नेत्रलाल अभागी बुहउद्देश्यीय रंगशालाको लागत ३ अर्व

दाङ,२७ असार । दाङमा अहिलेसम्मकै बृहत तथा अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माणको काम अघि बढाइएको छ । जिल्लाको घोराही उपमहानगरपालिका–१६, करौतीडाँडामा प्रदेश सरकारको विशेष लगानीमा नेत्रलाल अभागी फुटबल रंगशाला निर्माणको काम शुरु गरिएको हो ।

करिव ८५ विगाहा क्षेत्रफल रहेको क्षेत्रमा बनाउन लागिएको उक्त परियोजना निर्माणको कुल अनुमानित लागत करीव ३ अर्ब अनुमान गरिएको छ ।

शनिबार उक्त परियोजनाको बिस्तृत परियोजना प्रतिवेदन सार्वजनिक गर्दै फुटबल मैदानसहितको बहुउद्देश्यीय रंगशाला निर्माणको लागत २ अर्ब ४८ करोड ५५ लाख ३ सय ५५ रुपैया लागत अनुमान गरिए पनि लागतको दायरा बढाएर ३ अर्ब बनाउन सुझाव दिइएको छ ।

अन्तर्राष्ट्रियस्तरका खेलकुल आयोजनासमेत गर्न सक्ने गरी निर्माण गर्न लागिएको सो रंगशालामा आउट डोर र इन्डोर खेल हुनेछन् । अत्याधुनिक पार्क, चमेना गृह, प्रशासनिक भवनलगायत, ड्रेसिङ रूमसहितको एकिकृत रुपमा बनाउन लागिएको सो बहुउद्देश्यीय रंगशालामा २५ हजार दर्शक क्षमताको अत्याधुनिक फुटबल मैदान हुनेछ ।

स्वीमिङ पुन, कभड हल, जीम, एथ्लेटिक्सलगायतको पूर्वाधार पनि त्यही बनाउने तयारी भएको छ । जसको इलेक्ट्रिक व्यवस्थापनमा मात्रै १२ करोड ४२ लाख लागत अनुमान गरिएको छ ।

प्रदेश सरकारले सो परियोजनाका लागि हाललाई ११ करोड २५ लाख रुपैयाँ पूर्वाधार व्यवस्थापनमा बजेट छुट्याएपनि बिस्तृत परियोजना अनुसारको रकम विशेष रुपमा विनियोजन गर्दै रंगशाला निर्माण गरिने भएको बताइएको छ ।

घोराही उपमहानगरपालिकाले सो परियोजना सफल बनाउन सक्दो सहयोग गर्न तयार रहेको बताएको छ । रंगशाला निर्माण स्थलमा पर्ने केही व्यक्तिको जग्गको मुआब्जालयागत कागजी प्रक्रिया टुंगो लागिसकेको बताएको छ ।

नगरप्रमुख नरुलाल चौधरीले खेलाडी र खेलकुदको विकासको लागि नेत्रलाल अभागी बुहउद्देश्यीय रंगशाला कोशेढुंगा सावित हुने बताए । रंगशाला निर्माण गर्न उपमहानगरको तर्फबाट सबै खालको सहयोग रहने उनको भनाई छ । प्रदेश सरकारको सहयोग पाएको यो बेलामा उपमहानगरले महात्वाकांक्षी परियोजना सफल पार्न सके यो उपमहानगर मात्रै नभई सिंगो जिल्लाबासीको गौरवको विषय बन्ने विश्वास व्यक्त गरे ।

नगरप्रमुख चौधरीले ‘यस क्षेत्रकै सबैभन्दा ठुलो रंगशाला निर्माण हुन लाग्नु घोराही उपमहानगरमात्रै यो जिल्ला समग्र प्रदेशकै गौरवको विषय भएको बताए । यसमा सबैको साथ सहयोग रहन्छ भन्ने लागेको छ ।’ उनका अनुुसार उक्त रंगशाला निर्माण गरी विस २०८० सालसम्ममा संचालन गर्ने गरी काम अघि बढाइएको छ ।

नेत्रलाल अभागी फुटबल रंगशाला निर्माण तथा व्यवस्थापन समिति सचिव नरेन्द्र पुनले जिल्लालाई खेलकुदको हब बनाउने गरी रंगशाला निर्माणको काम अघि बढाइएको जानकारी दिए ।

रंगशाला निर्माणसँगै खेलाडी उत्पादन गर्न र उनीहरुको क्षमता विकासमात्रै नभई खेलकुदमा नयाँ आयाम थपिने बताए ।

एडन इन्जिनियरिङ सोलुसन प्रालि काठमाडौंले तयार पारेको डिपिआरमाथि उपस्थित सरोकार निकाय तथा सम्बद्ध व्यक्तिहरुले सुझावसमेत दिएका छन् । उनीहरुले गुणस्तरमा विशेष ध्यान दिँदै दीर्घकालीन योजना अनुरुप नकारात्मक प्रभाव नपर्ने गरी डिपिआर तयार पार्न सके सोही अनुसार काम सफल हुने बताएका छन्