भालुबाङ राजधानी सन्दर्भ
विपुल पोख्रेल
आज प्रदेश सरकारद्वारा प्रदेश संसदमा प्रस्तावित प्रदेश राजधानी भालुवाङमा पुगे । संसदमा प्रस्ताव दर्ता भएपछिको पहिलो संसद बैठकको बिषय राजनधानी र प्रदेशको नामाकरण हुने नै भयो । संसदको यो छलफलप्रति भालुबाङको ध्यान कस्तो रहन्छ भनेर नै मैले यहाँ आउने योजना बनाएको हुँ ।
म भालुवाङ आउँदा सबैभन्दा पहिले सम्पर्र्क गर्ने भनेको भालुबाङको पुल पारीको होटल इभरल्याण्ड होटेलका दामोदर(खनाल) भाइलाई हो । आज पनि उनैलाई फोन गरेको थिएँ । उनको होटलमा अक्कर प¥यो भने एक सय जनासम्मलाई आवासीय सुबिधा उपलब्ध छ । अहिलेको अबस्थामा भन्दा प्रस्तावित राजधानीको सबैभन्दा ठूलो क्षमताको होटल दामोदरकै हो ।
तर भालुबाङ उनको होटलमा पुगेर उनलाई फोन गर्दा अनपेक्षित जवाफ पाएँ । ‘दाइ आधा घण्टा बस्दै गर्नुस् है, म आइहाले’ उनको यो जवाफ अप्रत्यासित थियो मेरा लागि । सोचेँ, कतै टाढा गएका छन् होला । तर होइन रहेछ । उनी होटलमै रहेछन् । उनी आधा घण्टा भने पनि १८ मिनेट जतिमा आए । र भने– ‘राजधानी प्रस्ताव भएपछि भीडभाड बढेको छ दाइ, हजुरलाई कुराए, सरी है दाइ ।’ राजधानी प्रस्ताव भएपछिको दामोदरको यो व्यस्तताले भालुबाङकै जीवनशैली फेरिएको महसुस भयो ।
जग्गा खरिद–बिक्री रोकिएको भए तापनि भालुबाङ क्षेत्रमा यतिबेला जग्गा कारोबारवालाको दौडधुप पनि राम्रोसँग देख्न पाइयो । यो कुराले भालुबाङको आकर्षण देखाइरहेको महसुस भयो । यति मात्रै हैन, सिंगो भालुवाङको ध्यान आज प्रदेश संसदको बैठकमा केन्द्रित थियो । हरेक पसलका साहुजीहरू कि त मोबाइलमा, कि त टेलिभिजनमा संसद बैठकको प्रत्यक्ष प्रशारण हेरिरहेका देखिन्थे । संसद बैठक पनि अचम्मसँग अगाडि बढेको थियो । त्यहाँ राजनीतिक रंग देखाउने प्रयास त भयो, प्रदेशसरकारका आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीले संसदमा भएको हुलहुज्जतको दोष कांग्रेसलाई दिँदै प्रस्तावबाट सरकार फिर्ता नहुने प्रष्ट पारेका थिए ।
हुलहुज्जतमा कांग्रेसका केही सांसद अगाडि देखिए तापनि त्यहाँ पार्टीको भन्दा पनि भूगोलको प्रेम देखिन्थ्यो । पाल्पा, गुल्मी, नवलपरासीका सांसदहरू बुटवल नै राजधानी होस् भन्ने मान्यताका साथ उभिएका छन् भने पश्चिमका सांसदहरू सरकारको प्रस्तावको पक्षमा छन् । कपिलबस्तु र अर्घाखाँचीका सांसदहरूले भने ‘पार्टी लाइन’लाई नै प्राथमिकता दिएको देखियो । भालुबाङको आजको विश्लेषण हो, यो ।
भालुबाङ निकै पुरानो बस्ती र बजार हो । तर यसको विशेषता के हो भने अहिले बनेको प्रदेश पाँचको पश्चिम क्षेत्र, पूर्व क्षेत्र र उत्तरपूर्व क्षेत्रसँग यो भूगोल समदूरीमा छ । अझ प्रष्टसँग भन्दा अहिले प्रचलनमा आएका सडक, प्रस्तावित सडक र ट्रयाक खुलेका सडकका आधारमा भन्दा बर्दिया, दाउन्ने र गुल्मी तम्घाससँगको सडक दूरी बढीमा डेढ सय किलोमिटरको दूरीमा नै छ । १२ जिल्लामध्ये अन्य जिल्लाको सदरमुकाम त अझ नजिक नै पर्दछ ।
त्यसकारण भालुबाङ ढुक्क छ कि अब प्रस्ताव संसदमा नै दर्ता भइसकेपछि यो प्रस्ताव बिफल हुँदैन । ‘न्यायिक प्रस्तावको पक्षमा को नै जाला र’ भालुबाङमा भेटिएका हार्डवेयर व्यवसायी कृष्णप्रसाद बोहोराले भने– ‘भौगोलिक सामीप्यता र आफ्नो भोटबैंक सुरक्षाका लागि चिन्तित केही नेताहरूले फरक मत राखे पनि उनीहरू न्यायिक प्रस्तावको बिपक्षमा होलान्झै लाग्दैन ।’
भालुबाङबासीको यस्तै छलफल चल्दै गर्दा अर्को सूचना आयो– ‘राजपाले पनि प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय ग¥यो र ह्विप् पनि जारी ग¥यो !’ यो सूचनाले मसँग बसेर छलफल गरिरहेकाहरूले एकाएक ‘हुर्रे’ भन्ने शब्द निकाले मुखबाट । अब उनीहरू ढुक्क छन् यो प्रस्ताव पास हुनेकुरामा । तर पश्चिम भेगका सबै पार्टीका सांसदहरूको मानसिकता भालुबाङबासीले बुझिसकेका छन् र ढुक्क त छँदैछन् । राजपाको पछिल्लो निर्णयले उनीहरूले अझै ‘कम्फर्टेवल फिल’ गरे ।
भालुबाङका पुराना पात्रहरूसँग पनि गफ गरेँ मैले । उनीहरूसँगको रोमाञ्चक कुराकानी पनि प्रस्तुत गरुला, तर आज भालुबाङको यो खुशी, उत्साह र ‘गुड होस्ट’ (स्वागतार्थी सम्यता)को जुन महसुस गरे, त्यसले राजधानीका लागि यो भूगोल मात्र हैन, यहाँ समुदाय पनि उपयुक्त रहेछ भन्ने महसुस भयो ।