सडक बनाउन थुपारिएको गिट्टी–वालुवा चोरी

ओमप्रकाश गुप्ता
भालुवाङ, १३ असोज । देउखुरीको एक क्रसर उद्योगका सञ्चालक चोरीमा संलग्न भएको तथ्य फेला परेको छ ।

कालाकाँटे–गढवा सडकखण्ड निर्माणका लागि जिम्मा पाएको ब्रजगुरु कान्छाराम जेभी घोराही दाङले लकडाउनको समयमा गत बैशाख र जेठमा राप्ती नदीबाट डम्पिङ गरी गढवा–१ पत्रिङ्गा र जेठान गाउँको उत्तर बीचमा राप्ती नदीको किनारामा घाटगद्दी राखेको थियो ।

उक्त घाटगद्दी राखेको नदीजन्य पदार्थ (गिट्टी, मिस्कट) लाई गढवा गाउँपालिका वडा नं. १ टडहास्थित दक्षिणकाली क्रसर उद्योगले नदीजन्य पदार्थ (गिट्टी, मिस्कट) स्थलबाटै स्काभेटर, मेसिनप्रयोग गरी घाटगद्दी स्थलबाटै सितगंगा नगरपालिका–८ हात्ती ढुङ्गामा रहेको केभेजी क्रसर उद्योग र गढवा गाउँपालिका १ दाङस्थित देउखुरी भ्याली क्रसर उद्योगमा बिक्री गरिरहेको तथ्य फेला परेको हो ।

घटना विवरण अनुसार गढवा कालाकाँटे हुलाकी सडकखण्ड निर्माणका लागि घाटगद्दी स्थलबाट यसरी दिनदहाडै खुलेयाम नदीजन्य पदार्थ चोरी भइरहेको पाइएको छ । दक्षिणकाली क्रसर उद्योगले त्यहाँ एउटा स्काभेटर मेसिन प्रयोग गर्नुका साथै एकजना मजदुरलाई राखेर गैरकानुनी रुपमा घाटगद्दी स्थलमै भ्याट बिल कटाइएको छ, भने अन्य सामान्य बिलहरु प्रयोग गरिएको छ ।

स्थानीयहरुले विगत हप्ता १० दिन देखि सडकमा विछ्याउने नदीजन्य पदार्थ कसरी क्रसर उद्योगहरुमा निकासी भइरहेको छ भन्नेबारे खोजी गरिदिन राप्ती नदी तथा पर्यावरण संरक्षण समिति भालुवाङका पदाधिकारीहरुलाई गोप्य सूचना दिएपछि समितिका अध्यक्ष टोपबहादुर कार्की, सचिव होमप्रसाद शर्मा, कोषाध्यक्ष प्रेम जिसी, सहसचिव विपी खनाललगायतका पदाधिकारी र सञ्चारकर्मीहरुको एक टोली असोज १० गते शनिवार दिउँसो २ बजे घटनास्थल पुगेको थियो ।

टोली त्यहाँ पुग्दा दक्षिणकाली क्रसर उद्योगको स्काभेटर प्रयोग भइरहेको र १० वटा जति टिप्पर घाटगद्दी स्थलबाट लोड गरीमाथि उल्लेखित क्रसर उद्योगहरुमा निकासी गरिरहेको पाइएको थियो ।

त्यहाँ गैरकानुनी ढंगले बिलप्रयोेग गरिएको तथ्य फेला परेपछि राप्ती नदी तथा पर्यावरण संरक्षण समितिले उक्त अबैध बिलहरु आफ्नो कब्जामा लिएको थियो । जसमा प्रयोग गरिएको बिलमा १८८ ट्रिपका बिलमध्ये ३४ वटा बिलको भ्याट बिल काटिएको र अन्य १ सय ५४ वटा फर्जी बिल रहेको कागजात त्यहाँ खटाइएका कामदारबाट बरामद गरिएको समितिका सचिव होमप्रसाद शर्माले जानकारी दिए ।

यसरी दिनदहाडै नदीजन्य पदार्थ एउटा जिम्मेवार क्रसर उद्योगले कसरी चोरी गरिरहेको छ भन्ने रहस्य भने अझै खुल्न बाँकी छ । यसरी दिनदहाडै प्रहरी प्रशासनकै अगाडिबाट नदीजन्य पदार्थ चोरी हुनुमा गढवा गाउँपालिका, प्रहरी, प्रशासनको समेत मिलोमतो रहेको स्थानीयबासीको आरोप छ ।

यस बिषयमा इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक भरतसिंह राठौरलाई समितिका अध्यक्ष टोपबहादुर कार्कीले फोनमार्फत जानकारी गराउँदा जवाफमा राठौरले त्यसबारे आफू अनभिज्ञ भएको जवाफ दिएका थिए भने घटनास्थलमा बोलाउँदा प्रहरी भ्यान अहिले कार्यालयमा नरहेको भन्दै आउन नसक्ने जवाफ दिएको समितिका अध्यक्ष कार्कीले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

यसरी समितिले बरामद गरेको अवैध बिलहरु कालाकाँटे प्रहरी पोष्टका इन्चार्ज उज्वल शाहीलाई समितिका अध्यक्ष टोपबहादुर कार्कीले आवश्यक कारवाहीका लागि जिम्मा लगाएका छन् । राष्ट्रिय गौरवको आयोजना निर्माणको बहाना बनाई राप्ती नदी र सहायक नदीहरुबाट नदीजन्य पदार्थ (गिट्टी, मिस्कट) अवैध उत्खनन् संकलन गरेर माफियाहरुले महादोहन गरिरहेका छन् ।

यसमा स्थानीय गाउँपालिका, प्रहरी प्रशासन, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, संघ तथा प्रदेशका जनप्रतिनिधिहरु, जिल्ला समन्वय समितिलगायत नियमनकारी निकायका अगुवाहरु समेतको सेटिङ र मिलेमतोबाट यस प्रकारका कार्य भइरहेको यो घटनाले स्वतः पुष्टि गरेको छ ।