घरमा पहिरो खस्यो, आमा छोरीको मृत्यु, १४ परिवार विस्थापित

दाङ,१४ साउन । दाङमा पहिरोमा पुरिएर २ जनाको ज्यान गएको छ।

जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ साकिने भन्ने स्थानमा बुधबार बिहान करीव ३ बजेतिर घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिएका छन्।

घरमाथिबाट खसेको पहिरोले पुर्दा साकिनेकी २४ वर्षीया बाटुली नेपाली र उनकी २ वर्षीया छोरी आयुष्मा नेपालीको ज्यान गएको गाउँपालिका अध्यक्ष वलीले पुष्टि गरे।

घरमा रहेका ५ परिवारमध्ये अन्य ३ जना भने सकुशल रहेका छन् । सो घरमा मृतक बाटुकीका सासु, ससुरा र जेठाजु बस्दै आएका थिए। भुईतला मात्रै रहेको सो घरको उत्तर तर्फ सुतेका आमा छोरीको ज्यान जाँदा दक्षिण तर्फ सुतेका अन्य ३ जना भने बाँच्न सफल भएका छन्।

यसैबीच गाउँपालिका अध्यक्ष वलीले मृतकको शव पुरिएको स्थानबाट निकालिएको बताए। पहिरो पीडित परिवारलाई अहिले सुरक्षित स्थानमा लगेर राखिएको उनको भनाई छ। जिल्लाको घोराही बजारबाट करीव ३७ किलोमिटर पूर्व उत्तरमा सो घटना भएको हो।

बंगलाचुली गाउँपालिका पहाडी भेग भएकाले सो स्थानका अधिकांश बस्ती अहिले पनि पहिरोको उच्च जोखिममा रहेका छन्। केही दिनयताको लगातारको वर्षातका कारण बंगलाचुलीका अधिकांश स्थानका बस्ती पहिरोको उच्च जोखिममा परेका हुन्।

पहिरोको जोखिम बढेपछि १४ घर बिस्थापित बंगलाचुली गाउँपालिका वडा नम्बर ७ ढावाका अधिकांश बस्ती पहिरोको जोखिममा परेपछि त्यहाँ बस्दै आएका १४ परिवार बिस्थापित भएका छन् । वर्षाका कारण जमीनबाट पानीको मुल फुट्न थालेपछि माटो बगाउने, घरमाथिको ढिस्को तल झर्न थालेपछि घर नै उच्च जोखिममा परेपछि स्थानीय ठाउँ छाडेर अन्यत्र बस्न बाध्य भएका छन्।

गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले वडा नम्बर ७ को ढावाका १४ परिवारलाई सो स्थानबाट उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए। उनका अनुसार ती परिवारका केही सदस्यलाई सामुदायिक विद्यालयमा र केहीलाई अन्य सार्वजनिक भवनमा राखिएको छ।

पहिरोको उच्च जोखिममा परेका अधिकांश बस्तीहरुमा विकास निर्माणका काम, घरमाथिबाट डोजर लगाएर बाटो खन्ने काम नभएको पनि उनले बताए। सामान्य अवस्थामा रहेका बस्तीहरुमा पहिरोका बढी जोखिम देखिएको छ। पहिरोको जोखिम बढ्दै गएपछि आई पर्न सक्ने थप जोखिन न्यूनीकरणका लागि विपद व्यवस्थापन समितिसँगको सहकार्यमा सतर्कता अपनाइएको उनले बताए।

फाइल फोटो