लोकराज अधिकारी
लक्ष्मीपुर(भकारे), भदौ २२ । घटना लगत्तैदेखि सुरक्षाकर्मी, सन्चारकर्मी र स्थानीयलाई प्रत्यक्षदर्शीका रुपमा घटना विवरण सुनाउदै आएका करिब १३/१४ बर्षका एक बालकले सोमबार बिहान केही सञ्चारकर्मिसङ्गको कुराकानीमा भने ‘अब त म पानी पनि छुन्न’ ।
घोराही ४ लक्ष्मिपुर भकारे स्थित गहिरो कृत्रिम जलाशयमा बिना कुनै सुरक्षा सामग्री दैनिक बाकटे हान्दै तालको कुना कुनासम्म पुग्ने उनलाई पानी पनि नछुने अबस्थामा पुराउने घटना हो गोग्ली निबासी गोपाल सुनार पौडि खेल्ने क्रममा बेपत्ता हुनु ।
सुनार आइतबार दिउँसोतिर केही साथी र आफ्ना दाजुसङ्गै उक्त जलाशयमा पौडिखेल्न पसेका थिए । पानीमा पस्नासाथ केही मिनेटमै उनी बेपत्ता भए । प्रहरी र सेनाको पौडिबाज टोलि साझसम्म खोजीमा जुटेपनी सफल हुन सकेन ।
घट्ना भएको २० घन्टा(यो खबर तयार पार्दासम्म) सुनार जलाशयमा बेपत्ता छन् । दाङमा निर्मित यस्ता धेरै कृत्रीम जलाशय छन्, जस्ले सम्बन्धीत ठाउँका स्थानीयको कृषिजन्य जीवनमा परिबर्तन र स्थानीय पर्यटन प्रबद्र्धधन गर्ने अपेक्षा गरिएको छ । तर पर्याप्त सुरक्षा प्रबन्ध र स्थानीयमा सचेतनाको अभावले यसप्रकारका घट्नाले मानवीय क्षती बढ्दै गएको देखिएको छ, जो चिन्ताको विषय हो ।
कृत्रिम जलासयमा डुबेर मान्छेको ज्यान गएको दाङको यो पहिलो घटना हैन । हिजो यो घटना हुनु पहिले एक हुल युबा पौडिखेल्ने केही सामग्री बोकेर लक्ष्मिपुर चोक अगाडिबाट हुँइकिदै गर्दा धेरैले एकै स्वरमा भनेका थिए-‘कुन ठाउमा मर्ने हुन ।’ त्यो समूहको युवाहरूलाई त केही भएन तर अर्को समूहका युबा बेपत्ता भएको खबर एकैछिनमा फैलियो ।
यो खबरसँगै सामाजिक दुरी कायम गर्नुपर्ने अबस्था, लकडाउनको पालना गर्नुपर्ने दायित्व सबै बिर्सेर १२/१५ सयको भिड जम्मा भयो भकारेमा । कसैले पौडिखेल्न जानेलाई गाली गरे कसैले जनप्रतिनिधिलाई । उनीहरुको भनाईको निश्कर्ष थियो-‘यस्ता जलाशयमा कडा सुरक्षाका प्रबन्ध गरिनु पर्छ ।’ हुन त त्यहाँ काडेतार, जाली लगायतका छेकबार नगरिएको मात्र हैन, खतराको जनाउ लेखिएका होर्डिङबोर्ड पनि राखिएका छन् ।
तर ती प्रभाकारी सुरक्षा कवच किन हुन सकेनन ? मान्छेमा डर र चेतनाको कमि हो त ? त्यहाँ उपस्थितहरूको छलफलका बिषय यस्तै थिए ।
ती बालकले ‘अब त म पानी पनि छुन्न’ भन्ने प्रण गर्नु उनको मनैबाट जागेको सचेतनाको संकेत हो । उनकै अगाडि एक युवक पानिमा पस्यो, केही बेरा हातसम्म देखियो, बिस्तारै हात पनि डुव्यो अनी बेपत्ता । यो दृष्य संझदै र सुनाउँदैगर्दा उनी अत्यन्त्र त्रसित देखिन्थे । पुरै ताल पौडेर चक्कर लगाउने उनी भन्दै थिए, ‘अब त पानी पनि छुन्न ।’
स्थानीयमा यस्तो सचेतना जाग्ने हो भने यस्ता घट्ना नदोहोरिन सक्छन । तर यस्ता कृत्रीम जलाशय बस्तीका बीचमा पनि छन । जलासयका किनारैबाट मानवबस्ती प्रबेश गर्ने सससाना गल्लीहरू पनि छन्, जस्का कारण जोखिम हरबखत संघारमै उभिएको छ ।
तसर्थ यसप्रकारका कृत्रिम जलाशयको सुरक्षा, बस्ती र जमिनको सुरक्षा, अनि सम्भाबित मानवीय क्षती हुनै नदिनका लागि स्थानीय सरकार तथा सम्बन्धित निकायले छिट्टै र छुट्टै योजना बनाएर अघि नबढ्ने हो भने बारम्बार यस्ता दुखद घटना दोहिरिन सक्छन् ।
ती बालकले त आँखै अगाडी कल्पना नगरेको दृश्य देखेपछि पानी पनि नछुने संकल्प गरे । सबैले त्यसै गर्छन् भन्ने छैन । कुन्ती मोक्तानले गाएको एउटा गीतको अंश छ :
काँडेतारको बार लाए’नि मेरो यात्रा रोकिन्न…..।
असुरक्षित, गहिरा ती कृत्रिम जलाशयमा पौडिन खोज्नेलाई काँडेतार र जालीले मात्र रोक्दैन । यो कुरालाई केन्द्रबिन्दूमा राखेर सोच्न बिलम्ब गर्न नहुने प्रतिक्रिया भकारे दूर्घटनाका प्रतक्ष्यादर्शीहरूले व्यक्त गर्दै थिए ।