दाङ, १८ भदौ । लमही कोइलाबास सडक खण्ड अन्तर्गत सडकभित्र पर्ने संरचना हटाउने तयारी गरिएको छ । सडक फराकिलो बनाउनका लागि सडकभित्र पर्ने संरचना हटाउन लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको संयोजकमा नौ सदस्यीय समिति गठन गरिएको छ ।
विहिवार बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले नगर प्रमुख केसीको संयोजकमा समिति गठन गरिएको हो ।
समितिका सदस्यहरुमा लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासे, लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा प्रवक्त बिमबहादुर केसी, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रतिनिधि रतन केसी, नेपाली कांग्रेस पार्टीका प्रतिनिधि कर्णबहादुर बुढाथोकी, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि बमबहादुर केसी, राष्ट्रिय जनमोर्चा नेपाल प्रतिनिधि दिलिप खनाल, जनता समाजबादी पार्टीका प्रतिनिधि किशोर घर्ती मगर, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ र लमही चम्वर्स अफ कमर्सका अध्यक्ष अजय न्यौपाने सदस्य रहेका छन् ।
बैठकले लमही कोइलाबास सडक खण्डमा पर्ने संरचनाहरुको मुअव्जा तथा क्षतिपूर्तीका लागि पहल गर्ने भएको छ । त्यसका लागि समितिको पहलमा संघीय तथा प्रादेशिक जनप्रतिनिधिहरुको अगुवाईमा संघीय सरकार समक्ष डेलिगेशन जाने निर्णय गरेको छ ।
त्यस्तै लमही नगरपालिकामा बसेको बैठकमार्फत गठित समितिले लमही कोइलाबास सडक खण्डको डिपिआरलगायत अन्य कागजात अध्ययन गरि निर्माण भएका संरचना व्यवस्थापन गर्ने सम्बन्धमा सरोकारवालाहरुलाई सूचित गर्न कानुन बमोजिम सुचना जारी गर्ने निर्णण गरेको हो ।