सरकारले व्यवस्थापकीय क्षमता देखाउन सकेन : अध्यक्ष शर्मा

दाङ २३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बिज्ञहरुसंगको समन्वयमा सरकारलाई तत्काल, मध्यकाल र दीर्घकालका लागि योजना बनाउन सुझाव दिएका छन् । विना छलफल र गृहकार्य लकडाउन थप्ने निर्णय मात्र सरकारले गरिरहेको भन्दै उनले यो संकटका समयमा बिभिन्न क्षेत्रसंग हातेमालो गर्दै सरकार अगडि बढ्नुपर्ने वताए ।

आयोगको अनुगमनको इकाइको आयोजनामा भएको भिडियो संवादमा बोल्दै उनले अहिले सरकारले मानवअधिकार क्षेत्र र मिडिया क्षेत्रसंग हातेमालो गर्न नचाहेको बताए । ‘हामीले सिमानामा आएकाहरुलाई सुरक्षित रुपमा देश भित्र ल्याउन सरकारलाई भन्यौं, तर सरकारले सुनेन’ अध्यक्ष शर्माले भने,‘यसले मानव अधिकार आयोगसंग हातेमालो गर्न नचाहेको देखाउँछ ।’

अध्यक्ष शर्माले अहिले यो माहामारीको समयमा सरकारले व्यवस्थापकीय क्षेमता देखाउन नसकेको पनि टिप्पणी गरे । ‘यो असक्षमताको मारमा मिडया, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पर्दै गएका छन्’ अध्यक्ष शर्माले भने, ‘अब सरकारको चेत आउन पर्छ र सबैसंग समन्वय गरेर अगाडि बढ्नु पर्छ ।’ अधिकारकर्मीलाई बाहेक गर्ने देशमा लोकतन्त्र भएको मान्न नसकिने भन्दै उनले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गरे ।

कार्यक्रममा पत्रकार महासंघका पुर्व सभापति हरिहर विरहीले प्रेस प्रति राज्य अनुदार देखिएको भन्दै एक्लै हिड्ने प्रबृत्तिका कारण कोरोना संकटसंगको लडाईमा सरकार असफल बनेको बताए । उनले मिडिया कमजोर भएमा राष्ट्रियता कमजोर हुने तर्क गरे ।

त्यसैगरी अर्का पुर्व सभापति तथा फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहालले अभिव्यक्ति स्वतन्त्रताको अबस्था देशमा कमजोर बन्दै गएको बताए । बिभिन्न तथ्यांकहरु प्रस्तुत गर्दै दाहालले प्रेस स्वतन्त्रता संकुचन गर्न र प्रेसलाई कमजोर बनाउन राज्य तल्लिन रहेको बताए ।