गाडी पार्किङ गर्ने स्थानको टुंगो छैन

बालाराम खड्का
तुलसीपुर, ८ साउन । जिल्लामा ‘ह्वील लक’ अभियान शुरु भएको छ, तर गाडी पार्किङ कहाँ गर्ने स्थानको भने टुंगो नै छैन । बजारभरि नो पार्किङ छ, सडकको छेउछाउमा साना गाडी मोटरका लागि बनाएका निशानीहरु भरिभराउ नै हुन्छन् ।

सेवाग्राहीहरुलाई गाडीहरु कहाँ राख्ने भन्ने समस्या छ । यसको विकल्पमा नत स्थानीय सरकार छ नत सरोकारवालाहरु नै । विभिन्न समयमा यस विषयमा यातायात व्यवसायी र सरोकारवालाहरुबीच छलफल हुन्छ तर त्यसको विकल्प भने खोज्ने काम हालसम्म पनि भएको छैन् ।

‘साँधुरा सडक त्यसको छेउछाउमा पार्किङ, ती पनि बिहानै भरिभराउ हुन्छ, हामीहरुले गाडी पार्किङ कहाँ गर्ने समस्या छ ? स्थानीयवासी रमेश वलीले भने । काम विशेषले एकछिन सडकमा मोटरसाइकल रोक्यो सिठ्ठी बजाउँछन्, पार्किङ गर्ने स्थानको टुंगो छैन । यसका लागि स्थानीय सरकार तथा सरोकारवालाहरुले चासो देखाउनुपर्ने र पार्किङस्थल व्यवस्थापन गर्नुपर्ने पोषण बुढाले बताए ।

‘अव्यवस्थित पार्किङको विकल्प खोज्नुपर्छ होइन भने यो अभियान पनि त्यति सार्थक हुने छैन’, उनले भने- ‘यस विषयमा कुनै पनि स्थानीय सरकारले गम्भीररुपमा चासो दिएका छैनन् ।’ पसल अगाडि गाडी पार्किङ हुन्छ, यसले दुर्घटनाको जोखिम त बढेको छ, त्यसका साथै हाम्रो व्यापार व्यवसायमा पनि प्रत्यक्ष असर परेको व्यवसायी माधवकुमार केसीले बताए ।

‘यो समस्या जिल्लाभर छ, यसले गर्दा स्वयं नियम कार्यान्वयन गराउनेलाई पनि समस्या छ’, उनले भने ।

प्लानिङविनाका शहर र गाडी मोटरहरु अत्यधिक वृद्धि हुँदा पनि यो समस्या आएको यातायात व्यवसायीहरु बताउँछन् ।

यातायात व्यवसायी प्रकाश भट्टले यसमा स्थानीय सरकार तथा सरोकारवालाहरुले उचित विकल्प खोज्नुपर्ने बताए ।

‘काठमाडौमा यति गाडीहरु गुड्छन् पार्किङ पनि व्यवस्थित छ यहाँ पनि अलिकति टेक्निक अपनाउने हो भने समस्या समाधान हुन्छ’, उनले भने- ‘गाडी पार्किङ गर्ने स्थानको टुंगो नहुने हो भने ‘ह्वील लक’ अभियान शुरु गरेर मात्र समस्या समाधान हुँदैन ।’

अन्य शहरहरुमा वित्तीय, ठूला-ठूला पसलहरुले स्वयं पार्किङको व्यवस्थापन गर्ने गरेका छन् । त्यस्तै स्थानीय रुपेश वलीले अभियान राम्रो भए पनि यसको दीर्घकालीन विकल्प सबैले खोज्नुपर्ने बताए ।

त्यस्तै पैदल यात्रुहरुले पनि सडकैभरि गाडीहरु पार्किङ हुँदा आवत-जावतमा समस्या हुने गरेको गुनासो गरेका छन् । विशेषगरी वृद्ध, अपांग, बालबालिका र दृष्टिविहीनहरु जथाभावी पार्किङले गर्दा समस्यामा पर्ने गरेका छन् ।

यसैबीच सडकबाट हेभी सवारी साधनहरु हुँइकाउने गरेका कारण पनि समस्या हुने गरेको स्थानीयहरु बताउँछन् । उनीहरुले यसको वैकल्पिक बाटो खोज्नुपर्ने बताउँछन् । ‘पार्किङ समस्यासँगै हेभी गाडीहरु पनि मूल सडकबाट गुड्दा समस्या छ’, स्थानीय भोला थापाले भने ।

जिल्लामा ट्राफिकले ‘ह्वील लक’ अभियान शुरु गरेसँगै तुलसीपुरमा पनि अभियान शुरु गरिएको छ । सडक मिचेर अव्यवस्थितरूपमा पार्किङ गरेका सवारी साधनलाई ट्राफिक प्रहरी तुलसीपुुरले ‘ह्वील लक’ अभियान शुरु गरेको छ ।

तुलसीपुरमा उक्त अभियान बुधवारदेखि शुरु गरिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले बताए । सवारीमा ‘ह्वील लक’ गरेपछि चलाउन पनि नमिल्ने र त्यसको साँचो ट्राफिक प्रहरीसँग रहनेछ ।

अव्यवस्थित पार्किङ गरिएको सवारीमा ‘ह्वील लक’ गरेपछि सम्बन्धित सवारी धनीले राजश्व नबुझाउँदासम्म नखोलिनेसमेत उनको भनाइ छ । सडक मिचेर पार्किङ गर्ने कार्यको न्यूनीकरण हुनेसमेत प्रमुख केसीको भनाइ छ ।