दाङ,२२ असोज । तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेयलाई कोरोना संक्रमण देखिएको छ । फिभर देखिएपछि असोज २० गते स्वाव दिएका पाण्डेयलाई विहीवार कोरोना पुष्टि भएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाव परिक्षणका क्रममा नगर प्रमुख पाण्डेय र उनका स्वकीय सचिवसहित २१ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना संक्रमण देखिएपछि नगर प्रमुख पाण्डेयले विशेष स्वास्थ्य सतर्कता र सावधानी अपनाउन आग्रह गरेका छन् ।
‘सकारात्मक सोचका साथ उच्च सवधानी अपनाउदै नगरवासी र देशको सेवामा खट्दाखट्दै केही दिनदेखि ज्वरो, रुघाखोकी आएकोले कोरोना परिक्षण गर्दा सकारात्मक देखिएको छ’–नगर प्रमुख पाण्डेयले सामाजिक सञ्जाल फेसवुकमा भनेका छन्–‘मसँग एक हप्तामा नजिकमा रहेलाले विशेष सवधानी अपनाउदै आवश्यक परेमा कोरोना परिक्षण गर्नुहोला ।
अहिले कोरोनाको संक्रमण बढी रहेकोले सम्पूर्ण आमाबुवा,दाजुभाइ दिदीबहिनीलगायत सवै नगरवासीहरुले बिशेष स्वास्थ्य सतर्कता र सावधानी अपनाउनु होला ।’
उनले यहाँसम्म आइपुग्दा धेरै समस्यासँग जुझ्दै, जित्दै र बिजय हासिल गर्दै आइपुगेको भन्दै अब पनि देश र जनताको सेवा गर्न, रोग , शोक, भोगसँग लड्न र देशको समृद्धिका लागि कोरोना भाइरसलाई जितेर सेवामा फर्कने दृढता व्यक्त गरेका छन् । उनले आफ्नो स्वास्थ्यमा चासो राख्ने स्वास्थ्य लाभको कामना गर्ने सवैमा धन्यवाद व्यक्त समेत गरेका छन् ।