राजधानीको केन्द्रबिन्दु :  प्लीज वेट….

खेमराज रिजाल
भालुवाङ, २३ असोज । प्रादेशिक राजधानीको घोषणा भएको भोलिपल्ट मेरो यात्रा भालुवाङका लागि तय भयो । मैले दूधरासमा कुरिरहेको थिएँ, तुलसीपुर उद्योग वाणिज्य संघलाई ।

त्योभन्दा पहिले राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई फोन सम्पर्क गर्न पटक–पटक मोवाइलमा नम्बर डायल गर्दा रिङटोनमा आएको थियो ‘प्लीज् वेट’ । ७ रिङपछि सम्पर्क हुन सकेन भन्ने रेडिमेट जवाफ आयो दूरसञ्चारको ‘सिस्टम’बाट । राजधानी तोकिएको पालिकाका अध्यक्षको फोन व्यस्त हुनु स्वाभाविकै पनि थियो ।

उत्तिवेलै व्यस्त हुने, उत्तिवेलै घण्टी जाने, अनि त्यही कलमा सम्पर्क हुन सकेन भन्ने पनि हुन्छ र ? सरकारी सेवाको विषयमा मात्रै कुरा उठाएको हुँ, खासमा म त भालुवाङ प्रादेशिक राजधानी जाँदै थिएँ । भालुवाङको ‘भर्जिन ल्याण्ड’मा प्रादेशिक राजधानी तोकिएको मुख्यमन्त्री शंकर पोख्रेले बताएका थिए । त्यही ‘भर्जिन ल्याण्ड’ कहाँनेर हो ? मैले खोज्ने प्रयास गर्दै थिएँ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई पनि सम्पर्क गरेँ । ‘भालुवाङ बजार पारीको जलुके र कालाकाँटे साइड पनि हुन सक्छ, त्यता पनि घुम्नुहोला, हामीले त परिपत्र आए भौतिक संरचना निर्माण भइसकेको स्थान खोज्ने न हो । कामचलाउ राजधानीका लागि भौतिक संरचना खोज भनेर परिपत्रनै आएको छैन, आएपछि हामी राजधानीका लागि उपयुक्त संरचना सुझाउने गरी तयारी अवस्थामा छौ’, प्रमुख जिल्ला अधिकारीले सुझाव र सूचना एकैपटक दिए ।

१० बजे घरबाट निस्कने योजना थियो मेरो । तर फोन सम्पर्क नहुँदा १२ बज्यो हिँड्ने बेला । एक बजेको सेरोफेरोमा भालुवाङ पुग्यौं । राजधानीलाई स्वागत गर्न राखिएको कार्यक्रममा मञ्चमा र दर्शकदीर्घामा उस्तै–उस्तै सहभागिता थियो । मञ्चमा १७ जना हुँदा सुन्नेहरु सोह्र हुन्थे, मञ्चबाट भाषण गरेर निस्किदै गएपछि फेरि तलका बढी हुन्थे । राजधानी सरोकार समूहले गरेको कार्यक्रममा राजधानी घोषणा भैसके पनि पनि यति झिनो उपस्थिति, त्यो चित्र त्यति सन्तोषजनक लागेन मलाई ।

बरु पौवा होटलमा भीडभाड थियो । पौवामा खाजा खान आउनेहरुमा सांसददेखि नेकपाका पार्टी नेतृत्वहरु पनि थिए । तर भालुबाङ क्षेत्रमा राजधानी तोकिए पनि मुख्यमन्त्रीले भनेको ‘भर्जिनल्याण्ड’ कहाँनेर हो भन्ने कुरामा सबै बेखवर छन् । अर्थात अब मुख्यमन्त्रीको कार्यालय कहाँ हुन्छ ? संसदको बैठक कहाँ बस्छ ? भन्नेजस्ता स्वाभाविकरूपमा उठ्ने सवालहरूको जवाफ कसैसँग छैन । राप्ती गाउँपालिकाले प्रस्ताव गरेको बजारदेखि उत्तरको भूगोल हो कि, जलुके हो कि कालाकाँटे हो त राजधानीको मुख्य भूगोल ? यो कुराको टुङ्गो अझै लागेको छैन ।

संरचनाहरु त शिवपुर, जलुके, बाङ्गेसाल, लमहीसम्म बन्लान नै, तर प्रदेशको ‘सिंहदरबार’ कुन भूगोलमा ठडिएला त ? मुख्यमन्त्रीले भनेको ‘भर्जिनल्याण्ड’मै त ठडिएला मुख्य कार्यकारी र व्यवस्थापकीय कार्यका लागि आवश्यक संरचना । त्यो भूगोलबारेको अनभिज्ञता अब प्रक्रियागत रूपमा छिट्टै निरुपण होला, तर अहिलेसम्म भरपर्दो अनुमान गर्न सकिने अवस्था पनि छैन ।

‘वेट प्लीज’, अनि फेरि सम्पर्क हुन सकेन । जलुके पुग्यौं, भानपुर पुग्यौं, अनि कालाकाँटे पनि पुग्यौं । हामो धर्म, पुग्ने मात्रै हो । तर कहिँकतै त्यस्तो आधिकारिक ‘भर्जिनल्याण्ड’ देखेनौं । भालुवाङ फर्किदा भालुवाङबासीको एउटै उत्साह भने थियो, मुख खोलेर बोल्न चाहन्नथे, तर बोले, ‘अब हामीले पनि भूस्वामित्व पाउने छौं कि !’ भालुवाङलाई राजधानीसँगै भूस्वामित्व पनि चाहिएको छ । राजधानीको माग गर्नुभन्दा पहिलेदेखिकै भालुबाङको माग हो यो । चार दशकअघि नै स्थापित भएको बजारले भूस्वामित्व किन पाउन सकेको छैन ? मैले यसअघि लेखेको थिएँ, ‘ऐलानी भालुवाङ’ शीर्षकमा ।

