नेपालगञ्जमा रोकिए डा. केसी

बाँके, ५ असोज । जुम्लामा अनशनरत डा. गोविन्द केसी काठमाडौं फर्किने विमान नपाएपछि सोमबार नेपालगञ्जमै रोकिएका छन् ।

जुम्लाबाट काठमाडौं फर्किन सोमबार नेपालगञ्जसम्म एम्बुलेन्समा आएका उनले काठमाडौं फर्किने विमान नपाएपछि नेपालगञ्जमै अनशनलाई निरन्तरता दिएका छन् । उनका सहयोगी डा. प्रवीण गिरीका अनुसार केसीलाई भेरी अस्पतालमा राखिएको छ । केसी मंगलबार विहान ११ बजेको उडानमा काठमाडौं आउने तयारी रहेको डा. गिरीले बताए ।

जुम्लामा अनशन बसेको आठौं दिन सोमबार केसीले अब काठमाडौं पुगेर नै सत्याग्रह जारी राख्ने बताउँदै जुम्ला छाडेका थिए । दुई वर्षअघि आफू अनशन बसेका बेला जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड भएको भन्दै केसीले यस वर्ष पनि त्यस्ता गतिविधि नहोस् भनेर काठमाडौं जान लागेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । दुई दिनदेखि अस्पतालमा भए पनि कुनै उपचार लिन नमानेका केसीलाई सोमबार दिउसोको समिट एयरमार्फट नेपालगञ्ज लगिएको छ ।

केसीसँग उनको नियमित स्वास्थ्य जाँच गर्दै आएका डा.प्रवीण गिरी पनि छन् । १९औं सत्याग्रहको आठौं दिन सोमबार सोमबार डा. केसी नेपालगञ्जकै भेरी अस्पतालमा रहने उनका सहयोगीले बताएका छन् । केसीले काठमाडौं पुगेर पनि सत्याग्रह जारी राख्ने बताएका छन् ।

चिकित्सा शिक्षामा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रमहरु तत्काल सञ्चालन गरिनुपर्ने माग राखी चन्दननाथ–६ रानीचौरस्थित बाविरामष्टको मन्दिरमा अनसनरत डा. गोविन्द केसीलाई शनिबार राति प्रहरीले जर्बजस्ती अस्पताल पु¥याएको थियो ।

आफूलाई जर्बजस्ती अपहरण शैलीमा ल्याइएको भन्दै केसीले कुनै पनि उपचार लिन मानेका थिएनन् । यसअघि जुम्लामा सत्याग्रह गर्दा हिंसा र तोडफोड मच्चाइएको भन्दै यसपालि पनि हुनसक्ने भन्दै आफू काठमाडौं जान तयार भएको उनले बताएका छन् ।

उनले जुम्लामा रहेर सत्याग्रहमा साथ दिने, सहयोग गर्ने तथा शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद दिएका छन् । अहिलेसम्म सरकारी पक्षबाट कुनै वार्ताको पहल नभएको भन्दै सबै माग पूरा भएपछि मात्रै सत्याग्रह टुंगिने पनि उनले बताएका छन् ।