कुरा श्रीमतीले फोनबाट जानकारी गराइन् । म क्याम्पसबाट सोझै अस्पताल पुगेर बुझ्दा डा. श्रीसियाले अप्रेसन गर्दै गरेको थाहा भयो । हाम्रा अस्पतालहरूमा डाक्टर रोज्ने अधिकार बिरामी पक्षलाई हुने भएको भए म डा. विनोदलाई नै रोज्थें ।
मलाई थाहा छैन अप्रेशन गर्ने डा. श्रीसिया डा. विनोदभन्दा दक्ष र सिपालु पनि हुन सक्थिन् होला तर विश्वासकोे आधार दक्षता मात्र नभएर व्यक्ति–व्यक्तिबीचको व्यवहार, अनुभव र अनुभूति पनि हो । उत्सुकतापूर्वक अप्रेसन कक्ष बाहिर प्रतीक्षारत रहेका बेला ५ बजे नाति जन्मेको, आमा र बच्चा दुवै स्वस्थ भएको खवर अप्रेशन कक्षबाट पाइयो । एक छिनपछि ३ केजी ५०० ग्राम तौल भएको स्वस्थ नाति हात परेपछि त खुसीको सीमै रहेन ।
भोलिपल्ट ८ गते साढे ११ बजेतिर बच्चाको जण्डिस टेस्टको लागि ल्यावमा अन्य बिरामीहरुसँगै नवजात शिशुले पनि लाइन लागेर पालो पर्खनुपर्ने भयो । जेनतेन पालो आएपछि रगत दिइयो । वार्डमा फर्के लगत्तै डिपिटी खोपको लागि फेरि गएर भीडमै लाइन लाग्नपर्ने भयो । ओपिडीका विरामीहरुले टिकट लिने लाइन र डिपिडी खोपको पालो पर्खने लाइन एउटै हलमा भएकोले त्यहाँ झेल्नुपरेको सैयौंको भीडले कोरोनाको समयमा गरिने भनेको भौतिक दूरी एकादेशको कथाजस्तै लाग्थ्यो ।
पाँचौ दिनमा डिस्चार्ज भएर घर आइयो । सुत्केरीको अवस्था राम्रै थियो । भाद्र १७ गते सुत्केरी भएको दशौ दिनमा एकाएक रक्तस्राव भयो । प्रादेशिक अस्पताल २ दिन अगाडिदेखि कोरोनाको कारण सिल भइसकेको खवर मिडियाहरुमा आएको थियो । आत्तिएर डा. विनोदलाई फोन गर्दा सम्पर्क हुन नसकेकोले तुलसी हस्पिटलमा नर्स टीका भाञ्जीलाई फोन गर्दा डाक्टरहरु अस्पतालमै भएको जानकारीपछि सक्दो तुलसी हस्पिटल पु¥याइयो ।
भित्र उपचार हुँदै थियो, म बाहिर बसेर डा. किशोरलाई सम्पर्क गर्न खोज्दै थिएँ । भित्रबाट एकजना मानिस आएर भिडिओ एक्सरे गर्न सिटी हस्पिटलमा लैजानोस् भने, मैले उनलाई यहाँ हुँदैन र ? भनी सोध्दा भिडियो एक्सरे गर्ने यहाँको डाक्टर सरोज पौडेल अहिले सिटी हस्पिटलमा छन् भने । मैले तत्काल सिटी हस्पिटलका एकजना सञ्चालक विनिल केसीलाई फोन गरेर सकिन्छ भने भिडिओ एक्सरेको लागि यहाँ पठाइदिन सकिन्छ कि प्रयास गरिदिन प¥यो भनी नसक्दै नजिकै उभिएका उनै व्यक्तिले उसले बोलाएर डाक्टर आउने होर भनी फन्केर हिँडे । उनी डा शेखर थापा रहेछन्, पछि मात्र जानकारी भयो ।
एकछिनमा डाक्टर आरती चौधरी भित्रबाट निस्केपछि विरामीको अबस्था बुझ्न खोज्दा, भर्खरै डा. शेखरले हेरेर गएको र भिडिओ एक्सरेको रिपोर्ट हेरेर आवश्यक उपचार सिटी हस्पिटलमै गर्ने भन्नु भएको छ, विरामीलाई फेरि यहाँ ल्याउनु पर्दैन, सिटी अस्पतालमा लैजानोस् भनिन् । तुलसी हस्पिटलबाट भिडियो एक्सरेको बहानाले के कति कारणले सिटी हस्पिटलमा रिफर गरिएको हो, बुझिएन । उनै डा. शेखरले पनि केही खुलाउन चाहेनन् ।
