दाङ,१२ असार । दाङमा सडकबाट अचेत अवस्थामा उद्धार गरेर प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएकी एक महिलामा कोेरोेना भाइरसको संक्रमण देखिएको छ ।
उनको नाम र ठेगाना भने खुलेको छैन । घोराहीको सडकमा मागेर जिविका चलाउदै आएकी ती महिलालाई असार १० गते बुधवार प्रहरीले घोराही उपमहानगरपालिका–१५ कोे ट्राफिकचोकको पीपलबोट मुनिबाट अचेत अवस्थामा उद्धार गरि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेको थियो ।
तर महिलाको सोहि दिन राती उपचारका क्रममा प्रतिष्ठानमा निधन भएको थियो । कोरोना भाइरसका कारण महिलाको मृत्यु भएको हुन सक्ने आशंकामा उनको कोरोना परिक्षण गरिएको थियो । स्वाव परिक्षणका क्रममा शुक्रवार आज ती महिलामा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।
करिव ३० देखि ३५ बर्षकी देखिने ती महिलाको नाम र ठेगाना नखुलेको प्रहरीले जनाएको छ । मृतक महिलाको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवदाह गृहमा राखिएको छ ।