Goraksha

National Daily

दाङमा एक बर्षमा ४२ बालिका बलात्कृत

लिलाधर वली
दाङ,२ पुस । २०७६ साल असोज ४ गते तुलसीपुरकी ११ वर्षीय बालिका बलात्कामा परिन । उनका काका भन्नेले दाजुको घरमा गएको वेला ति बालिकालाई बलात्कार गरेको भन्दै पीडित परिवारले असोज ८ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी गरे । अभियोग लागेको उनका काकालाई प्रहरीले असोज १० गते नै प्रक्राउ समेत गरेको थियो ।

तर बलात्कार अभियोग लागेको उनलाई जिल्ला अदालतले नाबालक भएको भन्दै कार्तिक ३ गते परिवारको जिम्मा लगाएको थियो । परिवारको जिम्मा लगाएको उक्त मुद्दा अझै विचाराधिन छ ।
त्यस्तै २०७६ असोज २ गते आठ बर्षीय बालिकालाई पश्चिम दाङको बबई गाउँपालिकामा बलात्कारमा परिन । उनलाई बबई गाउँपालिका–७ निवासी ६० बर्षीय गोविन्द शर्मा आचार्यले बलात्कार गरेको भन्दै असोज ७ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिएका थिए ।

आफन्तीको घरमा पाहुना पर्न गएकी बालिकालाई घरसम्म पु¥याईदिने भन्दैसगै लिएर आउँदै गर्दा आर्थिक प्रलोभन देखाएर आचार्यले बालिकालाई बलात्कार गरेका थिए । प्रहरीमा उजुरी परेपछि अभियुक्त आचार्य अहिले फरार छन । यी त प्रतिनिधि मुलक पात्र हुन । पछिल्लो समय बर्सेनी दाङमा बलात्कारका घट्ना बढ्दै गएको इन्सेक दाङको तथ्याङकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले नेपाल मानवअधिकार बर्ष पुस्तक २०२० का लागि संकलन गरेका घटनाहरुको बार्षिक पूर्व समिक्षा कार्यक्रममा प्रस्तुत गरेको तथ्याङकले जिल्लामा बर्सेनी बलात्कारका घट्नाहरु बढ्दै गएको र त्यसमा अधिकास बालिका नै परेका छन् ।

इन्सेकको तथ्याङक अनुसार दाङमा यो बर्ष ६९ वटा बलात्कार तथा बलात्कारका प्रयासका घट्नाहरु भएका छन । जसमा ७९ जना महिलाहरु पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङका जिल्ला प्रतिनिधि जे.एन. सागरले जानकारी दिएका छन । उनका अुनसार ६९ जनामा ४२ जना बालिकाहरु रहेका छन । गतबर्ष ५१ वटा बलात्कार तथा बलात्कारका प्रयासका घट्नाहरु जिल्लामा घटेका थिए । पाँच बर्षका बालिकादेखि ४५ बर्षका महिलाहरु यो बर्ष बलात्कृत भएका छन ।

बलात्कारमा ५५ बर्षीय वृद्ध समेत सहभागी भएको इन्सेकको प्रतिवेदनमा उल्लेख गरिएको छ । बलात्कारका घट्नामा ससुरा, शिक्षक, प्रहरी, दाजु, भाई, भान्जा,छिमेकीहरुको संलग्नता हुने गरेको तथ्याङकले देखाएको छ । यो बर्ष जिल्लामा २ सय २४ वटा मानवअधिकार उल्लघनका घट्नाहरु मध्य सवैभन्दा धेरै कुटपीटका ५३ वटा घट्नाहरु जिल्लामा घटेका छन । ५७ जना पीडित भएका छन । गत वर्ष १ सय ५१ मानवअधिकार हन्नका घटना भएका थिए । यसैगरि मानवबेचविखन तथा ओसारपसारका ४ घट्ना, बोक्सी आरोपका तीन वटा , नागरिक बेपत्ता सम्वन्धी १ वटा , दुव्यवहार सम्वन्धी ८ वटा , अपहेलना सम्वन्धी २२ वटा , आगजनी सम्वन्धी ३ वटा , आस्थाका बन्दी सम्वन्धी २२ वटा , बन्द–हडताल–तालाबन्दी सम्वन्धी १५ वटा , उपचारमा लापरवाही गरेका चार वटा घट्ना घटेका इन्सेका जिल्ला प्रतिनिधि सागरले जानकारी दिएका छन ।

त्यस्तै अपहरणका तीन,आत्महत्या दुरुत्साहनका दुई वटा, भ्रुण हत्याका तीन वटा, हत्या प्रयास,जातिय विभेद, ज्याला ठगी,बम विस्फोट,बहुविवाह,घरनिकालाका १–१ मा गरि जिल्लामा सन २०१९ को बुधवारसम्म २ सय २४ घट्ना घटेका छन । जसमा दुई सय ५० जना पीडित भएको इन्सेक जिल्ला प्रतिनिधि सागरले जानकारी दिएका छन । २०१९ जनवरीदेखि नोभेम्वर १८ गतेसम्म जिल्लामा घटेका घटनाहरु समावेश गरेको छ ।

मानवअधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्माको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बर्सेनी मानवअधिकार उल्लघ्नका घट्नाहरु बढ्नु दुखद भएको मानवअधिकार उल्लघनका घट्नामा पीडितलाई न्याय दिलाउनकालागि राज्य नै अग्रसर हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल, नेपाली कांग्रेस दाङका जिल्ला सचिव शंकरप्रसाद डाँगी, नेकपा दाङका सचिवालय सदस्य विवेक श्रेष्ठ, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, महिला मानवअधिकार रक्षक सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्य, जिल्ला कारागार घोराहीका जेलर बिष्णु पाण्डेय, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक देवेन्द्र
मल्ललगायतले मन्तव्य व्यक्त गरेका थिए । इन्सेकका जिल्ला कार्यक्रम संयोजक बिनोद केसीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला प्रतिनिधि जे.एन. सागरले गरेका थिए ।