रिहार–नारायणपुर–होलेरी सडकका लागि एक करोड बजेट

लिलाधर वली
दाङ । दाङको नारायणपुरलाई दणिणमा महेन्द्र राजमार्ग र उत्तरमा होलेरीसँग जोड्ने गरि सडक निर्माणका लागि संघीय सरकार भौतिक पूर्वाधार मन्त्रालयले यसबर्ष एक करोड रुपैया बिनियोजन गरेको छ । तराई मधेश सडक पूर्वाधार कार्यक्रम अन्तर्गत बिनियोजन गरेको बजेटबाट विग्रिएको सडक खण्डमा मर्मत संहारसँगै सडकलाई उत्तर र दक्षिण होलेरी जोड्ने गरि ट्रयाक निर्माणलाई प्राथमिकता राखेर काम गरिने भएको सडक डिभिजन कार्यालय दाङका प्राविधिक सवइन्जिनियर नारायण दाहालले जानकारी दिएका छन ।

निर्माणको क्रममा रहेको सो सडकक्षेत्रको प्रदेशसभा सदस्य अमरबहादुर डाँगीसहित उक्त सडक पर्ने वडाका वडाअध्यक्षहरुसहितको प्राविधिक टोलीले दाङको हापुरदेखि रोल्पाको होलेरीसम्मको केही खण्डमा निरिक्षण गरेको समेत बताए । ‘सरकारले छुट्याएको बजेटबाट कसरी सडक निर्माण गर्न सकिन्छन भनेर जनप्रतिनिधिसहितको टोलीले पहिलो चरणमा उत्तरी क्षेत्रको अनुगमन गरेका छौँ’,प्राविधिक दाहालले भने,‘यहि हप्ताभित्रै उत्तरी क्षेत्रमा पर्ने तुईखोलादेखि पूर्वपश्चिम जोड्ने महेन्द्रराज मार्गसम्मको पहाडलाई निरिक्षण गरेपछि कसरी काम गर्ने भन्ने टुङगो लाग्नेछ ।’

पहिलो चरणमा हापुर, कात्तिकेहुँदै सासखर्कसम्मको सडक र रोल्पा जिल्लाभित्र पर्ने सडक खण्डको अनुगमन गर्दा पहिलो प्राथमिकता विचमा पर्ने पहाडमा सडकको ट्रयाक खोल्नुपर्नै नेखिएको प्राविधिक दाहालले बताए । उनका अनुसार रोल्पाको होलेरी र दाङको नारायणपुरलाई सडक सञ्जालसँग जोड्नका लागि दाङको सासखर्कदेखि रोल्पा जिल्लाको नव प्राविसम्म करिव साढे चार किलोमिटर सडकको पहाडमा सडकको ट्रयाक खन्नुपर्ने देखिएको छ ।
त्यस्तै दक्षिणी क्षेत्रमा तुईखोलादेखि देउखुरीको रिहार जोड्नलाई पनि करिव पाँच किलोमिटर पहाडमा नयाँ ट्«याक खन्नुपर्नेछ ।

रिहार–होलेरीलाई जोड्नकालागि उक्त सडक खण्डमा करिव नौदेखि दश किलोमिटर सडक खण्डको पहाडी क्षेत्रमा सडकको ट्रयाक निर्माण गर्नुपर्ने देखिएको प्राविधिक दाहालले बताएका छन । तर यो बर्ष बजेट कम बिनियोजन भएका कारण पुरै ट्रयाक खन्न नसकिने भएको छ । ‘ दाङको रिहार र रोल्पाको होलेरीलाई जोड्नका लागि अझै नौ किलोमिटर सडकको ट्याक खोल्नुपर्ने देखिन्छ, त्यो काम पहाडमा गर्नुपर्ने भएकाले बजेट पनि धेरै लाग्छ’,प्राविधिक दाहालले भने,‘यसबर्ष एक करोड बजेट छ, भ्याट काट्दा ८४ लाख रुपैँया बच्छ, त्यही रकमबाट हामीले काम गर्ने हो ।’ प्राविधिक दाहालका अनुसार उक्त सडकमा नयाँ ट्रयाक निर्माणसँगै कतिपय ठाउँमा हेमपाइप राख्नुपर्ने रहेको समेत बताए ।

देउखुरीको रिहार र रोल्पाको होलेरीलाई जोड्ने बैकल्पीक मार्गका रुपमा रहेको उक्त सडक निर्माण भएपछि सडक क्षेत्रका स्थानीयलाई सहजतासँगै नारायणपुर क्षेत्रको समृद्धिमा महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ । बर्षौदेखि पहिलेदेखि उक्त सडक खण्डको कुरा उठ्ने गरेपनि बजेट अभावका कारण सडकको ट्रयाक नै खोल्न सकिएको छैन । उक्त सडक निर्माण भएपछि दाङ र रोल्पालाई जोड्ने बैकल्पीक मार्ग समेत बन्नेछ । अहिले सहिदमार्ग अन्तर्गत घोराहीको बाह्रकुने दह, दुईखोलीहुदै रोल्पाको होलेरी जोड्ने एक मात्र सडक रहेको छ ।
फाइल फोटो