वहुआयामिक व्यक्तित्वका धनी बीपी कोइराला

सन्दर्भ बीपी जयन्ती
डा. कृष्णराज डिसी
दाङ,२५ भदौ । नेपाली राजनीति र साहित्यका शिखर पुरुष हुन् । उनी सांस्कारिक रुपमा राजनीतिक परिवारमा जन्मिएका थिए ।

नेपाली जनतालाई रैतीबाट नागरिकमा रुपान्तरण गर्नका लागि उनका पिता कृष्णप्रसाद कोइराला तन, मन, वचन र कर्मले आजीवन लागिरहे मात्र होइन, त्यसै कारणले उनलाई राणाहरुले सर्वस्व हरणसहित देश निकालाको सजाय समेत दिएका थिए ।

कोइराला संयुक्त परिवारमा जन्मिएका थिए । उनका पिता कृष्णप्रसाद कोइरालाले २६ बर्षको उमेरमा काठमाडौं धुनीवेशी निवासी मोहनकुमारी आचार्यसँग दोस्रो विवाह गरेका थिए । किनभने उनकी प्रथम विवाहिता पत्नी रुक्मणीदेवीको प्रश्रव व्यथाका कारणले स्वर्गारोहण भएको थियो ।

दोस्रो विवाह गरेपश्चात ५÷७ बर्षपछि बालाजु निवासी खरिदार रामानन्द आचार्यकी जेठी छोरी दिव्यासँग कृष्णप्रसाद कोइरालाको विवाह भएको थियो । उनै दिव्याबाट माहिला छोराका रुपमा बीपीको जन्म भएको थियो । उनको बास्तविक नाम चूडामणि कोइराला थियो भने साहित्यिक नाम विश्वेश्वरप्रसाद कोइराला थियो ।

भारतको बनारसमा जन्मिएका हुनाले उनी भारतीय राजनीतिबाट बाल्यावस्थादेखि नै प्रभावित भए । अंग्रेजहरुलाई भारतबाट विस्थापित गर्ने क्रममा बीपीका जेठादाजु मातृकाप्रसाद कोइरालासहित बीपी कोइराला अंग्रेजविरोधी आन्दोलनमा सरकारी विद्यालयको पठन–पाठन छाडेर सहभागी भएका थिए ।

उनलाई महात्मा गान्धी र जवहारलाल नेहरुले राम्ररी चिन्दथे मात्र होइन, त्यति साना बालकहरुको स्वतन्त्रताप्रतिको अनुराग देखेर उनलाई ठूलो हौसलासमेत गान्धी र नेहरुले प्रदान गरेका थिए ।

यसरी बिहानीले दिउँसोको संकेत गर्छ भनेझै गान्धी र नेहरुको अगुवाइमा भारतमा भएको अहिंसात्मक आन्दोलनको दूरगामी प्रभाव बीपीको राजनीतिक जिवनमा पर्न गयो ।

अंग्रेजहरुलाई भारतबाट विस्थापित नगर्दासम्म नेपालमा निरंकुश जाहनिया शासक राणाहरुलाई विस्थापित गर्न सकिँदैन भन्ने बुझेका बीपी कोइरालाले अंग्रेजहरुलाई भारतबाट विस्थापित गर्ने आन्दोलनमा सक्रियरुपमा लागिरहे ।

कोइरालाले भनेका छन्, नेपालबाट राणा शासनको अन्त नभएसम्म नेपाली जनतालाई स्वतन्त्र बनाउन सकिँदैन । वि.सं. १९८७ सालमा भारतको बनारसमा अंग्रेजविरोधी आन्दोलनमा लागेकाले उनलाई पहिलोपटक अंग्रेजहरुले जेलचलान गरे ।

वि.सं. १९८९ सालमा कांग्रेस शोसलिष्ट पार्टीको सक्रिय सदस्य बीपी भारतमै बने भने वि.सं. १९९१ मा वनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिक शास्त्र र अर्थशास्त्रमा स्नातक गरे । कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरे ।

वि.सं. १९९४ सालमा उनी भारतको दार्जिलिङमा जागिर खोज्दै पुगे । १९९५ सालमा दार्जिनिङमै वकालतको पेशासँगै ट्युशन पढाउन समेत शुरु गरे । त्यहीँ भाषासेवी सूर्यविक्रम ज्ञवालीसँग उनको पहिलो भेट भयो । पछि वि.सं. १९९९ सालमा उनी भारत छाडो आन्दोलनमा लागेको हुनाले अंग्रेजले उनलाई पटनामा गिरफ्तार गरी भारतको हजारीवाद जेलमा राख्यो ।

