दाङमा विपद्बाट करिब दुई करोडको क्षति

दाङ, १२ भदौ । दाङमा चार महिनाको अवधिमा प्राकृतिक विपद्बाट करिब दुई करोडको क्षति भएको छ ।

जिल्लाका दश पालिकाहरुका विभिन्न स्थानमा आगलागी, पहिरो, करेन्टलगायतका घट्नाका कारण साउनसम्म करिब दुई करोडको क्षति हुन पुगेको हो ।

बैशाखदेखि साउन महिनासम्म चार महिनाको अवधिमा प्राकृतिक विपद्का कारण एक करोड ८० लाख ९१ हजार चार सय ४० रुपैयाँ बराबरको क्षति भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचनाकर्ता अजेन्द्र केसीले जानकारी दिएका छन् ।

उनका अनुसार चार महिनाको अवधिमा सबैभन्दा धेरै क्षति साउन महिनामा मात्रै एक करोड ४ लाख ५४ हजार एक सय ५० रुपैयाँ बराबरको क्षति भएको छ ।

जुन अन्य महिनाको तुलनामा अत्यधिक धेरै क्षति हो । अन्य महिनाहरुको तुलनामा साउन महिना बाढी, पहिरो, सर्पदंशलगायतका प्राकृतिक विपद्का घटनाहरु धेरै हुने भएकाले पनि क्षति बढेको केन्द्रले जनाएको छ । साउनमा महिनामा पहिरो, वर्षातका कारण घर भत्किएका, करेन्ट, आगलागी, सर्पदंशले टोकेका ६३ वटा घटनाहरु घटेका छन् ।

केन्द्रका अनुसार साउनमा भारी वर्षातका कारण घरगोठहरुमा भएको क्षतिसम्बन्धी ३३ वटा घट्नाहरु रहेका छन् । यसैगरी सर्पदंशका १५ वटा, पानी डुबी मृत्यु भएका ९ वटा, करेन्ट लागेका ३ वटा र आगलागीका एकवटा घटनाहरु भएका छन् । यसैगरी असारमा ४५ लाख ८७ हजार २ सय ९० रुपैयाँको क्षति भएको केन्द्रका सूचनाकर्ता केसीले जानकारी दिए ।

केन्द्रका सूचनाकर्ता केसीका अनुसार असारमा १९ वटा विपद्का घट्नाहरु भएका थिए । यसैगरी प्राकृतिक विपदका कारण जेठ महिनामा १३ लाख ५० हजार र बैशाख महिनामा ८ लाख रुपैयाँ बराबरको क्षति भएको केन्द्रले जानकारी दिएको छ । प्राकृतिक विपद्क जेठ महिनामा ८ वटा र बैशाख महिनामा ६ वटा घटनाहरु घटेका छन् ।