दाङ, २० असोज । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रैलले भालुवाङ प्रदेशभरका वासिन्दाको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी प्रस्ताव गरेको बताएका छन् ।
अहिले ५ नम्बर प्रदेशमा रहेका विगतका ३ वटा अञ्चल (लुम्बिनी, राप्ती र भेरी) को केन्द्रविन्दुको रुपमा राप्ती उपत्यकालाई राजधानी बनाउन खोजेको उनले बताए ।
प्रदेशसभा बैठकमा मंगलबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने ‘राप्ती उपत्यका देउखुरी क्षेत्रले कुनै एउटा भेगको मात्र प्रतिनिधित्व गर्ने नभएर प्रदेशभरकै प्रतिनिधित्व गर्ने ठाउँ भएको बताएका हुन ।
कुनै एउटा क्षेत्रको विकासमा केन्द्रित भएर समग्र प्रदेशको समृद्धि परिकल्पना गर्न नसकिने भन्दै उनले प्रदेशभित्रका १२ वटै जिल्लाको जनताको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी तोकिएको मुख्यमन्त्री पोख्रेलको भनाई थियो ।
उनले बुटवल–भैरहवा करिडोर क्षेत्रलाई प्रदेशको वित्तीय राजधानीको रुपमा विकास गर्ने प्रतिवद्धता पनि जनाए । प्रदेश राजधानी भालुवाङ तोके पनि त्यहाँ संरचना नबन्दासम्म बुटवलमा नै रहने पनि उनले बताए ।
उनले प्रदेश राजधानी सरेपनि प्रदेश सरकार सिंगो प्रदेशभरको हुने भन्दै प्रदेश नेतृत्व नै बुटवलबाट बाहिर जान खोजेको अर्थमा नबुझ्न आग्रह गरे ।