नारायणप्रसाद श्रेष्ठ
सामाजिक सुसंस्कृतिसँगै मानव जीवनलाई सहज गति दिन शिक्षा अनिवार्य आवश्यकता मानिन्छ । शैक्षिक वातावरणबाट नै मानव जीवनले उत्कृष्ट कर्म र व्यवहार सिकिरहेको हुन्छ । नैतिकताको जग बलियो भई शिक्षा लिने र दिने दुबै क्षेत्र उत्तिकै जिम्मेवार भएर प्रस्तुत हुने वातावरण सिर्जना भएको हुन्छ । ज्ञानको ज्योति फैलाउने पहिलो दिव्य चक्षु भनेकै शैक्षिक क्षेत्र हो ।
त्यसैले लगनशीलता र सेवाभावमा समर्पित जीवनचक्रलाई शिक्षाको उज्यालो घामबाट रापिन दिनुपर्दछ । सामाजिक उत्प्रेरक र संस्कारी बनाउने उत्तम विकल्प शिक्षा भएकाले यसको गुणात्मक पक्षलाई प्राथमिकता दिई समय र परिस्थितिअनुकूल सामाजिक, शैक्षिक वातावरण बनाउन सबै एकमत हुनुपर्दछ ।
प्रेम र आपसी विश्वासको धरातललाई कसिलो बनाउँदै लोककल्याणकारी राज्य व्यवस्थाको आधारशीला तयार गर्न तथा आचरण र व्यवहारमा उत्कृष्टता प्रदर्शन गर्न शिक्षा क्षेत्रको गहिरो अध्ययन र विश्लेषण गरी यसको व्यावहारिक पक्ष र मौलिक पक्षसमेतलाई सुदृढ गर्न जरुरी रहेको हुन्छ । अहिले राज्य कोरोना सन्त्रासले त्रसित छ । शैक्षिक वातावरण धर्मराउँदो अवस्थामा छ ।
कलिला बच्चाहरु शिक्षाको उज्यालो घामबाट वञ्चित रहेको अवस्था देखिँदैछ । यस्तो विषम परिस्थितिमा राष्ट्रनिर्माणको सूत्रधार भोलिको उज्यालो भविष्य श्रृष्टिको नयाँ पालुवालाई गुणात्मक शैक्षिक वातावरणमा लैजान उचित दिशानिर्देश गर्न सबैको जिम्मेवारी बढेको छ ।
भौतिक उन्नतिले ल्याएको परिवर्तनले वर्तमानमा मानिसको आकांक्षामा असीमित चाहनाहरु प्रतिविम्वित भइरहेका छन् । सामाजिक पर्यावरणमा नयाँ-नयाँ विचारहरु प्रभावित भइरहेका छन् । संस्कार र संस्कृतिमा परिवर्तन भइरहेको छ । प्रवृत्तिको विकाससँगै भौतिक विज्ञानले ल्याएको परिवर्तनले विश्वलाई साँघुरो घेरामा राखिरहेको अवस्था छ ।
वर्तमान अवस्थालाई हेर्ने हो भने विचारको दौडमा मानवीय चेतना एकअर्कालाई उछिन्ने होडबाजीमा तछाडमछाड गरिरहेको अवस्था छ । ज्ञान र सीपको माध्यमबाट आफूलाई अब्बल दर्जा दिलाउन नयाँ खोज र अनुसन्धान पनि भइरहेका छन् । प्रकृतिलाई आफूअनुकूल बनाउन र वातावरण आफ्नो पक्षमा पार्न सबै लागिपरेको अवस्था छ ।
आध्यात्मिक सत्यभित्र लुकेको सत्यको यथार्थ पहिचान हुँदाहुँदै पनि प्राकृतिक सत्यलाई फेरबदल गर्न मानिसले आफ्नो बुद्धि र विवेक प्रयोग गरिरहेका छन् । समयको गतिसँगे अघि बढेको जीवनचक्रभित्र देखापर्ने प्राकृतिक सत्यलाई फेरबदल गर्ने धृष्टतासमेत गरिँदैछ ।
सशक्तरुपले अघि बढ्दै गरेको मानवीय आकांक्षा र परिपूर्ति गर्ने विविध उपायहरु अवलम्बन पनि भइरहेका छन् । यतिमात्र होइन, सृष्टिको इतिहासमा देखिएको गतिशीलतालाई उछिन्ने प्रवृत्तिको विकासमा होडबाजी नै चलेको छ । शिक्षाको विकासले ल्याएको परिवर्तनसँगै मानिसका व्यवहार र आचरण पनि परिमार्जित अवस्थामा देखिँदैछन् ।
यसरी शिक्षाको विकासले ल्याएको परिवर्तनलाई हेर्ने हो भने यो विचित्र ढंगले अगाडि बढिरहेको पनि देखिन्छ । साथै विचारमा भएको परिवर्तन तथा शिक्षाको विकासले ल्याएको परिवर्तनले ज्ञान, सीपको प्रचुर मात्रामा विकास भए पनि यससँगै विनाशका कुराहरु पनि निर्माण भइरहेका छन् ।
