म तिम्रो समर्थन मैं छुँ ?

मनोज पौडेल

बिज्ञानले ‘हरेक कृयामा बिपरित तर बरावर प्रतिकृया हुन्छ’, सामाजिक बिज्ञानले आक्रोस र पीडा धेरै भए जतिबेला जहाँ जस माथि पनि पोखिन सक्छ भन्छ । बिचमा केही समय खुकुलो भए पनि लामो समयदेखि लकडाउन चलेकै छ, निशेधाज्ञा जारी नै छन् । रोगले भन्दा भोकले मर्ने चिन्ता सर्व साधारणलाई भै सक्यो ।

तराईमा निर्दोष जनता प्रहरीद्वारा कुटिए, काठमाण्डौं हुल्लड भिडद्वारा निर्दोष प्रहरी निर्घात कुटिए, दुबै कुराहरु घृणित छन् र यस्ता अपराधहरूमा सम्लग्न सबैले कानुन बमोजिम हदै सम्मको सजाय पाउनु पर्छ भन्ने मेरो बुझाई हो । कतिपय अस्पतालहरु सिल गरियो, गरिएको छ, केही अस्पतालहरूमा ओपिडी सेवा बन्द गरिएको थियो र केहीमा अझै सुचारु छैन ।

सायद यही आक्रोश थियो कि, जुन बिभिन्न स्थान बिशेषहरुमा पोखियो, यि ती हरेक कृयाले उत्पन्न गराएका आक्रोश पोखिएका हुन् कृया विपरितको प्रतिकृया… । आक्रोस जे सुकै कारणले होला तर यसरी अमानवीय, चेतनशुन्य अपराधीक मानसिकताका भएकालाई कानुन बमोजिम हदै सम्मको कारवाही होस् , त्यो देख्न र सुन्न पाईयोस ।

आक्रोस पोख्नको लागि बिभिन्न मञ्चहरु छन, तरिकाहरु छन त्यहाँ पोखे भयो त । यस किसिमका असामाजिक गतिविधी हुनमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न सबैलाई पनि कानुनी दायरामा ल्याउनु पर्छ र कठघरामा उभ्याउन सक्नु पर्छ।

मैले हिजोको दिनमा लकडाउन तथा निसेधाज्ञा जरुरी किन छ, कुन अवस्थामा खोल्न सकिन्छ भन्दै आइरहेको कुरा हो तर संक्रमणको अवस्थालाई न्युनिकरण गर्न, परिक्षणको दायरा बढाउन, भौतिक संरचना निर्माण, जनशक्ति परिचालन तथा बिकास तथा अत्यावश्यकीय कार्यका लागि सरकार लगभग मौन रह्यो जसको कारण कोरोना समुदायमा फैलिसक्यो, नेपाल सरकार र स्थानीय सरकारहरुको रवैया जसको तस छ ।

के यस अवस्थामा अझै पनि लकडाउन जरुरी छ त? यदि छ भने आर्थिक चुहावट तथा अनियमितताका लागि त हैन? आम मानिस आज यही सोचि रहेका छन । हुनेले त खाला नहुनेले के गर्ने सरकार? नागरिक संरक्षण तिम्रो दायित्व र कर्तव्य होइन, तिमी जिम्मेवार छैनौं ? यी कुरा तिमिलाई याद छैन भने, घाँस खाने नै रैछौ सबै भन्ने हामीलाई लागेको छ ।

हिजोको र आजको अवस्था फरक छ । भित्री गल्लीहरु खचाखच छन्, मर्निङ वाक र इभिनिङ वाक भन्दै मानिसहरु मास्क घाँटीमा झुण्ड्याएर हिडिरहेका छन्, चोकका चिया पसल र होटलहरुमा भिडभाड छ, चौतारी, प्रतिक्षालायमा कति मानिस गफ चुटेर बसिरहेका छन्, प्रहरीको गाडी ओहोर दोहोर गर्छ, ड्युटिमा खटिएका प्रहरी हिडराखेका छन् तर केही वास्ता नै छैन । तर पनि सडक सुनसान छ, कोरोना मानिसबाट मानिसमा सर्ने हो, सडकबाट सर्दैन ।

आजको दिनमा यी र यस्तै प्रकारका दृष्यहरु देखिने हुन भने निशेधाज्ञा र लकडाउन जरुरी छैन यो खोलिनु पर्छ, निर्वाध काम गर्न पाउनु पर्छ । तर स्वास्थ्य मापदण्ड र सावधानीका कुराहरुमा कडाई भने अनिवार्य छ । काम गर्न, बाँच्न, खान र परिवार पाल्न त पाउनु पर्यो नि । हेरेर मर्नु भन्दा छेरेर मरेकै जाती भन्ने लाग्छ मलाई त ।

नेपालमा पहिलो कोरोना संक्रमण देखिए देखि आज सम्म कोरोनाको कारण मर्नेको संख्या भन्दा आत्महत्या गर्नेको संख्या धेरै छ, मानसिक स्वास्थ्य सुधारका लागी सचेतना र पैरवीका कुरा लगभग शुन्य समान छ । यातायात ठप्प छ, दुर(गराजमा सामान्य औसधोपचारको कमी भैसक्यो, उनीहरु बिरामी पर्दा के गर्ने, कहाँ जाने?

