कोभिड-१९ को माहामारीका कारण हाल शैक्षिक सत्रहरु सबै प्रभावित भएका छन् । एसइइको परीक्षा आउन एक दिन बाँकी रहँदा चैत ११ गते लकडाउन भयो । त्योसँगै कक्षा ११, १२ र विभिन्न परीक्षाहरु स्थगित भए । त्योसँगै शैक्षिक सत्र २०७७/७८ पनि प्रभावित भयो । शैक्षिक सत्र शुरु भएको पाँच महिना बितिसक्दा पनि पढाई सुरु हुन सकेको छैन । करिब-करिब आधा शैक्षिक-सत्र खेर गैसकेको अवस्थामा अबको बाँकी समयमा पनि शैक्षिक सत्र खेर जान नदिने उपायहरु छन् । कक्षाको पाठभार घटाउने, कुनै पनि विदाको एक दिन पनि खेर नफाल्ने र अभिभावकले पनि घरमै स्वअध्ययनको भूमिका निर्वाह गर्न सके दशैपछि कक्षा सञ्चालन भए पनि शैक्षिक सत्र खेर फाल्नबाट जोगाउन सकिने तर्क एन प्याव्सनका जिल्ला अध्यक्ष विमल गौतमले पस्कन्छन् । तर यसका लागि सरकार, निजी विद्यालय संगठन र अभिभावकको त्रिपक्षीय भूमिकाको अपेक्षाले मात्र यो सम्भव हुने बताएका छन् । यसै सन्दर्भमा निजी क्षेत्रको लगानीबाट सञ्चालन भएका विद्यालयहरुको भावी योजना, अबको रणनीति, शिक्षकहरुको पारिश्रमिक र विद्यालयको अवस्था तथा शैक्षिक गतिविधिबारे एन प्याव्सन दाङका अध्यक्ष विमल गौतमसँग गोरक्षकर्मी बालाराम खड्काले गरेको कुराकानीको सारसंक्षेप…
स्वागत छ तपाईलाई साता वार्तामा ?
धन्यवाद बालारामजी, तपाई अनि तपाईको लोकप्रिय पत्रिका गोरक्ष राष्ट्रिय दैनिकलाई म, मेरो विद्यालय सम्राट इंगलिस स्कुल र मैले नेतृत्व गरेको एन प्याब्सन दाङको तर्फबाट समसामयिक विषयमा शिक्षा जस्तो महत्वपूणर् बिषयमा आफ्नो धारणा राख्ने अवसर दिनुभएको मा ।
अहिले के गर्दै हुनुहुन्छ ? बिद्यालयहरु लामो समयदेखि बन्द छन् कस्तो प्रभाव परेको छ विद्यालयहरुमा ?
अहिले विश्व नै कोरोना भाइरस (कोभिड-१९) ले ग्रस्त छ । यसैको कारणले गर्दा नेपालमा पनि विगत ०७६ साल चैत ११ गतेदेखि लकडाउन भएको थियो । बीचमा केही दिन श्रावण १ देखि भाद्र २ गतेसम्म अलि खुकुलो भए पनि अहिले देशका ३५ बढी जिल्ला र अन्य धेरै स्थानीय तहहरुमा निषेधाज्ञा जारी रहेको अवस्था छ । यसले गर्दा यो वा त्यो केही भन्ने अवस्था छैन, सबै क्षेत्र प्रभावित भएका छन् । कैयौ मानिसहरुको आम्दानीको स्रोत गुमेको छ । हजारौ मानिसहरु भोकभोकै मर्ने बेला भएको छ ।
बिगत ६ महिनादेखि सबैखाले काम-धन्दा पूणर् तथा आंशिकरुपमा बन्द भएका छन् । यसरी हेर्दा धेरै क्षेत्रमा नोक्सानी भएको छ । तर पनि सबैभन्दा धेरै प्रभावित भएको क्षेत्र भनेको निजी बिद्यालयहरु नै हुन् भन्ने हामीलाई लागेको छ । निजी बिद्यालयहरुको एकमात्र आम्दानीको स्रोत भनेकै बिद्यार्थीबाट उठने शुल्क मात्र हो । बिद्यालयका सबै खाले खर्च शुल्कबाटै पूर्ति गर्नुपर्ने हुन्छ तर ६ महिनादेखि बिद्यालय बन्द हुँदा स्वयं सञ्चालकहरु र त्यसमा आश्रित शिक्षक, कर्मचारीहरुको घर खर्चसमेत धान्न धौ-धौ भइसकेको अवस्था छ ।
यस्तो अवस्थामा पनि सरकारी स्तरबाट कुनै राहतको प्याकेज नदिनु भनेको हाम्रो लागि दुर्भाग्य हो भन्ने लागको छ । तर पनि हामी आशावादी छौ । चाँडोभन्दा चाँडो विद्यालयहरु खुल्नेछन्, भन्नेमा । अहिले पनि अधिकांश निजी विद्यालयहरुले विभिन्न माध्यमबाट बालबालिकाहरुलाई सिकाउने र उनीहरुलाई सकेसम्म व्यस्त राख्ने प्रयास गरिरहेका छन् ।
अबको रणनीति तपाईहरुको कस्तो हुन्छ ?
