छर्छरे खानेपानीका पाइपमा आगजनी, ६ लाख बराबरको क्षति

तुलसीपुर, २५ जेठ । गएराती करीव १२ बजेको समयमा अज्ञात समुहले तुलसीपुर उपमहानगरपालिका—१७ फोर्टिनाइन चौक नजिकैको छरछरे खानेपानीको कार्यालय परिसरमा राखिएका पाइपहरुमा आगजनी गरेको छ ।

आगजनीमा कम्तीमा ६ लाख रुपैया मुल्य बराबरको पाइपहरु जलेर नष्ट भएको छर्छरे खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव शंकर नेपालीले जानकारी दिएका छन् ।

कार्यालयको कम्पाउण्डभित्र राखिएका पाइपमा आगो सल्किरहेको स्थानीयबासीहरुले रातीनै थाहा पाएपछि घरघरबाट गाग्रोमा पानी लगेर आगो नियन्त्रणमा लिइएको स्थानीयबासी यादव रिजालले बताए ।

‘आगो निभाउन नपाएको भए कार्यालय भवननै जलेर ध्वस्त हुने अवस्था थियो, सवैको प्रयासले राती एक बजेतीर आगो नियन्त्रणमा लिइयो’—रिजालले भने ।

आगजनीपछि सोमवार विहान बेलझुण्डी अस्थायी प्रहरी पोष्टका प्रमुख असई वलीराज शाही, वडा नं १७ का प्रतिनिधि लवरु चौधरी, १८ का सदस्य धनवहादुर बस्नेत, खानेपानी संस्थाका पदाधिकारी तथा उपभोक्ताहरु आगजनी स्थल पुगेर क्षतिको एकिन गरिएको थियो ।

आगजनीगर्ने समुहको खोजिभैरहेको प्रहरीले जनाएको छ । कसले र किन आगजनी गर्यो भन्ने विषयमा अझै एकिन जानकारी प्राप्त हुन नसकेको खानेपानी संस्थाका सल्लाहकार तथा पूर्व अध्यक्ष गिरीराज पाण्डेले बताएका छन् ।

आगजनीगर्ने नियतले झारपात र पेट्रोल समेत झर्केर घटना घटाइएको बताइएको छ ।

आगोमा जलेर करीव डेढलाख रुपैया मुल्य वरावरका २ सय एमएमको १ सय मिटर लामो पोलिथिन पाइप, १ सय ८० एमएमको २५ मिटरको २७ हजार ७ सय ८६ रुपैया वरावरको पाइप, १ सय ६० एमएमको ६० मिटर पाइप करीव ५२ हजार रुपैया वरावरको लगायत विभिन्न साइजका पाइपहरु गरी ६ लाख ६५ हजार ६ सय ४१ रुपैया मुल्य वरावरको क्षति भएको हो ।