प्रेरणाका शब्दले मानिसलाई यसरी प्रभाव पार्छ

सुप्रिया माँ

सबै मानिसहरु अनन्त क्षमता, शक्ति र सम्भावनाहरु लिएर जन्मिएका छन् । यो पृथ्वीमा कोही पनि यस्तो मानिस छैन जसको भित्र केही बन्न सक्ने विशेष सम्भावना र क्षमता नभएको होस् । मानिसको बाहिर देखिएको क्षमता दश प्रतिशत मात्र हो । मानिसभित्र नदेखिएको क्षमता ९० प्रतिशत छ, अर्थात् भित्र अनन्त क्षमता छ ।

मानिसभित्र रहेको क्षमता उजागर गर्ने हो भने मानिस जे पनि बन्न सक्छ र जस्तो पनि हुनसक्छ । मानिसभित्र रहेको क्षमता उजागर हुने वातावरण बन्यो भने मानिसले जीवनमा जति पनि प्रगति गर्नसक्छ । प्रेरणा पाउने हो भने हेर्दा साधारण र केही गर्न सक्दैन कि जस्तो देखिएको मानिसले पनि जीवनमा चामत्कारिक प्रगति गरेका उदारणहरु प्रशस्त पाइन्छन् । अरुले भनेका प्रेरणादायी कुराहरुले पनि मानिसभित्र रहेको क्षमतालाई उजागर गर्न सहयोग गर्छ ।

प्रेरणा दिने कुनै शब्दले त यस्तो प्रभाव पार्छ कि त्यसले मानिसकोभित्र रहेको अनन्त क्षमता उजागर गराइदिन्छ र मानिसको जीवन नै रुपान्तरण गरिदिन्छ । त्यस्तै उदाहरणमध्येका एक चामत्कारिक व्यक्तित्व हुन थोमस एडिसन । आमाको एउटा प्रेरणादायी शब्दले जीवन सफल बनाएका व्यक्ति हुन्, थोमस एडिसन ।

उनी साना बालक नै थिए । स्कूलमा सानो कक्षामा पढ्न गएका थिए । एक दिन उनले स्कूलबाट एउटा पत्र लिएर घर आए र आफ्नी आमालाई दिँदै भने ‘आमा यो पत्र मेरी स्कूलकी शिक्षिकाले मलाई दिएकी हुन्, तपाईंलाई दिनु भनेर’ ।

पत्र खोलेको थिएन, बन्द नै थियो । आमाले त्यो पत्र खोलेर पढिन् । पत्र पढ्दा आमाका आँखा रसाए । आँसु पुछ्दै उन्ले आफ्नो छोरालाई अँगालोमा हालिन् ।

थोमसले आमालाई सोधे ‘आमा त्यो पत्रमा के लेखेको रहेछ ?’ भनेर । आमाले फेरि पत्र खोलिन र अलि ठूलो स्वरले पत्र पढेर छोरालाई सुनाइन् ।

‘थोमस एडिसन एक विशिष्ट प्रतिभाशाली बालक हुन् । उनको दिमाग अति नै तेज छ । हाम्रो स्कूलमा यति धेरै प्रतिभाशाली बालकलाई पढाउने शिक्षकहरु छैनन् । त्यसैले हामी तपाईंलाई सल्लाह दिन्छौँ कि आफ्नो छोरालाई घरमै पढाउने व्यवस्था गर्नुहोस्’ ।

थोमसकी आमाले पनि छोरालाई शिक्षक खोजेर घरमै पढाउने व्यवस्था गरिन् । आमाको प्रेरणाले थोमसले पनि मन लगाएर पढे । अति विशिष्ट प्रतिभावशाली बालक हुन भनेको सुनेर उनको पढ्ने मन बढ्दै गयो । उनी त्यो शब्दलाई बारम्बार स्मरण गर्दथे र अझ मन लगाएर पढ्थे ।

त्यो शब्द उनको कानमा गुञ्जिरहन्थ्यो र उनलाई सधैँ प्रेरणा दिइरहन्थ्यो । त्यो शब्दले उनलाई राम्रोसँग पढ्ने र जीवनमा केही बन्ने प्रेरणा दियो ।

उनलाई ‘म जीवनमा ठूलो मानिस बन्नु पर्छ, म प्रतिभाशाली छु’ भन्ने लागिरहन्थ्यो र उनी मिहिनेत पनि गरिरहन्थे ।

समय बित्दै जाँदा एउटा समय यस्तो आयो कि थोमस एडिसन अमेरिकाको सबैभन्दा ठूला अविष्कारक (Inventor) बने । उनी विश्वकै ठूला आविष्कारक बने । त्यो बेलाको १०९३ पेटेन्ट (Patent) उनको नाममा दर्ता थियो । उनले बिजुलीको बल्वको अविष्कार गरे । बिजुलीबाट चल्ने कारको ब्याट्रीको अविष्कार गरे । Motion Picture को पनि अविष्कार गरे ।

त्यस्तै धेरै प्रकारका अविष्कार थोमस एडिसनले गरेका छन् । उनको प्रतिभा त्यतिमा मात्र सीमित रहेन उनी ठूला व्यापारी पनि बने । पछि गएर उनी विश्वकै एउटा प्रख्यात व्यक्ति बने । विश्वमा थोमस एडिसन भनेपछि नचिन्ने कोही पनि छैन । उनको प्रतिभाको उपभोग विश्वमा सबै मानिसहरुले गर्न पाएका छन् ।