अबको रणनीति बनाउने भनेको सरकारले हो । अविलम्व सरकारले शैक्षिक सत्र कहिलेदेखि कहिलेसम्म गर्ने भनेर तोक्ने हो । सकेसम्म आर्थिक वर्षसँग मिलाउँदा उपयुक्त हुन्छजस्तो हामीलाई लाग्छ । अब पुरानो शैक्षिक सत्र वैशाखदेखि चैतसम्मले काम गर्दैन । र यदि सरकारले नयाँ शैक्षिक सत्र तोक्यो भने हामीले सोहीअनुसारको रणनीति बनाउने हो ।
अहिलेको यस्तो महामारीको अवस्थामा अब शिक्षा क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने कुराका बारेमा नेपाल सरकार शिक्षा मन्त्रालय अलि बढी चिन्तित हुनुपर्ने हो । तर हामीले त्यस्तो अवस्था देखेनौ किनभने सरकारले भाद्र १ गतेदेखि बिद्यार्थी भर्ना खुल्ला गर्ने भन्ने निणर्य पछिल्लो अवस्थामा आएर संक्रमण बढेको भनेर अनिश्चित समयसम्म भनेर स्थगित गरेको छ ।
बालबालिकाहरुलाई कसरी शिक्षण सिकाई क्रियाकलापमा लगाउने भन्ने कुनै विकल्प नदिएर अनिश्चित समयसम्म बन्द गरिनु आफैमा लज्जास्पद हो जस्तो मलाई लाग्दछ । अहिले टिभी, रेडियोलगायतबाट गराउँदै आएको पठन-पाठनसमेत सरकारले कुनै विकल्प नदिएर बन्द गरेको छ । त्यसैले सरकारले अविलम्व शिक्षण सिकाईका लागि कस्तो विधि अवलम्वन गर्ने ? धेरै भन्दा धेरै बालबालिकाहरुलाई कसरी शिक्षण सिकाईका क्रियाकलापमा जोड्न सकिन्छ भन्ने बिषयमा छलफल गरेर निकास निकाल्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।
शिक्षा मन्त्रालयसँग करिब-करिब १०-११ अर्ब बजेट छ, कोभिडका कारण बजेट खर्च हुन सक्ने अवस्था छैन तर पनि विद्यार्थीहरुलाई नेटको पहुँचमा ल्याउने, बिद्यालयहरुमा डिजिटल ईक्युपमेन्टहरु उपलव्ध गराउने कुरा गर्न सकिन्थ्यो, जसले गर्दा ग्रामीण क्षेत्रका बालबालिकाहरुसमेत नेटको पहँुचमा आउन सक्ने थिए र अनलाईन माध्यमबाट पठन-पाठन गर्न सहज हुने थियो ।
यो शैक्षिक सत्रलाई कसरी अगाडि बढाउने सोचमा हुनुहुन्छ ?
