केन्द्रीय कारागारका तीन कैदीको मृत्यु,एक जनामा कोरोना संक्रमण

काठमाडौं, १६ भदौ । सुन्धारास्थित केन्द्रीय कारागारका तीन जना कैदीको मृत्यु भएको छ।

मृत्यु भएका मध्य ४० वर्षीय एक जना पुरूष कोरोना संक्रमित भएको जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् । उनका अनुसार तीन कैदीलाई भदौ १० गते कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनको सोमबार राति मेघा अस्पतालमा मृत्यु भएको हो।

त्यस्तै अन्य दुई जना ६० वर्षीय र ६४ वर्षीय पुरूषको मंगलबार बिहान वीर अस्पतालमा मृत्यु भएको हो। तीमध्ये एक जनाको कोरोना रिपोर्ट भदौ ५ गते नेगेटिभ आएको थियो भने अर्का व्यक्तिको स्वाब परीक्षणको लागि पठाइएको छ।

ु‘एक जना संक्रमितको हिजो मृत्यु भएको थियो। अरू दुई जनाको आज मृत्यु भएको हो’–जेलर बाँस्कोटाले भने–‘उनीहरू तीनै जना बिरामी थिए ।’

बाँस्कोटाका अनुसार संक्रमित पुरूषमा छारे रोग, मुटु र मानसिक समास्या थियो। त्यस्तै ६० र ६५ वर्षीय पुरूष पनि मुटु र दमको रोगी थिए। केन्द्रीय कारागारमा अहिलेसम्म ५२ जना कैदीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।