कोभिड डायरी  : आधा खुलेको चक्मेली खाजाघर

खेमराज रिजाल
दाङ, २३ भदौ । लगातारको पाँच महिना उसले जसो–तसो चलाएकी थिइन् । लकडाउन खुकुलो हुँदा चमेलीलाई उत्साह जागेको थियो । उसको खाजाघरमा काँक्रा छन्, सितनका रुपमा चाउमिन र सुकुटी पनि छ ।

रक्सी चाहेअनुसार नजिकैको डिलरबाट किन्छिन् । ग्राहक फर्काउनुपर्दैन उनलाई । किनकि उनको आयआर्जनको उपाय भनेकै त्यही खाजाघर हो । ‘कोरोना फोरोना मलाई मतलब छैन, मलाई भोकले मर्नु छैन, त्यसैले आज आधा सटर खोलेकी छु’, चमेलीले भन्दै थिइन् ।

चमेलीको सरकार कुन हो, चमेलीको व्यवसायी नेता कुन हो, चमेलीको वडाध्यक्ष कुन हो, उनलाई कुनै सरोकार छैन । तर श्रीमानले छाडेपछि उनी एकनासले व्यापार गरिरहेकी छिन् । सुरक्षाकर्मीलाई आफ्नो रोजीरोटीका विषयमा चुनौती दिन्छिन्, अनि ग्राहकहरुलाई सम्मान गर्छिन् । घोराहीको मुख्य बजारमा बसेर पनि एकल गुजारा हुने मेसो हुन्न भने म के गर्ने ?’ चमेली कड्किँदा ग्राहक समेत झस्केका थिए ।

स्थानीय सरकारले आधा दिन बजार खोल्ने निर्णय गरेपछि उसले त्यसको अनुशासन पालना गरेकी छिन्, त्यसैले उसले आधा सटर खोलेर व्यवसाय गरिरहेकी थिइन् । चाउमिन, सुकुटी, काँक्रा, रक्सी, त्यही परिकार उनकोमा छन् । आवश्यक परेर ग्राहकले मागे ब्रोइलरको मासु पनि भुटभाट गरिदिन्छिन्, त्यसवापत केही शुल्क लिन्छिन् । त्यसैले गुजारा चलेको चमेलीको परिवार ।

घोराहीकै अर्को मुख्य बजारमा पनि यस्तै परिदृश्य देखियो । खाजाघर आधा खुलेको थियो । भित्र पकौडा र समोसा बन्दै थियो । किनकि भोक लाग्नेहरु त आधा दिन पनि पनि आउँछन् नि । त्यसैले वाह्र बजे बन्द भएको थिएन, त्यो पसल । तर सरकारको नियम–कानुनलाई मानेको जस्तै अनुभूति हुन्थ्यो । पुरै सटर खुलेको थिएन । आधा सटर खोलेरै पनि उनकोमा जाने पाहुनाहरु गइरहेका थिए । पकौडा, समोसा बिकिरहेको थियो ।

साहुनीले उधारो माग्ने ग्राहकसँग मात्रै कड्किएकी थिइन्, ‘यस्तो आधा खुलेको बेला पनि उधारो, म दिन सक्दैन’, उसको आक्रोससँगै ग्राहकले खुरुक्क पैसा दियो । डेरी व्यवसायीहरु पनि यसरी नै खुलिरहेका छन् । जुत्ता–चप्पल व्यवसायीहरुले पनि च्यानल गेटबाट व्यापार गरिरहेका छन् । दाल–चामल र ग्यासको त विकराल समस्या भएकै छैन । तैपनि यहाँका पालिका प्रमुखहरुले कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकमा एक साता लकडाउन गर्ने सुझाव दिए ।

एक साताको निषेधाज्ञा त सकियो, तर आधा खुल्ने र आधा बन्द गर्नेगरी खुल्यो । त्यसैले अहिले होटल व्यवसायी एवं खाजाघरहरुले आधा सटर मात्रै खोलेका छन् । सायद यो उत्तम विकल्प हो । कम्तीमा भीडभाड त भएको छैन । अत्यावश्यक सामान चाहिनेलाई निषेधाज्ञाले कुनै असर गरेको छैन । व्यापार पनि रोकिएको छैन । तर निषेधाज्ञाको अर्थ कुनै पनि स्थानीय पालिकाले पुष्टि गर्न सकेका छैनन् ।

जनतालाइ रोगको भन्दा भोकको चिन्ता छ, विकास निर्माणका काम कम्तीमा बेरोकतोक शुरु भए पनि धेरै श्रमिकहरुले काम पाउने थिए । श्रमविनाको दैनिकीले धेरैलाई आपराधिक मानसिकतामा धकेलिरहेको छ भन्ने स्थानीय सरकारलाई कुनै हेक्का छैन । खोलामा उत्खनन् रोकिएको अवस्थामा पनि क्रसरमा अझै पनि अबैध माल बोकिरहेका छन् ।

लाग्छ, यहाँ चामल र आलु तरकारी बोक्नेको भन्दा पनि बाक्लो भीड कर छलीको चुनढुंगा एक उद्योगबाट अर्को उद्योगमा लाने र कर छलीकै मिस्कट क्रसर उद्योगमा लैजानेको बोलवाला छ । यस्ता साधनलाई रोक्न सरकारी निकाय मौन बसेको छ । चिया–पसल आधा खुल्ने, अरु गैरकानुनी व्यवसाय पुरै चल्ने कस्तो निषेधाज्ञा हो ? होटल व्यवसायीहरुले पनि जिज्ञासा राखिरहेका छन् । त्यसो त सरकारै आधा जस्तै छ, कहिले कसलाई कुन मन्त्रालय दिने त कहिले कसलाई कुन मन्त्रालय दिने भन्नेमा सरकार अलमलमा छ ।

स्वास्थ्य मन्त्रीकै परिवारमा कोरोनाको संक्रमण देखिएपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम आइसोलेसनमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यालय बालुवाटारबाटै सञ्चालनमा छ । मलको ठेक्का लिएका प्रचण्डका घरवेटीले किसानलाई एक बोरा मल पनि उपलव्ध गराउन नसकेर पटक–पटक म्याद थपको नाटक गरिरहेका छन् । यस्तो निकम्मा सरकारलाई यहाँका होटल व्यवसायीले किन टेर्ने र ? त्यसैले आधा बन्दमा आधा सटर मात्रै खुल्ला ।

हो, दाङमा संक्रमितको संख्या बढ्दै गएको भन्दै चौतर्फी नागरिक दबाव परेपछि एक साताका लागि निषेधाज्ञा आदेश जारी भएको हो । तर फेरि खुलाउने कि थप्ने भन्ने सवालमा पालिका प्रमुख नै कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकमै आएनन् ।

उनीहरुले अमूर्त निर्णय सिडिओलाई जाहेर गर्दै स्वविवेकमा निषेधाज्ञाको निर्णय गर्न भने । तर यसबीचमा कुन स्थानीय तहले कति परीक्षण ग¥यो ?, कतिलाई क्वारेन्टाइनमा राख्न सफल भयो ? अनि अस्पतालमा के–के सुविधा बढायो, बेखवर छन्, स्थानीय पालिका । त्यसैले आधा खुलेको निषेधाज्ञामा आधा सटर खोलेर चमेलीहरुले गुजारा गरिरहेका छन् ।