उत्पत्ति हुने, नष्ट हुने प्राकृतिक सत्यको यथार्थ पहिचान हुँदाहुँदै पनि सृष्टिको विनाश हुने प्रवृत्ति पनि आविष्कार भइरहेका छन् । यतिमात्र होइन, शैक्षिक गतिविधिबाट सिर्जना हुने सकारात्मक पक्षको साथै नकारात्मक विचारहरु पनि प्रशस्त मात्रामा सलबलाइरहेका छन् ।
शिक्षालाई भविष्यको उज्यालोसँग हेर्ने दृष्टिकोणभित्र स्वार्थ र अहंकारसमेत प्रदर्शित भइरहेको छ । शिक्षाले नयाँ विचार त उत्पन्न गर्यो, साथसाथै अविश्वास र स्वार्थचिन्तन पनि देखा पर्दै जान थाल्यो । यसरी शिक्षाले सामाजिक परिवेशमा परिवर्तन त ल्यायो साथै सिर्जनाका नयाँ खोज र अनुसन्धानले विनाश पनि त्यत्तिकै निम्त्याउँदै आयो ।
आफू र आफ्नो स्वाभिमान र अस्तित्वसमेतलाई चुनौती दिँदै नैतिक जग कमजोर हुँदै पनि गयो । शिक्षाले जुन किसिमले ज्ञानको सद्भाव बढाउँदै लग्यो, त्यसरी नै हाम्रो रहन-सहन, बसाई-उठाई र हेर्ने दृष्टिकोणमासमेत व्यापक फेरबदल गराउँदै लग्यो ।
यसरी शैक्षिक वातावरणले ज्ञान, सीप र क्षमताको विकासका साथै सामाजिक सुसंस्कृति र संस्कारमासमेत व्यापक फेरबदल हुन पुग्यो । आध्यात्मिक ज्ञान र भौतिक ज्ञान सँगै बढ्नुपर्ने अवस्थामा भौतिकवादी चिन्तनमात्र परिवेशअनुकूल हुन गई परिस्थितिले अर्कै मोड पनि लिने अवस्था देखापर्यो । जसको फलस्वरुप सामाजिक संस्कृति र संस्कारमा संकुचन ल्याउने परिस्थिति सिर्जना हुन पुग्यो ।
नैतिकता र व्यावहारिक शिक्षा प्रणालीमा तादाम्य नहुनाले विचारमा साँघुरोपन हुन थाल्यो । पौराणिक शिक्षा प्रणाली र नयाँ जनशक्तिले चाहेको ज्ञान, सीप र व्यवहारमा तादाम्य मिल्न सकेन फलस्वरुप परिस्थिति जटिलतातर्फ अग्रसर हुँदै गयो । त्यसैले यस अवस्थामा नैतिक र व्यावहारिक ज्ञान, सीप बढाउने शिक्षा प्रणालीको विकास गर्न र समय परिस्थितिअनुकूल शैक्षिक वातावरण बनाउन अब सबैको काँघमा जिम्मेवारी बढेको छ । शिक्षाको गुणस्तरीयतासँगै ज्ञान,
सीपबाट उत्पन्न विकृतिलाई हटाई मर्यादित शिक्षा प्रणालीतर्फ अब सबै जुट्नुपरेको छ । शिक्षालाई संख्यात्मक होइन, गुणात्मक प्रतिभा जागृत हुने शैक्षिक वातावरण बनाउनुपरेको छ । जबसम्म व्यावहारिक र सीप विकासतर्फ ज्ञानज्योति फैलाउने वातावरण बन्दैन तबसम्म शिक्षा क्षेत्रले गुणात्मक फड्को मार्न सक्दैन ।
यस कुरालाई गम्भीर भएर चिन्तन गर्नु जरुरी छ । तसर्थ समय र परिस्थितिको आँकलन गरी रोग प्रतिरोधात्मक क्षमताको विकास गर्न प्रकृतिमा रहेको सत्यलाई स्वीकारी अघि बढ्नुपर्ने समय आएको छ । सामाजिक दूरी कायम गर्दै विद्यार्थीको मनोबल उच्च राख्ने किसिमले इन्टरनेटको प्रयोग गरेर हुन्छ वा होम-ट्यूशनको व्यवस्था गरेर हुन्छ, सुषुप्त हुन थालेको बच्चाको मनोविज्ञानलाई जागृत गर्नुपरेको छ ।
अभिभावक स्वयं शिक्षक बनी बच्चाहरुको भविष्य निर्माणमा दत्तचित्त भएर लाग्नुपरेको छ । समय यही खोजिरहेछ । यसरी आज समयले हाम्रो जिम्मेवारी बहन गर्ने परिस्थिति सिर्जना गरेको छ । शिक्षक, व्यवस्थापक, सरकार, अभिभावक स्वयंलाई चुनौती पनि दिइरहेको छ । तसर्थ यस अवस्थामा समय र परिस्थितिलाई बुझी तथा बच्चाको भविष्यलाई समेत ख्याल गरी सबैले जिम्मेवारी निभाउनुपरेको छ र चुनौतीलाई स्वीकार गरी अघि बढ्नुपरेको छ ।