कोरोनाले पर्खिबसेछ, भेट होला नि ?

मधुसूदन सुवेदी

चीनको बुहान शहर हुँदै अनेकौं राष्ट्र र मुलुकमा भ्रमण गर्दै ठर न ठेगाना कुनै नाप न नक्सा, चिना न परिचय, थर न जात भष्मासुर बनेर हावाका भरमा देश-देशका गल्ली-गल्ली, चोक-चोक, धारा-पानी, पधेरो, अर्थात् जहाँ मानिसको बढी जमघट र भेटवार्ता हुन्छ, त्यही पर्खेर बसेको छ ।

यो कोरोनालाई सकेसम्म र भ्याएसम्म सबैसँग भेटघाट गर्नुछ र सबैलाई आफ्नो परिचय दिनुछ । कलियुगको यो पछिल्लो समयमा आइपुग्दा सबै कुरालाई फिका बनाउने एक अद्भूत शक्ति बोकेको कोरोना सबै जनका लागि प्रतीक्षालयमा भेटघाटको लागि पर्खिबसेछ ।

यो कोरोना कसैलाई पनि चिन्दैन तर पनि सबैसँग भेट हुने आशा र अभिलाषाका साथ तीव्र प्रतीक्षारत छ । कोरोनाले सबैसँग भेट गर्नकै खातिर कुनै मुलुक र राष्ट्रलाई छाडेन र बाँकी राखेन । यसले सबैको घमण्ड, अहंकार, आडम्बरी, चलाखी, बुद्धिजीवी, जासुसी, डनवाद, गनवाद, बलवान जो सुकैको पनि हावा फुस्काइदियो र तोवा-तोवा बनाइदियो ।

परिवार खान्छु भन्ने परिवारको हैकमवादलाई पनि यसले काप्ने बनायो । समाज निल्छु भन्ने सामाजिक लठ्ठेलाई पनि कोरोनाले आफ्नो दुबै हात पुर्पुरोमा राख्ने बनायो । शक्ति र संघर्षले सबैलाई परास्त गर्छु भन्ने जिद्दी र हठी नायकलाई पनि यसले दिसा-पिसाव छोड्ने बनायो । देशै निल्छु, जनता नै निल्छु भन्ने नेता, महानेता, अभिनेता, राजा-महराजा तथा राष्ट्र नायकलाई समेत पिँजडाको सुगा बनायो र कोठाको बन्दी कैदी बनायो ।

विश्व हाँक्ने र विश्वलाई आफ्नो मुठ्ठीभित्र राख्न चाहने विश्व हस्तीलाई समेत जमिनमुनि, पातालमुनि र भूमिगत भएर बस्नुपर्ने हो कि ? भन्ने योजना रच्न सिकायो । यतिबेला शक्तिसम्पन्न भएका जनशक्तिलाई आकाशमा भएका कुनै मंगल तथा चन्द्रमाजस्ता ग्रहमा बस्ती बसाएर सुरक्षित हुने रहर र कामना जागेको छ भने शक्ति नभएका सामान्य जनशक्तिका लागि जमिन खनेर खाल्डो पारेर सुरुङ बनार त्यसैमा पस्ने, बस्ने, धसिने र भासिने इच्छा जागेको छ ।

किनभने कोरोना सबैका लागि भेटघाटकै लागि मोहिनीको रुपमा यो सिंगो धर्तीमा अवतरित छ । कसैलाई थाहा छैन यसको उत्पत्तिको कारण र कर्म तर पनि यसले विश्वमा तर्साएको एकप्रकारको भयावह भने ज्यादै अद्भूत र भष्मासुर खालको नै छ ।

कोरोनाले् प्रत्येक व्यक्तिगत घर, नाम, थर, ठेगाना, जात, धर्म, लिंग, धर्म, सम्प्रदाय नचिने पनि यी सबै जनहरु जम्मा हुने, भेला हुने र आवत-जावत गर्ने मुख्य ठाउँलाई पहिचान गरे, बाटो कुरेर र बाटो बथानेर बसेको छ ।

यो स्थिति र परिस्थितिमा सबैले जान्ने र मान्ने भनेको यसको प्रतीक्षालयमा नपुग्ने नै हो । यसका लागि व्यक्तिगत, मनोगत, इच्छागत, स्वार्थगत, चाहनागत, कामनागत र दृष्टिगत कुराले मात्र भूमिका खेल्दैन र यत्तिले मात्र पुग्दैन । यसका लागि सिंगै मुलुक, सिंगै राष्ट्र र सिंगै देशको एउटा प्रभावकारी अभियान, योजना, भूमिका र रणनीति हुन आवश्यक छ ।

