घोराही, ३ असोज । प्रगतिशील लेखक संघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष साहित्यकार पद्मप्रसाद शर्माको चौधौं कृति ‘त्रिवेणी’ शनिबार लोकार्पण गरियो ।
६३ औं जन्मदिनका अवसरमा आयोजित कार्यक्रममा प्रलेसका पूर्व केन्द्रीय उपाध्यक्ष डा. अमर गिरीले पुस्तकको लोकार्पण गर्नुभएको थियो ।
प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाका अध्यक्ष भुवन देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. गिरीले साहित्यकार शर्माको कृति पठनिय र संग्रहनिय रहेको बताउनुभयो । लेखक शर्मा निरन्तर कृयाशिल रहेको भन्दै डा. गिरीले शव्द र कर्मको बीचमा मेल हुन सक्नु साहित्यकार शर्माको विशेषता भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा पुस्तकको समिक्षा गर्दै प्रलेसका केन्द्रिय सदस्य तथा प्रदेश नं. ५ का संयोजक केशव थापाले त्रिवेणीमा तीनवटा पक्ष समेटिएको बताउनुभयो । थापाले त्रिवेणीमा सांगठनिक कार्यक्रममा सहभागी हुन इलाम जाँदाको संस्मरण, सरसफाई कार्यक्रममा सहभागि हुनका लागि अछाम जाँदाको संस्मरण र साहित्यीक कार्यक्रममा सहभागि हुनका लागि रुकुम जाँदाको संस्मरण समेटीएको बताउनुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले साहित्यकार शर्माले साहित्यको क्षेत्रमा पुराएको योगदानको चर्चा गरेका थिए । आगामी दिनमा पनि अझ बढी उन्नत साहित्य सिर्जनाको अपेक्षा गर्दै बक्ताहरुले आगामी बर्ष पनि कृति प्रकाशनको शुभकामना दिएका थिए ।
कार्यक्रममा प्रलेसका केन्द्रीय सदस्य शरद अधिकारी, राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोत्तम खनाल, लेखक संघका अध्यक्ष खगराज न्यौपाने, राप्ती साहित्य परिषद दाङका अध्यक्ष कमलमणि देवकोटा, लेखकका गुरु डिल्ली बस्नेत, सहपाठी हुमबहादुर डिसीले शुभकामना दिनुभएको थियो ।
रञ्जिता शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन प्रलेस दाङका सदस्य शारदा शर्माले गर्नुभएको थियो । सोही कार्यक्रममा साहित्यकार शर्माले आफूलाई अक्षर चिनाउने गुरु भुपवहादुर डाँगीलाई सम्मान गर्नुभएको थियो ।