निश्चितरुपमा यसअघिका वर्षजस्तै गरी यो शैक्षिक सत्र अगाडि बढ्दैन । अहिलेसम्ममा हामीसँग वैशाखलाई भर्ना अभियानको महिनाको रुपमा लियौ भने पनि जेठ, असार र श्रावण महिना गरी झण्डै ३ महिना बितिसक्यो । यो वर्ष महामारीका कारण बिषम वर्ष पनि हो । यस्तो अवस्थामा अन्य देशहरुले गरेका राम्रा अभ्यासहरु के हुन सक्छन् ।
त्यसलाई पनि हामी सबैले अध्ययन गर्नुपर्छ । असोज महिनाबाट पनि हामीले विद्यालयहरु सञ्चालन गर्न सक्यौ भने सहजैरुपमा विदाहरु कटौती गरेर अहिलेकै पाठ्यक्रम अनुसार अगाडि बढ्न सक्छौ भन्ने हामीलाई लागेको छ । यदि असोज महिनाबाट पनि विद्यालयहरु सञ्चालन हुने अवस्था भएन भने निश्चित रुपमा पाठ्यक्रममा हेरफेर गरेर बाँकी रहेको समयसम्ममा सकिने खालको पाठ्यक्रम बनाएर भए पनि शैक्षिक सत्र खेर जान दिनु हुँदैन भन्ने हाम्रो भनाइ छ ।
विद्यालयमा कक्षा सञ्चालन नभए पनि कसरी विद्यार्थीहरुको पढाईको निरन्तरता तथा सुपरिवेक्षण गर्नुभएको छ ?
विश्वमा फैलिएको यो कोरोना भाइरसले हामीलाई धेरै कुरा सिकाएको छ । यसअघि हामीले नगरेका धेरै अभ्यासहरु यो बेलामा गरेका छौं । हामी विद्यालय सञ्चालकहरुसमेत त्यसमा अभ्यस्त नभएको अवस्थामा अहिले स्वयं हामी र हाम्रा बालबालिकाहरु जुम, गुगल मिटलगायतका विभिन्न एपहरु सहजैरुपमा चलाउन सक्ने अथवा ती एपहरुको माध्यमबाट पढ्न र पढाउन सक्ने भएका छौं ।
निजी बिद्यालयहरुकै सक्रियतामा देशैभर अनलाइन कक्षाहरु हामीले शुरु गरेका छौ । राज्यले पटक-पटक कहिले बन्द गर्न त कहिले चलाउन भन्छ । काम गर तर शुल्क नउठाउन भन्छ तर पनि हामी विचलित भएका छैनौ बरु जिम्मेवार भएर अगाडि बढेका छौं, अनलाइन कक्षालाई निरन्तरता दिएका छौं । हाम्रै सक्रियतामा यसअघि महंगो पैसा तिर्न बाध्य भएका बालबालिकाहरुलाई मासिक ३ सय रुपैयाँमा पढ्न सक्ने गरी एनसेल कम्पनीसँग सहकार्य गरेर कम्पनीले सहुलियत प्याकेजसहितको सिम बजारमा ल्याएको छ । त्यसका अलावा हामीले सरकारको निर्देशनअनुरुप घरदैलो गरेर गृहकार्य दिने, स्कुलमा बोलाएर गृहकार्य दिने, टोल-टोलमा सिकाई केन्द्रहरु बनाएर पढाउने लगायतका अभ्यासहरु गरेर भए पनि शिक्षण सिकाईका क्रियाकलापहरु गर्यौ ।
तर पछिल्लो समय आएर हाम्रो देशमा पुनः संक्रमणको दर बढेसँगै अहिले अनलाइन कक्षाबाहेकका अन्य गगिविधिहरुमा कमी आएको छ । र हामीलाई आशा छ अब चाँडै नै संक्रमण घटेर जाने छ र हामीले भौतिकरुपमै उपस्थित भएर पठन-पाठन गराउने छौं भन्ने लागेको छ ।
यो शैक्षिक सत्र अगाडि बढला ?