यतिबेला हाम्रो देश नेपालजस्तो कम विकसित र विकासोन्मुख देशमा राज्यसत्ता सञ्चालन गर्ने राष्ट्रप्रमुखका विशेष्गा गरी दुई आँखा तयार गर्नुपर्‍यो अर्थात् हिजो जो देखे र जो सोचे ती आँखाभन्दा निकै भिन्न र फरक भएर यो कोरोना कहरलाई परास्त गर्न र पराजय गर्न हाम्रा सरकारी आँखा परिणत हुनुपर्‍यो, जसमा दाहिने आँखा स्वास्थ्यको आँखा बन्नुपर्‍यो भने बायाँ आँखा कृषि र खाद्यान्नको हुनुपर्‍यो ।

स्वास्थ्यको आँखा भन्नाले यतिबेला रोग नै नलागेका जतिलाई रोगै लाग्न नदिने अभियान र संयन्त्र बनाउने हो । रोग लागिसकेका जनशक्तिलाई संक्रमणबाट बढी जोखिमपूणर् हुन नदिने र रोगसँग लड्न सक्ने क्षमता बृद्धि गर्ने अभियान र संयन्त्र निर्माण गर्ने हो । जो संक्रमणसहित बढी जोखिमपूणर् अवस्थामा छन् त्यस्तालाई शक्तिशाली राष्ट्रको सहयोग र सल्लाह लिएर भए पनि उनलाई मृत्युको मुखबाट फर्काउने एक दरिलो, भरपर्दो र विश्वासिलो आधार तयार पार्ने हो ।

मानिसको भेटघाट र भलाकुसारी कोरोनासँगै भए तापनि उसको भेटघाट भेटघाटमै सीमित रहोस् र उसले भेटेजतिलाई आफ्नो जीवनसाथी बनाउन नसकोस् । यसैका लागि हाम्रो सरकारले आफ्नो दाहिने आँखालाई स्वास्थ्यको आँखा बनाउनुपर्‍यो ।

दोस्रो आँखा खाद्यान्न तथा कृषिको भन्नाले यो रोग र संक्रमणको बेलामा कैयौं मानिस रोगका अलावा भोकको चपेटामा पर्ने कुरा निश्चित भएकोले यतिबेला प्रत्येक व्यक्ति, परिवार, छरछिमेक, समाज, नगर, जिल्ला, प्रदेश र संघका लागि आवश्यक पर्ने चामल, मकै, गहुँ, जौ, तोरी, कोदो, तरकारी, दाल, नून, तेल, फलफूल तथा दही, दूध, अण्डा, मासु, माछा सबैका लागि उचित प्रबन्ध वा आफै उत्पादन र्न सक्ने आत्मनिर्भरताको बाटो यथाशीध्र निर्माण गर्न लगाउने नै हो ।

यतिबेला मानिस-मानिसका बीच भौतिक दूरी कायम गर्नुपर्दछ र आफ्नो घरलाई नै सर्वस्व ठानी बस्नुपर्दछ भनिरहँदा सम्पूणर् उपभोग्य बस्तु आफ्नो खेतबारी तथा करेसाबारीमा उत्पादन नगरेर त सम्भव नै छैन । त्यसैले पनि यसका लागि सरकारले अभियान नै चलाएर भए पनि खेतीपाती, पशुपालन, तरकारीखेती तथा फलफूल खेतीका लागि चाहिने सम्पूणर् यन्त्र, तन्त्र, मन्त्र, जन्त्र, संयन्त्र, विधि, प्रविधि, प्राविधिक सबैको जोहो गरिदिनुपर्‍यो ।

हामी नेपाली कृषिमा मात्र पनि आत्मनिर्भर बन्न र हुन सक्यौं भने हाम्रा आधा समस्या हल हुनेछन् । किनभने आधा पेट खाएर र दाल, भात, तरकारी, चटनी, माछा, मासु, फलफूललगायत दही, दूध नै नखाएर यो रोगलाई जित्ने हामीसँग कुनै तागत, बल, शक्ति र सामथ्र्य हुने नै छैन । रोगसँग लड्नका्े लागि भोकलाई परास्त गर्नुपर्दछ र भोकलाई परास्त गर्न शरीरलाई चाहिने सबथोक बेला-बेला, पटक-पटक मेजमानी र पेटभरी खानु नै पर्छ ।

खाना नै नखाएर भौतिक दूरी कायम गर्ने र आफ्नो घरमा थुनिएर मात्र बस्ने हो भने जस्तोसुकै निरोगी मानिस पनि रोगको चपेटामा पर्न सक्दछ । तसर्थ राज्यको दुई आँखा यतिबेला अत्यन्त संवेदनशील हुन जरुरी छ र ती दुई आँखा अन्यत्र कतै पनि नहेरी र नदेखी केवल स्वास्थ्य र कृषिमा फोकस गर्न नितान्त अपरिहार्य छ । यदि यो बेला सरकारको ध्यान र दृष्टि केवल बन्दमा मात्र गयो भने हामी सधै बन्दीको कैदी र संक्रमित हुनेछौं ।