त्यही क्रममा थोमसकी आमाको स्वर्गबास भयो । आमाको स्वर्गबास भएपछि एक दिन उनले आफ्नो घरको सरसफाई गर्दै थिए र पुराना दराजहरु मिलाउँदै थिए । त्यो पत्र, जुन उनी सानो हुँदा शिक्षिकाले स्कूलबाट उनकी आमालाई पठाएकी थिइन्, त्यो पत्र पटाएको अवस्थामा दराजको एउटा कुनामा थोमसले भेट्टाए । उनले त्यो पत्र खोलेर पढे ।

पत्रमा लेखेको रहेछ, ‘तपाईंको छोरा मानसिक रुपमा कमजोर छ । हामी यसलाई हाम्रो स्कूलमा पढाउन सक्दैनौँ । तपाईं यसलाई स्कूल नपठाउनुहोस् । यसलाई आफ्नो घरमै राख्नुहोस ।’ पत्रमा त्यस्तो पो लेखिएको रहेछ ।

त्यस दिन थोमस एडिसन आफ्नी आमालाई सम्झेर खुब रोए । उनकी आमाले उनका लागि कति ठूलो प्रेरणादायी कुरा भनेकी थिइन्, आमाले उनका लागि कति ठूलो काम गरेकी थिइन् । यदि उनकी आमाले, शिक्षिकाले पत्रमा जे लेखेर दिएकी थिइन त्यही कुरा आफ्नो छोरालाई सुनाएकी हुन्थिन् भने थोमस एडिसन यति ठूलो मानिस बन्न सक्दैनथे पनि होला ।

‘म मानसिक रुपमा कमजोर छु’ भन्ने उनलाई लागिरहन्थ्यो र उनलाई जीवनमा अगाडि बढ्ने प्रेरणा हराउँथ्यो ।

थोमस एडिसनको प्रतिभा उजागर हुने वातावरण नबनेको भए बिजुलीको यति ठूलो अविष्कार विश्वले देख्न पाउँदैनथ्यो । कुनै कुराले मानिसलाई कति ठूलो प्रेरणा मिल्छ र जीवन नै रुपान्तरण भइदिन्छ । जीवनमा अगाडि बढ्नका लागि मानिसलाई प्रेरणा चाहिन्छ ।

यसैगरी कुनै कुराले मानिसलाई निराश पनि बनाउन सक्छ र जीवन नै असफल हुनसक्छ । त्यसैले कसैलाई पनि केही कुराभन्दा धेरै ध्यान दिएर भन्नुपर्छ । मैले बोलेको यो शब्दले मानिसलाई कस्तो प्रभाव पार्छ भनेर त्यतातिर पनि ध्यान दिनु पर्छ ।

विशेष गरी साना–साना बालबालिकाहरुलाई केही कुराभन्दा निकै ध्यान पुराउनुपर्छ । बालबालिकाहरुको प्रेरणा हराउने कुनै पनि कुरा कसैले पनि भन्नु हुँदैन ।

मानिसहरुले अनन्त क्षमता र सम्भावनाहरु जन्मिँदै लिएर आएका छन् । आत्मविश्वास बनाइदिने हो भने त्यो क्षमता उजागर हुन्छ र मानिस एउटा प्रतिभाशाली व्यक्ति बन्नसक्छ ।

आत्मबल बढाइदिन आवश्यक छ । ‘तिमीभित्र क्षमता छ, तिमी गर्न सक्छौ’ भनेर अरुले भन्दिए पुग्छ । यसरी ‘तिमी क्षमतावान् छौ, तिमी सक्छौ, तिमीले गर्छौ भनेर साना–साना बालबालिकाहरुलाई विश्वास दिलाइदिने हो भने उनीहरु जे पनि गर्न सक्छन् र जस्तो पनि हुनसक्छन् ।

प्रेरणादायी कुरामा धेरै ठूलो शक्ति लुकेको हुन्छ । मानिसलाई प्रेरणा मिल्ने राम्रा कुराहरु नै भन्नु पर्छ । जीवन नै निराश बनाइदिने नराम्रा कुराहरु कहिल्यै पनि भन्नु हुँदैन । यस्तो कुरामा माता–पिताको सबैभन्दा ठूलो भूमिका रहन्छ । एउटै भर्याङबाट कोही व्यक्ति माथि पनि जान सक्छ र त्यही भर्याङबाट कोही व्यक्ति तल पनि झर्न सक्छ ।

मानिसको आफ्नो सोच र आफूप्रतिको विश्वासमा भर पर्छ, मानिस जीवनमा कति अगाडि बढ्न सक्छ भनेर । जस्तो व्यक्ति पनि बन्न सक्ने अनन्त क्षमता र सम्भावनाहरु सबै मानिसहरुको भित्र रहेको हुन्छ ।

मानिसलाई अगाडि बढ्ने प्रेरणा मिल्यो र वातावरण भइदियो भने मानिस जस्तो पनि बन्न सक्छ । जीवनमा केही बन्नसक्ने अनन्त प्रतिभा मानिसले लिएरै आएको हुन्छ । यो संसारमा क्षमता नभएको मानिस कोही पनि जन्मिएको छैन । त्यो क्षमता उजागर हुन प्रेरणा चाहिन्छ ।

आजलाई यत्ति नै, हरि ॐ !

सुप्रिया माँ आनन्दपथ संस्थाका संस्थापक हुनुहुन्छ ।