प्रदेश ५ को नाम लुम्बिनी, राजधानी देउखुरी पारित

दाङ,२० असोज । प्रदेश नं. ५ को प्रस्तावित नाम लुम्बिनी र प्रदेशको राजधानी राप्ती उपत्यकाको देउखुरी राखियोस् भन्ने प्रस्ताव पारित भएको छ ।

प्रदेशको नाम दुई तिहाइले पारित भएसँगै अव प्रदेशको नाम लुम्बिनी र प्रदेशको राजधानी दाङको भालुवाङ हुने भएको हो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसीले प्रदेशसभामा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको समथर भागका केही वडा पर्ने गरी राप्ती उपत्यकाको देउखुरीलाई प्रदेश केन्द्र राखियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

लगत्तै सभामुख पूर्णबहादुर घर्तीलेले कानुनमन्त्रीले गरेको प्रस्ताव मतविभाजनका लागि अगाडि बढाएका थिए । सो क्रममा कानुनमन्त्रीले राखेको प्रस्ताव पारित भएको छ । देउखुरीको पक्षमा ६९ मत परेको थियो भने विपक्षमा १३ मत परेको थियो ।

सत्तारुढ दल नेकपाले देउखुरीको पक्षमा र प्रमुख प्रतिपक्षी दल कांग्रेसले विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई प्रदेश संसदीय दलले ह्‌विप नै जारी गरेका थिए । सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको थियो ।

प्रदेशसभामा कुल ८७ सांसदमध्ये ६१ जना नेकपा र १९ कांग्रेस सांसद छन् । कानुनमन्त्रीको प्रस्ताव दुईतिहाइले पारित भएपछि संशोधन प्रस्ताव स्वतः अस्वीकृत भएको छ । समाजवादी पार्टीका यादव र मगरले प्रदेशको नामकरण लुम्बिनीको ठाउँमा अवध मगरात राख्‍न माग गरेका थिए । सो संशोधन प्रस्ताव पनि अस्वीकृत भएको छ ।