बढ्छ र बढाउनै पर्छ । अन्यथा देशभरका कक्षा नर्सरी शुरु गर्ने साना-साना नानीबावुहरुदेखि लिएर युनिभरर्सिटीहरुमा अध्ययन गर्ने लाखौ बिद्यार्थीहरुको भविष्य अन्योलमा हुन्छ । उनीहरुको भविष्यलाई खेर जान नदिन एक वर्षको उमेर सँगसँगै अवसरहरुलाई खेर जान नदिन पनि कुनै न कुनै रुपमा भए पनि शैक्षिक सत्र अगाडि बढाउनै पर्छ र बढ्छ भन्ने मलाई लाग्दछ ।
मैले माथि पनि भने कि शैक्षिक सत्रको समयलाई हेरफेर गरेर हुन्छ वा पाठ्यक्रमलाई छोट्याएर हुन्छ जसरी भए पनि शैक्षिक सत्र खेर जान दिनुहुँदैन भन्ने हाम्रो भनाइ हो । यदि त्यस्तो अवस्था आयो भने त्यसले नेपालको शिक्षा प्रणालीलाई नै समाप्त पार्ने छ । त्यसको परिपूर्तिका लागि हामीले फेरि धेरै वर्ष लाग्नुपर्ने हुन सक्छ । त्यसका लागि पनि सरकारले तत्काल अब नयाँ शैक्षिक वर्षको कार्यक्रम घोषणा गर्नुपर्छ भनेर हामीले शिक्षा मन्त्रालयलाई भनेका छौं ।
विद्यालय खुलेमा कसरी पढाउने सोचमा हुनुहुन्छ ?
अबको बिकल्प भनेकै सरकारले कोरोना नियन्त्रणमा अलि बढी ध्यान दिनुपर्यो । तपाई हामी सबैलाई थाहा छ ४ महिनासम्मको लकडाउनमा कोराना नियन्त्रणमा सरकारले अपेक्षाकृतरुपमा कुनै काम गर्न सकेन जसको परिणाम हामीले अहिले भोगिरहेका छौ । अहिले पनि आशातित रुपमा परिक्षणको दायरा बढाउने आइसोलेसन, क्वारेन्टाइनहरु बनाउनेलगायत स्वास्थ्यसँग सम्बन्धित अन्य तयारीहरु गर्नुपर्यो अनि मात्र हामीले चाँडोभन्दा चाँडो यसलाई नियन्त्रण गर्न सक्छौ । यदि यसो हुन सक्यो भने चाँडोभन्दा चाँडो विद्यालयहरु खुल्नेछन् । यदि विद्यालयहरु खुले भने कोर्ष पूरा गर्नका लागि हामीले माथि नै धेरै विकल्पहरुका बारेमा छलफल गरिसकेका छौं ।
अब कहिले विद्यालय सञ्चालन हुन्छन् ?
यो प्रश्नको उत्तर त तपाई, म, स्वयं शिक्षा मन्त्रालय र आम जनता कसैसँग पनि छैन । तर पनि हामी आशा वादी छौं । सरकार अलि बढी कोरोना नियन्त्रणमा लाग्ने छ र चाँडै नियन्त्रणउन्मुख हुनेछ । अनि विद्यालयहरु पनि चाँडोभन्दा चाँडो खुल्नेछन् भन्नेमा हामी बिश्वस्त छौं ।
शिक्षकहरुलाई तलवको व्यवस्था कसरी गर्नुभएको छ ?