उता विनिल केसीले भिडिओ एक्सरेवाला डाक्टरसँग सम्पर्क हुन नसकेको भनी खबर गरेको र यता डा. किशोरसँग पनि सम्पर्क हुन नसकेकोले सिटी हस्पिटल पुगियो । मैले तपाई नै डा. शेखर हुनुहुँदोरहेछ मैले चिनिन भनेपछि उनले तुलसी अस्पताल धेरै महङ्गो छ यहाँ तपाईलाई सस्तो र सजिलो हुन्छ भन्ने कुरा गरे । मैले केही बोलिन । एक छिनपछि बाइकमा भिडिओ एक्सरे गर्ने डाक्टर आए । मैले काउन्टरमा बुझ्दा २ बजेतिर गएका उनी फोन गरेपछि डेराबाट आएको थाहा भयो ।
डेराबाटै बोलाउनु थियो भने तुलसीमा किन नबोलाएको होला भन्ने मनमा लागिरह्यो । भिडियो एक्सरे हेरेपछि डा. शेखरले अलि–अलि फोहर बाँकी छ । सफा गर्नुपर्छ १०÷१५ मिनेट लाग्छ त्यसपछि तपाईं घर लान सक्नुहुन्छ भने । मैले पहिले अप्रेशन गर्दा किन सफा गरेनछन्, यस्तो के भएर भयो ? भन्ने जिज्ञासा राख्दा अप्रेशन गर्ने डाक्टरको दोष छैन, सुत्केरीलाई यस्तो हुनसक्छ भन्ने ठाडो जवाफ दिए उनले ।
डा. शेखर प्रादेशिक अस्पतालमा अप्रेशन गर्ने डा. श्रीसियाका श्रीमान भएको कुरा पछि मात्र थाहा भयो । त्यसपछि बिरामीलाई अप्रेशन कक्षमा लिन सहयोगीलाई अह्राएर उनी अन्यत्र लागे । एक छिनपछि बिरामी कुरुवा बहिनीलाई नर्सले अप्रेसन चार्ज १५ हजार लाग्छ अरु औषधिको कति लाग्ने हो ? थाहा छैन, पछि किचकिच नहोस्, १५ हजार अहिले नै जम्मा गर्नू भनेपछि म पैसा लिन घरतिर लागें ।
मलाई सम्झना छ ३ वर्षअघि मेरै बहिनीको पाठेघरको अप्रेसन गराउन उपक्षेत्रीय अस्पताल घोराहीमा परीक्षण गराइसकेपछि अप्रेशनका लागि गोरखा अस्पतालमा लैजाऊँ कि भन्दा गोरखामा पनि अप्रेशन गर्ने गरेका डा. सन्देश पौडेलले दुबै ठाउँ अपरेशन गर्ने मैले नै हो भन्दै अप्रेसन चार्ज मात्र २० हजार तिर्न किन निजी अस्पतालमा जानुहुन्छ भनेर उपक्षेत्रीयमै डा. वसन्तसमेतले अप्रेशन गरी सहयोग गरेको कुरा ताजै छ ।
हिँड्दै गर्दा सोचें सिटी अस्पतालमा आएको पहिलोपटक हो पैसाको विषयमा अहिलेसम्म कहीँ कतै किचकिच गरिएको छैन, पहिले नै पैसा र किचकिचको कुरो कसरी आयो ? मैले तत्काल विनिललाई फोन गरेर १५ हजार सस्तो वा महङ्गो के हो मलाई थाहा छैन तर पैसा मगाईको तरिका र किचकिच भन्ने शब्दले शङ्का उब्जाएको कुरा बताए । एकछिनपछि डाक्टरले २५ हजार लिने गरेका रहेछन् मिलाएरै भनेको छु भन्छन, राम्रोसँग उपचार गरिदिन भनेको छु भन्ने कुरा विनिलले जानकारी गराए । भोलिपल्ट ११ बजेतिर डिस्चार्ज गरियो । डाक्टरले भनेका ५ वटा सुई सिटी अस्पतालकै आफन्ती नर्स नानीले घरमै आएर लगाइदिइन् ।
सुत्केरी स्वस्थ हुँदै थिइन् । सुत्केरी भएको १८औं दिन भाद्र २४ गते अपरान्ह फेरि अत्यधिक रक्तस्राव भएर बेहोस हुन थालेपछि भानिज गोपालले डा. शेखरलाई फोन गर्दा ए मैले उनलाई अस्तिनै हेर्नुपथ्र्यो, सिटी अस्पतालमै छु पठाइदिनोस् भनेपछि सिटीमा लगियो । डाक्टरले गोपाल र हामीसँग पाठेघरभन्दा तलको नसा फुटेको रहेछ मैले बन्द गरिदिएको छु । यसैले पुरै निको हुन पनिसक्छ, तर विरामी आईसियू भएको ठाउँमा केयरमा बस्न जरुरी भएकोले नेपालगञ्ज वा काठमाडांै लानोस् भने ।
