चेतन रेग्मी
तुलसीपुर, ९ असोज । तुलसीपुर–१२ हरिपौराका ब्रेन क्यान्सर पीडित गोबद्र्धन ओलीको उपचारका लागि सहयोग उठ्ने क्रम जारी छ । केही दिनअघि बेलायतबाट झण्डै पौने दुई लाख रुपैयाँ जम्मा भएको परिवारले जानकारी दिएको छ ।
लामो समय तुलसीपुरमा बसोबास गरेर हाल कामको सिलसिलामा बेलायतमा रहेकी हेमा छन्त्याल पुनको सक्रियतामा संकलन गरिएको १ लाख ७८ हजार ४ सय रूपैयाँ आफूले प्राप्त गरेको गोवद्र्धनकी श्रीमती सुनिता ओलीले बताइन् । पछिल्लो समय बेला–बेलामा बेहोस हुने समस्या देखापरेपछि सोही रुपैयाँले अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौँ उपचार गरिरहेको उनले बताइन् ।
बिरामीको अवस्थामा सामान्य सुधार आएपछि थप उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन । केही समय पहिले गोवद्र्धनको अवस्थाको बारेमा आफूले विभिन्न सञ्चार माध्यम बाट जानकारी पाएपछि बेलायतमा रहेका ईष्टमित्र र नेपालमा रहेका घर परिवारको सहयोगमा सो रकम संकलन गरिएको हेमाले बताइन् । बेलायतमा रहेका इष्टमित्रहरुबाट १ लाख ४० हजार ४ सय र हाल पोखरा निवासी बुवा भीमप्रसाद छन्त्यालसहित परिवारको तर्फबाट ३८ हजार गरी सो रकम गोवद्र्धन ओलीको सहयोगको लागि खोलिएको एनआईसी एसिया बैक खाता नम्बर 0655750912504001 मा जम्मा गरिएको हेमाले बताइन् ।
गतबर्ष साउनमा कतार गएका तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरा निवासी गोवद्र्धन वली गएको केही समयभित्रै कम्पनीमा काम गर्दागर्दै एकाएक बेहोस भएका थिए । साथीभाइको सहयोगमा अस्पताल पु¥याइएका ओलीलाई ब्रेनट्युमर भएको चिकित्सकले बताएका थिए ।
तत्कालै उनको अप्रेसन पनि गरियो । अप्रेसन खर्च कम्पनीले व्यहोरे तापनि उनलाई काम गर्न नदिएर कम्पनीले तत्काल नेपाल फिर्ता पठायो । नेपाल आइसकेपछि पुनः चेकअप गर्दा आफूलाई क्यान्सर भएको ओलीले थाहा पाएका थिए ।
बे्रनट्युमरसँगै पछिल्लो समय क्यान्सरसमेत देखिएपछि गोवद्र्धन मात्र हैन उनको परिवार नै समस्यामा छ । यसअघि लगातार बिरामी परेपछि १३ वर्षकी जेठी छोरी गरिमाको अप्रेसन गरेर पित्तथैली र पाचन नली फालिएको छ । यस्तै १० बर्षकी कान्छी छोरी दक्षिणा वलीको टाउकोमा जुकाले फुल पारेको छ तर आर्थिक अभावकै कारण छोरीहरूको उपचार हुन सकिरहेको छैन ।
त्यसैगरी ७० वर्षीय आमा जयसरी ओलीको दुबै मृगौला फेल भएको छ । छोरीहरु, आमा र आफ्नो उपचारमा सबै सम्पत्ति सकापछि अहिले ओलीको बस्ने घरबासबाहेक अरु केही पनि छैन । ‘आफ्नो पीडा त थियो, तर छोरा र नातिनीहरूको अवस्था देखेर दिनरात चिन्ता लाग्छ’, ७० बर्षीया जयसरीले भनिन्– ‘घरको एकमात्र कमाउने छोरा आफै बिरामी परेपछि सबै बिचल्लीमा परेको छ ।’
आमा जयसराले आफ्नो छोरालाई बचाइदिन उपचारमा सहयोग गर्न सबैसँग सहयोगको याचना समेत गरेकी छन् । सहयोग गर्न चाहनेले ओलीको मोबाइल नं. ९८६६९००३३६ मा सिधै सम्पर्क गरेर अथवा एनआइसी एसिया बैंकको खाता नम्बर 0655750912504001 अथवा तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरास्थित घरमा पुगेर पनि सहयोग गर्न अनुरोध गरेकी छिन् ।