वि.सं. २००२ माघ ३ गते उनका पिता कृष्णप्रसादको नेपालको जेलमै मृत्यु भयो । संयोगवश त्यसैदिन उनी भारतको हजारीवाद जेलबाट मुक्त भए । बीपी कोइराला सन १९४७ जनवरी २६ मा नेपाली राष्ट्रिय कांगेसको कार्यवाहक सभापति बने ।

त्यसपछि विराटनगर जुटमिल आन्दोलनको शिलशिलामा उनलाई जेलचलान गरियो । सन् १९४५ मे १ मा मजदुर दिवसको दिनदेखि आमरण अनशनमा बसेका बीपी २९ दिनपछि जेलमुक्त भए । सन् १९५० अप्रिल ५ मा विधिवतरुपमा नेपाली कांग्रेसको स्थापना भएपश्चात उनी नेपालको पूर्वी क्षेत्रको कमाण्डर बने र २००७ सालमा प्रजातन्त्रको स्थापनापश्चात कोइराला अन्तरिम मन्त्रिमण्डलको गृहमन्त्री समेत बने ।

वि.सं. २०१० सालमा बर्माको रंगुनमा आयोजित एशियाली समाजवादी सम्मेलनमा सक्रिय सहभागी बनेका बीपीले वि.सं. २०१४ बालमा भद्र अवज्ञा आन्दोलन गराई तात्कालीन राजा महेन्द्रलाई आम निर्वाचन गराउन बाध्य बनाए ।

वि.सं. २०१५ सालमा भएको आम निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइको बहुमत प्राप्त गरी विजय भएपछि वि.सं. २०१६ सालमा उनी नेपाल सरकारको प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्न पुगे तर २०१७ सालमा तात्कालीन राजा महेन्द्रले दलहरुमाथि प्रतिवन्ध लगाई बीपीलगायत उनका सहकर्मीहरुलाई लामो समयसम्म कारावासको सजाय दिए ।

वि.सं. २०२५ सालमा ८ बर्ष लामो जेल सजाय भोगी मुक्त भएका बीपी पुनः निर्वासनमा भारत पुगे । भारतमा बीपीले नेपाली राष्ट्रियताका बारेमा आफ्ना सहकर्मीहरुलाई प्रशिक्षण दिई नेपालको राष्ट्रियतालाई जोगाउनका निमित्त वि.सं. २०३३ सालमा उनी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गिरफ्तार गरियो ।

वि.सं. २०३४ सालमा उनीमाथि लगाइएको देशद्रोह र राजद्रोह लगायतका ७ वटा मुद्दाको सामना गर्दै वि.सं. २०३५ सालमा विद्यार्थी आन्दोलनमा सक्रिय सहभागिता जनाएका बीपीलाई उपत्यकामै गिरफ्तार गरीयो । तर वि.सं. २०३६ सालमा भएको जनमत संग्रहको परिणामलाई स्वागत गर्दै बीपीले वि.सं. २०३८ सालमा साहित्यिक पत्रकार संघले गरेको अभिनन्दनलाई सहर्ष ग्रहण गरे । अन्ततः उनी वि.सं. २०३९ साल साउन ६ गते यस संसारबाट सदाका लागि विदा लिएर गए ।

राष्ट्रियताको भावनालाई बलियो बनाउनका निमित्त हामीले मुलुकमा पहाडे वा मधेसी भन्ने विचार बोक्नु हुँदैन भन्ने सन्देश उनले दिएका थिए । वि.सं. २००७ साल चैत महिनाको गोरखापत्रमा बीपीको उक्त सन्देश प्रकाशित भएको छ । हाम्रो देश राम्रो छ, हाम्रो देशमा थरीथरीका मानिस बस्छन्, यहाँ थरीथरी जातका मानिस बस्छन्, हामी सबैमा देशको ममता हुनुपर्दछ । हामीले पहाडी वा मधेसी भन्ने भावना ल्यायौं भने हाम्रो मुलुकको उन्नति हुँदैन । मुलुक एउटा डुंगाजस्तो हो । त्यसमा चढेर मानिसहरु नदी चढछन्, तर डुंगामा चढेकै मानिसहरु आपसमै लड्न थाल्छन् भने कस्तो गति हुन्छ ?, डुंगा डुव्यो भने को बाँच्छ ? । त्यस्तै हामी रैती÷दुनियाँ पनि आपसमा लड्यौं भने मुलुक विग्रन्छ, मुलुक बिग्रियो भने हाम्रो पनि दुर्दशा हुन्छ भनी बीपीले बताएका छन् ।

