गोरक्ष समाचारदाता
घोराही, १४ पुस । घोराही उपमहानगरपालिकाले नगल्ने फोहोर खरिद गर्ने भएको छ । नगरको बाताबरण तथा विपद् व्यवस्थापन समिति अन्तरगतको सरसफाई स्वच्छता शाखाले आईतबार आयोजना गरेको समिक्षा कार्यक्रममा नगल्ने फोहोरहरुको बर्गिकरण गरेर खरिद गर्ने निर्णय गरेको हो । कपडा र पुनः प्रयोगमा आउने प्लाष्टिकजन्य फोहोरहरुलाई प्रतिकिलो ५ रुपैयाँ र पुनः प्रयोगमा नआउने बस्तुहरुलाई प्रतिकिलो ३ रुपैयाँमा खरिद गर्ने निर्णय भएको हो ।
प्रत्येक वडाका टोल विकास संस्थाहरुले नगल्ने फोहोरहरु निश्चित ठाउँमा संकलन गर्ने र घोराही उपमहानगरले उक्त फोहोरहरु खरिद गरेर बाहिर विक्रि गर्ने योजना बनाएको छ । फोहोरबाट संकलित रकमलाई टोल विकास संस्थाहरुले पूर्ण सरसफाईको कार्यक्रम अन्तरगत साबुन, ब्रस, हरपिक खरिदमा लगाउने नीति लिईएको समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिनुभयो । नगल्ने फोहोर खरिदका लागि नगरले चालु आर्थिक बर्षका लागि ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
साथै उपमहानगरले प्लाष्टिकका झोलालाई निरुत्साहित गर्दै कागज र फाईबरका झोलालाई प्रोत्साहन गर्ने समेत नीति अघि सारेको उहाँको भनाई छ । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले गल्ने फोहोरलाई खेतबारीमै मलकोरुपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
फोहोरलाई पैसा सँग जोड्ने र ल्याण्डफिल साईडमा शून्य फोहोरको अबस्था ल्याउने सोच रहेको बताउनुभयो । उपप्रमुख सीता सिग्देल न्यौपानेले लगानी घटाउदै फोहोरलाई पैसा सँग जोडेर व्यवस्थापनमा लाग्नु पर्ने बताउनुभयो । वडाका जनप्रतिनिधिहरुले टोलका अध्यक्ष र टोलका अध्यक्षले टोलभरी फोहोर व्यवस्थापन गर्ने बिधीलाई कार्यान्वयनमा ल्याउने गरी काम गर्नुपर्ने बताउनुभयो । त्यसैगरी, सरसफाई स्वच्छता शाखा प्रमुख प्रेम केसीले गल्ने र नगल्ने फोहोरलाई अर्थ सँग जोडेर व्यवस्थापन गर्ने बताउनुभयो । सिसा, प्लाष्टिक जन्य बस्तुहरुलाई बाहिर बिक्रि गर्ने र गल्ने फोहोरबाट ग्यास सँगै मल उत्पादनको तयारी भैरहेको जानकारी दिनुभयो ।