यो टपिक्स बन्द गरौं, हामी त राजधानीका लागि ‘भर्जिनल्याण्ड’को खोजीमा छौं । सायद स्थानीय पालिका, प्रदेश सरकार तथा संघीय सरकारबीच यो विषयमा सहमति भएको हुनसक्छ । मैले त्यो पनि कोट्याउन खोजेको थिएँ । त्यसैबेला तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बीरु रावतले भने– ‘जहाँ संरचना छन्, त्यहाँ बस्दै जान्छ, मुख्यमन्त्रीले त्यो नियाली रहनुभएको छ, तुलसीपुरमा पनि त प्रादेशिक राजधानीका केही न केही संरचना बन्लान् नि !’

फेरि ‘प्लीज वेट’को आवाज आयो, मैले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोख्रेललाई फोन गर्दै थिएँ । घण्टी जाँदाजाँदै स्वीचअफ…। कुलमान घिसिङलाई सम्झन चाहन्छु, किनकि उनको पालामा विद्युत सेवामा धेरै सुधार भएको थियो । सबैले कम्तीमा पनि मोबाइल चार्ज गर्न र वाइफाइ चलाउन त पाएका थिए ।

तर अहिले त बत्ती कतिवेला जाने र कतिवेला आउने ठेगानै छैन । जिंगटको रुख काट्नकै लागि पनि दिनभरी बत्ती जान्छ, यो उपभोक्ता अधिकारका सवालमा विद्युत कार्यालयसँग कुरागरी साध्यै छैन । एकपटक तुलसीपुर उपमहानगरपालिकाका ५ नं. वडाध्यक्षसँगै कार्यालयमै पुग्दा विद्युतका हाकिमले भनेका थिए– ‘विद्युत जनताले चाहेर आउने होइन, कार्यालयले व्यवस्थापन गरेर दिने हो ।’ कति गतिलो उत्तर दिएका थिए, तुलसीपुर विद्युतका हाकिमले ।

अँ म त लेख्दा–लेख्दै कहाँ पुगेछु ! मैले त प्रादेशिक राजधानीको केन्द्रबिन्दु खोज्ने जमर्को गर्दैछु नी । दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले फोन गर्नुभएको थियो, ‘प्रादेशिक राजधानी प्रस्ताव भएको स्थानमा जाऊ’ भनेर । जान त गयौं, तर हामी पनि ‘भर्जिनल्याण्ड’ कुन भनेर स्पष्ट हुन नसकेरै फर्कियौं । अर्घाखाँचीको जलुके पुन सक्छ, राप्ती नदीको किनारामा रहेको भानपुर हुनसक्छ वा कालाकाँटेको सरकारी वन क्षेत्र पनि हुन सक्छ ।

भर्जिनल्याण्डको स्थान खोजिरहेका छौं हामीले तर भेटिएको छैन । त्यसो त साविक लालमटिया गाविसको उत्तरपट्टि रहेको हजार विगाहा वनको जग्गा पनि छ रे, त्यही स्थानलाई राप्ती गाउँपालिकाले प्रादेशिक राजधानीका लागि प्रस्ताव गरेको पनि थियो, तीन बर्ष पहिले । तर त्यस बिषयमा पनि आवश्यक निर्णय भैसकेको छैन ।
घुम्दा–घुम्दै एक नागरिक पनि भेटिए, धर्म पण्डित । प्यूठानको दरभानमा उनको ह्याचरी थियो ।

प्रादेशिक राजधानीको खुसियाली सभामा आएका रहेछन्, तर झिनो उपस्थिति देखिएपछि उनी कुर्सी छाडेर बाहिर आएका थिए । ‘मलाई लाग्छ, कुनै पनि संरचना निर्माण भएका छैनन्, सायद कर्मचारीलाई तलव खुवाउनै नसक्ने अवस्थामा सरकार पुगेको छ भने प्रादेशिक राजधानीका संरचना निर्माणको परिकल्पना पनि गर्न सकिन्न्, संघीयता त जनतालाई डुबाउने र नेतालाई उकास्ने खेल मात्रै रहेछ’ उनले प्रवचनको शैलीमा यसरी सुनाए ।

सायद उनलाई संघीयता मन नपरेको हुनसक्छ । यति सानो मुलुकलाई संघीयतामा लग्नुको कुनै औचित्य छैन भन्ने उनको अनुभूति हुन सक्छ । फर्कदै गर्दा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले भने– ‘तुलसीपुर एयरपोर्टलाई मात्रै स्तरोन्नति गर्न सके हुन्थ्यो..।’

प्रादेशिक राजधानीको ‘भर्जिनल्याण्ड’ कहाँ हो ? कौतुहलताका साथ सबैको मनमा बसेको यो सवालको जवाफ पाउन मैले फेरि फोन सम्पर्क गर्न खोजे आधिकारिक समाचारस्रोतहरूलाई, मोबाइलबाट उही ‘रेडिमेट’ जवाफ ‘प्लीज वेट…।’ कस्तो संयोग !