निजी बिद्यालयहरुको प्रमुख आम्दानीको स्रोत भनेकै विद्यार्थीहरुबाट उठ्ने शुल्क नै हो । शैक्षिक सत्र २०७६ को वार्षिक परीक्षा तोकिएको समय सिमाभन्दा अगावै गर्ने बाध्यता हामीमाझ आइपर्यो, त्यसैले हामीले फागुन अन्तिम साताबाटै वार्षिक परीक्षा गर्नुपर्ने भयो । त्यसैले हामीले अभिभावकहरुबाट उठाउने गत वर्षको शुल्क समेत उठाउन पाएनौ अहिले पनि लाखौं रुपैयाँ बाँकी रहेको अवस्था छ । तर पनि हामीले आफ्नो दायित्व निर्वाह गर्नुपर्छ भन्ने हेतुले भएकाले आफै र नभएकाले ऋण लिएर भए पनि सबै बिद्यालयहरुले चैत्र महिना सम्मको पारिश्रमिक आफ्ना शिक्षक, कर्मचारीहरुलाई बुझाई सक्नु भएको छ ।
त्यसपछि महिनाको पारिश्रमिक भनेको सरकारले दिनुपर्छ भन्ने हाम्रो माग हो । किनभने हामीले सरकारलाई वार्षिकरुपमा अर्बौ रुपैयाँ कर तिरेका छौं । के सरकारको यो दायित्व होइन र ? आफ्ना नागरिकहरुलाई समस्या पर्दा केही सहुलियत वा राहत दिनुपर्दैन र ? अर्को बिकल्पको रुपमा हामीले सरकारसँग सहुलियत दरमा हामीलाई ऋण उपलब्ध गराईयोस् भनेका पनि छौ तर सरकार हाम्रो कुरा सुन्दैन । तर पनि केही निजी बिद्यालयहरुले आफ्ना शिक्षक कर्मचारीहरुलाई केही न केही रुपमा सामान्य खर्चको व्यवस्थापन भने गरिरहनुभएको छ ।
यदि यस बर्ष शैक्षिक सत्रमा पढाई भएन भने कसरी व्यवस्थापन गर्नुहुन्छ ?
सम्भवत यस्तो परिस्थितिको सिर्जना हुने छैन र नहोस् भन्ने नै हो । तर पनि अझै लामो समय यस्तै अवस्था रहिरह्यो भने यस बिषयमा हाम्रो अभिभावकीय निकाय शिक्षा मन्त्रालय, एन प्याव्सन, प्याव्सन र समग्र शिक्षासँग सरोकार राख्ने व्यक्तिहरुले छलफल गरेर लाखौ बिद्यार्थीहरुको भविष्य नबिग्रने गरी सोच्नेछन् भन्ने लाग्छ ।
अन्तमा केही भन्नु छ ?
हामी सबै कोरोना भाइरसले निम्त्याएको बिकराल समस्यासँग जुधिरहेका छौ । यस्तो बिषम परिस्थितिले मुलुकका सबै क्षेत्र अस्त-व्यस्त भएका छन् । तर पनि हामी सबै आशावादी हुनुपर्छ । चाँडै हामीले कोरोना भाइरसलाई नियन्त्रण गर्न सक्ने छौ र पहिलाजस्तै नियमित जनजीवनमा फर्कने छौ । यो बिषम परिस्थितिमा अनावश्यकरुपमा भीडभाड नगरौ, स्वास्थ्य सुरक्षाका सम्पूणर् नियमहरुको पालना गरौ । खासगरि वृद्धवृद्धा आमावुवाहरु, दीर्घरोगीहरु, स-साना नानीबावुहरुलाई अलि बढी सुरक्षित राख्नका लागि हामी सबै लागौ ।
अन्त्यमा बिद्यार्थीहरुको पहिलो पाठशाला भनेकै घर हो, पहिलो गुरु अनेकै बाआमा हो त्यसैले यस्तो परिस्थितिमा घरमा नानीबावुहरुको अलि बढी निगरानी गर्न, स्वअध्ययन गर्ने वा कुनै न कुनै कुरामा व्यस्त राख्नका लागि अहम् भूमिका निर्वाह गर्न आम अभिभावकज्यूहरुलाई आग्रह गर्दछु । यदि यस्तो गर्न सक्यौ भने हामी सुरक्षित हुनेछौ र बालबालिकाहरुले पढेको कुराहरु बिर्सने पनि छैनन् । साथसाथै फेरि पनि गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवार र तपाईलाई धेरे धेरै धन्यबाद दिन चाहन्छु । धन्यबाद