Goraksha

National Daily

क्षयरोग निवारणका लागि सचेतना आवश्यक

दाङ, २९ असार । क्षयरोग निवारणका लागि सचेतनामा जोड दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

क्षयरोग निवारण संस्था दाङले सोमवार घोराहीमा आयोजना गरेको सरोकारवालाहरुसँगको चौमासिक समन्वयात्मक बैठकमा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । सबैलाई सचेत गर्न सके मात्र रोग निवारण गर्न सकिने उनीहरुको भनाइ रहेको थियो ।

कतिपय नागरिक क्षयरोग आफूमा भए पनि बाहिर निस्किन नसकेको उनीहरुको भनाइ रहेको थियो । त्यसका लागि सरोकारवालाहरुले हरेक टोल–टोलमै पुगेर लगत लिनुपर्ने बताएका थिए ।

दाङमा क्षयरोग निवारणका लागि संस्थाले विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेको उल्लेख गर्दै संस्थालाई पनि बलियो बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले संस्थालाई टिकाइ राख्न आवश्यक सहयोगका लागि आफूहरुले सहयोग गर्ने समेत बताएका थिए ।

संस्थाका अध्यक्ष खिमलाल डाँगीको अध्यक्षता भएको कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेल, घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, सामुदायिक वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदी, डा. कृष्णराज डिसी, संस्थाका सल्लाहकार चतुरमान डाँगी लगायतले भनाइ राखेका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव लालबहादुर आरसीले गरेका थिए ।