उनैले फेरि काठमाडांैको बाटो लामो र उपडखापड भएकोले बीच बाटोमा समस्या पर्न सक्छ, मैले डाक्टरलाई फोन गरिदिएको छु, आज विदामा छ भोलि विहान हेर्छ, नेपालगञ्ज जानोस् भने । उनकै आग्रहअनुसार राति ९ बजेतिर नेपालगञ्ज पुगी नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरियो ।
कलेजले अहिले रक्तस्राव रोकिएकोले इमर्जेन्सी केस होइन भनी लेवर रुममा पठायो । नर्सहरुले डाक्टरकै सल्लाहअनुसार उपचार गरिरहेका छौ, आत्तिनु पर्दैन विहान ९ बजे डाक्टर आउनुहुन्छ भन्दै रहे ।
विहान ९ बजेतिर फेरि रक्तस्राव शुरु भयो । गोपालले डा. शेखरलाई खै त तपाईले भनेको डाक्टर भनेर सोधेपछि त्यो त कोहलपुर हस्पिटलको रेसिडेन्स डाक्टर हो तपाईहरु नेपालगञ्ज पुग्नुभएछ भन्ने जवाफ दिए । रिफर गर्दाका पनि केही आचार वा इथिक्स हुन्छ होला ? रिफर गरिएको डाक्टर वा अस्पतालको नाम किटानी गर्नु त परै रहोस् विरामीको नाम, हिष्ट्री र अवस्थाको गाम्भीर्यता पनि उल्लेख नभएपछि नर्सहरुले पनि गम्भीरताको आँकलन गर्न नसकेको हुन सक्छ । विधिवत रिफर नगरी हामीलाई मौखिकमात्र भनिएको रहेछ ।
यता डाक्टर आउलान् आउलान् भन्दा नआउने, उता विरामीको अबस्था गम्भीर हँुदै गएकाले जसरी पनि काठमाण्डौ लाने हाम्रो सल्लाह भयो । नेपालगञ्जका युवा व्यवसायी प्रशान्त लामिछानेमार्फत यती एअरको जहाज ३ लाखमा चार्टर गर्ने निधो गरी केही समय एअरपोर्टमै होल्ड गर्न लगाइयो । उता काठमाडांैमा एअर पोर्टबाट सिधै ग्राण्डी हस्पिटलमा लैजानको लागि एअरपोर्टमै एम्बुलेन्स तयारी अवस्थामा राख्ने कुराको निधो ।
ग्राण्डीका आइसियु प्रमुख डाक्टर सुवास आचार्यसँग सम्पर्क गरियो । निधो त गरियो यता मेडिकल कलेजबाट डिस्चार्ज नभएर जान पनि मिलेन । डाक्टर अझ आउँदैनन् । म नेपालगञ्ज नभएर दाङमै छु । मैले आत्तिएर नेपालगञ्ज मेडिकल कलेजमा कोही साथी छ कि छिटो गर्न भन्दिनु प¥यो भनेर प्रादेशिक अस्पताल तुलसीपुरका मेसु. डा सर्वेश शर्मालाई फोन गरें, उनले डाक्टर सुरेश कनौडियालाई सरले आफै फोन गर्नोस् अरु किन खोज्नुहुन्छ भनेपछि, हो त नि भनेर म झल्यास्स भएँ ।
त्यसपछि डाक्टर कनौडियासँग सम्पर्क भएपछि डाक्टर कनौडियाले १५ मिनेटभित्रै पुगी आफै बिरामी हेर्ने कुरा बताएपछि बल्ल केही राहतको अनुभव भयो । एकैछिनमा नेपालगञ्ज मेडिकल कलेजका निर्देशक नितेश कनौडियाले काठमाडौ लाने नै भए प्लेनमै रगत चढाउने ब्यबस्थासहित एकजना मेडिकल अफिसर वा सिनिएर नर्स साथमा पठाउने व्यवस्था गर्छौ ।
तुरुन्तै जिल्ला प्रशासनबाट सिफारिस लिने प्रक्रिया पनि थाल्छौ तर करिब १ घण्टा सिफारिस लिन र एअरपोर्ट पुग्ने समयबाहेक थप एक घण्टाको उडान समय समेत गरी काठमाडौं ओर्लन मात्र कम्तीमा २ घन्टा लाग्छ । निरन्तर रक्तस्राव भइरहेको विरामी काठमाडौं पुग्ने सम्भावना न्यून छ । म द्विविधामा रहेकै बेला छोरा नबीनले मैले अप्रेशनको स्वीकृति दिई सकें, काठमाडौं पु¥याउने सम्भावना नै छैन भनेर फोन गरेपछि एअरलाइन्स र डाक्टर सुबासलाई त्यहीअनुसार जानकारी गराइयो ।
