दाङ,२८ जेठ । क्वारेन्टाइनमा सुरक्षा व्यवस्था नहुँदा क्वारेन्टाइनमा बसेका मानिसहरु भाग्ने गरेको गुनासो आइरहेका बेला घोराहीको एउटा क्वारेन्टाइनमा बसेका केही युवाहरु निस्किएर गाउँमा कुटपिट गरेको छन् ।
घोराही उपमहानगरपालिका–५ मा रहेको रहेको श्रीहरिओम प्राथमिक विद्यालय भैसापथ्रा नैनवार क्वारेन्टाइनमा बसेका दुई जना युवाहरु रातको समयमा निस्किएर क्वारेन्टाइन नजिकैको गोठलीगाउँ निवासी आशाराम चौधरीलाई कुटपिट गरेका हुन ।
कुटपिटबाट चौधरीको आखाँलगायतका ठाउँमा चोट लागेको पीडितका बुबा सरजु चौधरीले जानकारी दिएका छन् । क्वारेन्टाइनमा निस्किएका उनीहरुले सामन्य विवादमा कुटपिट गरेका थिए । कुटपिटपछि उनीहरु पुन क्वारेन्टाइनमा फर्किएको स्थानीयको भनाई रहेको छ ।
जेठ २५ गते आइतवार राती कुटपिट गरेपछि पीडित पक्षले प्रहरीलाई जानकारी गराएपछि मंगलवार दुई पक्षलाई राखेर छलफल गराइएको अस्थायी प्रहरी पोष्ट सर्राका प्रमुख शेरबहादुर धामीले जानकारी दिएका छन् । ‘क्वारेन्टाइन्मा निस्किएर कुटपिट गरेको गुनासो आएपछि हामी त्यहाँ पुगेका थियौ’–अस्थायी प्रहरी पोष्ट सर्राका प्रमुख धामीले भने–‘छलफलमा पीडित पक्षले क्वारेन्टाइन बसेका युवाले हानेका भनेका छन् ।
तर उनीहरुले आरोप स्वीकार गरेका छैनन् ।’ उनले पिट्ने युवाहरु भर्खरै भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेको र उनीहरुको रिपोर्ट नआइसकेकाले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न समस्या भएको समेत उनले बताए । घट्ना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।