बीपी पारिवारिक जीवनदेखि सामाजिक तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय जीवनमा समेत राजनीतिबाट प्रेरित र प्रभावित थिए । उनको विचारमा कुनै पनि मानिस राजनीतिबाट अलग रहेर बाँच्न सक्दैन भन्ने बुझिन्छ । बीपी कोइरालाको साहित्यिक यात्रालाई नियाल्दा उनको वि.सं. १९९२ सालको शारदा पत्रिकामा प्रकाशित चन्द्रवदन शीर्षकको कथासँगै नेपाली कथा साहित्यले आदर्शोन्मुख सामाजिक यथार्थवादी धाराबाट यौन मनोवैज्ञानिक धारामा प्रवेश गरेको पाइन्छ । साहित्यकार कोइरालाको साहित्यिक लेखनमा पाश्चात्य मनोचिकित्सक शिगमण्ड फ्रायडको यौन मनोवैज्ञानिक दर्शनले व्यापक प्रभाव पारेको देखिन्छ ।
उनका दोषी चश्मा र श्वेत भैरवी गरी दुई कथा संग्रहहरु प्रकाशित छन् भने ६ वटा उपन्यासहरु जस्तै सुम्निमा, नरेन्द्रदाइ, हिटलर र यहुदी, मोदी आइन, तीन घुम्ती, वावु आमा र छोरा आदि उपन्यासहरु प्रकाशित छन् । उनका उपन्यासहरु महाभारतमा चर्चित गीतादर्शनबाट बढी प्रभावित छन् । फ्रान्सेली दार्शनिक जाँपाल सार्त र अल्वर्ट कामुको अस्तित्ववादी तथा विसंगतिवादी चिन्तनबाट बढी प्रेरीत र प्रभावित रहेका देखिन्छन् ।
तर कथाहरुले भने मानिसको पूर्ण चेतन, अर्धचेतन र अचेतन तीनै प्रकारको मनोविज्ञानलाई फरक–फरक दृष्टिले प्रस्तुत गरेका छन् । उनको साहित्यिक लेखन पनि राणाहरुको विरोधमै लाक्षणिक रुपमा प्रस्तुत भएको पाइन्छ । कोइरालाले साहित्यिक रुपमा आफू अराजकवादी भएको र राजनीतिकरुपमा प्रजातान्त्रिक समाजवादी भएको बताएका छन् । उनका दृष्टिमा साहित्यमा सम्राट पनि नांगो हुन्छ । तसर्थ साहित्यिक लेखन कुनै विधि विधान, नीति–नियम, वैचारिक मूल्य–मान्यता आदिको आदर्शको खोल ओढेर रचियो भने त्यो भद्दा हुन्छ भन्ने साहित्यकार कोइरालाको दृष्टिकोण थियो ।

उनले जम्मा १२ वटा मात्र फुटकर कविताहरुको रचना गरेका थिए । उनका ती कविताहरु वेदान्त दर्शनमा आधारित थिए । आफ्नो जीवनको अन्त्यतिर कोइरालाले आफ्नो आत्मबृतान्त समेत लेखनीमार्फत प्रस्तुत गरेका थिए । जसको सम्पादन प्रशिद्ध लेखक गणेशराज प्रसाईले गरी बीपीको आत्मबृतान्त प्रकाशन गरिएको थियो । बीपी कोइरालाले प्रजातान्त्रिक समाजवादविना मुलुक बाँच्न नसक्ने निष्कर्ष निकाली राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आफ्नो आदर्शता ठानेका थिए ।

जबसम्म मुलुकमा मेलमिलापको साझा नीतिलाई अवलम्वन गर्न सकिँदैन तवसम्म मुलुक बाँच्न सक्दैन भन्ने मूल सन्देश बीपीले दिएका थिए । तर बीपीको राष्ट्रवादको मूल आदर्शलाई नेपालको राजदरवारले समेत समयमा बुझ्न सकेन । यदि सकेको भए आज नेपालको राष्ट्रियतामाथि जुन प्रकारको चौतर्फी आक्रमण भइरहेको छ, यो हुने थिएन । बीपी कोइराला (वि.सं. १९७१ भाद्र २४–वि.सं. २०३९ साउन ६)