अहिले सामाजिक सञ्जालहरुमा एउटा बहस चलेको छ, त्यो हो लकडाउन र पिसिआर टेस्ट किन भन्ने सन्दर्भमा । केही बिज्ञ डाक्टरहरुले सामाजिक सञ्जाल तथा युट्युब मार्फत पिसिआर टेस्ट गरिरहनु जरुरी छैन यसले राज्यको ढुकुटी मात्र सिध्याएको टिप्पणी गर्नु भएको छ ।

केही अनुसन्धानहरुले वास्तविक रुपमै कोरोनाको कारणले मृत्यु हुनेको संख्या अति नै न्युन भएको जनाएका छन् जु कुरा हामीले गुगल सर्च गरेर सजिलै हेर्न र पढ्न सक्छौं । तर पनि यसलाई यति ठूलो हाउँगुजी किन बनाईदैछ? मैले बुझ्न सकेको छैन ।

वैयक्तिक रुपमा भन्दा मैले कोरोना (कोभिड-१९) सम्बन्धी २\४ वटा अनलाईन कोर्सहरु गरेको छु, बिभिन्न आर्टिकलहरु पढेको छु, जुन कुरा पढदै गर्दा मैले बुझेको कुरा के हो भने यो एक सामान्य रोग हो । वैयक्तिक र घरायसी सरसफाईमा बिशेष ध्यान दिने, सामाजिक दुरी कायम गर्ने, भिडभाड तथा जमघटमा नजाने जानै परे अनिवार्य मास्को प्रयोग गर्ने र उच्च सावधानी अपनाउने हो भने खासै डराउनु पर्ने अवस्था छैन ।

कोरोनाबाट जन स्वास्थयको रक्षा गर्ने, उनीहरुलाई सुरक्षित गर्ने त हो तर यो संगसंगै अन्य रोग ब्याधी पनि त छन ती रोगहरुबाट पनि बच्नु पर्यो र बचाउनु पनि पर्यो। यसको बारेमा कसले र कहिले सोच्ने ? यो समयमा लकडाउन कै कारण दुर्गम भेगमा कति आमाहरुलेले प्रसव बेदनामै ज्यान गुमाउनु परेको होला, कति बाल-बालिका कु-पोषणको शिकार भएका होलान, कतिले त ज्वरो आउँदा सिटामोल र पखाला लाग्दा जीवनजल पनि पाएका छैनन होला, कतिले यही कारण मृत्युवरण पनि गरेका होलान, अनुमान गर्न सकिन्छ । यस कुरामा अलिकति बढी चासो दिने कि?

म यो कुरा किन पनि गर्दै छु भने आखिर कहिले सम्म त लकडाउन? यसको कुनै परिधी त हुनु पर्यो नि । परिधी छैन भनेको होइन छ तर सरकारले ती परिधी निर्माणको लागी काम गरेन, गरेको देखिएको पनि छैन। जनतालाई यसरी गास, बास, कपास, स्वास्थ्यसेवा को अभावमा त्रसित गरेर मर्न दिनु भन्दा त, सरकार स्वतन्त्र भएरै मर्न दिएको राम्रो होइन र ?

सरकार ! तिमिले यस बिषम परिष्थितीमा देख्न, अनुभव गर्न र सम्बोधन गर्न नसकेका एक भकारी सम(सामयिक सन्दर्भहरुमा मैले एक नागरिकका हैसियतले सचेत गराएको हुँ, आक्रोस पोखेको हुँ, जिम्मेवारी बोध गराउन खोजेको हुँ, अझै एक-दुई भकारी बाँकी नै छन्, विस्तारै भन्दै गरौंला । मैले यी कुरा भन्दै गर्दा तिमी अलिकति संयम भएर, बिबेकशिल कदम, योजना तथा निती लिन्छौ की भन्ने अभिप्राय हो मेरो ।

यो वैश्विक महामारीको सवालमा म तिम्रो पक्ष मै छुँ, समर्थन मै छुँ । लकडाउन र निशेधाज्ञा जरुरी नै छ, तर यसको प्रकृती, डिजाइन र दाहेरा फरक अवश्य हुन सक्छ, त्यसमा बिचार गर्ने की ! यदी भोलिको दिनमा लकडाउन पूणर्रुमा खोल्न पर्छ भने पनि जनस्वास्थ्य सुबिधा र औसधोपचारको ग्यारेन्टी गर्न सक्ने भए मात्र खोल्नु पर्छ, होइन भने यही अवस्था मै हामी चित्त बुझाउने नै छौं ।

अर्को कुरा के पनि हो भने जब सम्म हामी जनता अनुशासित, नैतिकवान र मर्यादित रहदैंनौ तब हामीमा सरकारलाई औंला उठाउने अधिकार पनि छैन । यस बिषम परिस्थितीको जिम्मेवार जति सरकार छ त्यती हामी पनि छौं । श्री अम्बिकेश्वरी भगवतीले हामी सबैको कल्यान गरुन ।