अघिल्लै राति ९ बजेतिर भर्ना भएकी बिरामीले बिहान नौ बजेसम्म पनि डाक्टर नपाएको कारणले हामी आक्रोसित भएको अवस्थालाई थाहा पाएका डाक्टर नितेशले नेपालगञ्जमा उपलब्ध भए जति वरिष्ठ डाक्टरको टिमले हेर्दैछ नआत्तिनुहोला भनेर फोन गरे । मेडिकल कलेजको पछिल्नो कार्यको गुनासो गर्ने ठाउँ खासै रहेन । डिस्चार्ज हुँदा बिलमा पनि छुट तथा सुविधा दिएर विरामीप्रतिको संवेदनशीलता र मानवताको अनुभूति गराए ।
तर यी सबै सुविधा एउटा सर्वसाधारण जनताले पनि विना भनसुन पद्धतिगतरूपमै हाम्रा अस्पताल र मेडिकल कलेजहरुमा पाउन कति वर्ष प्रतीक्षा गर्नपर्ने हो भन्न सकिन्न । डा. प्रवीन, डा. विनोद र डा. कमरको प्रयासले अप्रेशन सफल त भयो तर २४ वर्षे एउटी किशोरीले आफ्नो महत्वपूर्ण अङ्ग गुमाउनुको पीडा आजीवन सहनुपर्ने भयो ।
तुलसीपुरमा गरिएको शुरुको अप्रेसनमा लगाएको भित्री टाँका इन्फेक्सनले आधाभन्दा बढी ड्यामेज भैसकेको रहेछ । अस्पताल बसेको १० दिनपछि असोज २ गते त्यहाँबाट डिस्चार्ज भयो । जे–जस्तो पीडा र सकस सहनु परे पनि बुहारी बाँचेको र नाति पनि मातृ स्नेहबाट बञ्चित हुन नपरेको अवस्थाले चित्त बुझाउनको विकल्प रहेन ।
निष्कर्षमा
मानिस जतिसुकै कुशल र दक्ष भए पनि गल्ती हुन सक्छ । डाक्टर पनि मानिस हो गल्ती हुनसक्छ, उसको गल्ती अक्षम्य हुन्छ भन्ने पनि म ठान्दिनँ । गल्ती महत्वपूर्ण कुरा होइन महत्वपूर्ण कुरा त उसको प्रवृत्ति, लापरवाही एवम् बिरामीप्रतिको व्यवहार र संवेदनशीलता हो ।
प्रस्तुत घटनाक्रममा विरामीको भाग्य नै त्यस्तै हो ? या हाम्रो चेतना र प्रयास कमजोर हो ? या सिकारु हातहरुबाट भएको उपकरणको दुरुपयोग र लापरबाही हो ? अथवा मानवीय संवेदना, पेशागत मर्यादा तथा आचरणबाट स्खलित स्वार्थीकर्मीको पैशाची र अहङ्गकारी प्रवृत्तिको दुष्परिणाम ? यस्ता थुप्रै प्रश्नहरु मनभित्र उथलपुथल भइरहेका छन् ।
विशेषतः प्रादेशिक हस्पिटलको बिरामीलाई प्रादेशिककै डाक्टरले तुलसी हस्पिटलबाट पनि सिटी हस्पिटल पु¥याई, अपरेशनपश्चात फ्लोअपमा बोलाउनु त परै जाओस् विरामीको गम्भीर अवस्थाबारे समयमै जानकारी नदिई अवस्था आफ्नो कावुभन्दा बाहिर गइसकेपछि मात्र विधिवत रिफर नगरी नेपालगञ्ज पठाउने घनचक्करमा कसरी फसियो थाहै भएन । यो आलेख कसैप्रति गुनासोका रुपमा भन्दा पनि स्वास्थ्यकर्मी तथा चिकित्सकको अस्वाभाविक एवं रुखो कार्यशैलीका विरुद्ध मात्रै हो । यसमा स्वास्थ्य संस्था सञ्चालकले पनि विशेष ध्यान दिनेछन् भन्ने पनि मेरो अपेक्षा हो ।
लेखक प्रादेशिक अस्पताल तुलसीपुरका अस्पताल विकास समितिका अध्यक्ष तथा नेपाल सरकारका निबृत्त सहसचिव तथा राप्ती बबई क्पाम्पस सञ्चालक समितिका अध्यक्ष हुन् ।