मिश्रित फुटवल समूहद्वारा घोरदौरामा सरसफाई
दाङ,२८ भदौ । घोराही उपमहानगरपालिका–१८ मा रहेको घोरदौरामा सरसफाई गरिएको छ ।
पछिल्लोसमय चर्चासँगै पर्यटकिय स्थलका रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको घोरदौरामा फोहर बढ्दै गएपछि घोराहीमा रहेको मिश्रित फुटवल समूहले सरसफाई गरेको हो ।
समूहका टिम लिडर श्यामलाल जिसीको नेतत्वमा घोरदौरा पुगेको समूहले शनिवार घोरदौराको डाडाँमा रहेको फोहर संकलन गरि व्यवस्थापन गरेको सविन केसीले जानकारी दिएका छन् ।
‘पछिल्लो समय आन्तरिक पर्यटनको चर्चामा रहेको घोरदौरामा घुम्न जाने व्यक्तिहरुबाट फोहर बढेपछि हामीले उक्त फोहर संकलन गरेर डस्टविनमा राख्ने काम गरेका हौ’–केसीले भने–‘मानिसहरु दिनहु घुम्न जाने तर फोहर व्यवस्थापन नगर्दा प्रदुषण बढ्दै गएको छ ।’
उनका अनुसार घोराहीलगायतका विभिन्न क्षेत्रहरुबाट मानिसहरु दिनहु ड्राईपिकनिक रुपमा जाने र प्लाष्टिकलगायतका फोहरहरु जथाभावी रुपमा फाल्ने गरेका छन् ।

फोहर जथाभावी रुपमा फाल्दा दाङकै पर्यटकीय सम्भावना बोकेको घोरदौरामा फोहर बढेको इन्द्र मगरले बताएका छन् । फुटवल समूहले उक्त डाडामा रहेको फोहर संकलनसँगै आगामी दिनमा फोहर हुन नदिनका लागि स्थानीयलाई सुझाव समेत दिएको समूहका अर्का सदस्य मन्दिप कुवँरले जानकारी दिएका छन् ।
सरसफाई अभियानमा किरण थापा, रजिम भण्डारी,विरोध गौतम,कर्ण पुन, विक्रम रेग्मी, अभ्यास गौतम,बिप्लब अधिकारीलगायतको सहभागिता रहेको थियो । उक्त फुटवल समूहले विभिन्न प्रकारका सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।
