पोखरा १७ जेठ ! स्कुल अफ डेमोक्रेसीले कोरोनाको प्रकोपका कारण नेपाली मिडिया र संचार क्षेत्रले भोग्नु परेको समस्या र तिनको समाधानका लागि आवश्यक सुझाव संकलन गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ! नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनको नेतृत्व सहित विभिन्न जिम्मेवारीमा रहेका मिडिया विज्ञ र देशका विभिन्न जिल्लामा क्रियाशील पत्रकार सहभागी अन्तरक्रियामा ( भिडीयो कन्फ्रेन्स ) नेपाली मिडिया र पत्रकारहरुले कोरोनाको विश्वव्यापी महामारीका कारण व्यहोर्नु परेको संकट र अवको अवस्था बारेमा सुझाव दिएका थिए !
उनिहरुले वर्तमान संकटको अवस्थामा पनि सरकार प्रेस प्रति अनुदार रहेको मात्र नभएर आंफ्नो अनुकुल नचल्ने संचार संस्थालाई निस्तेज पार्न खोजेको भन्दै सरकारी कार्यशैलीको आलोचना गरेका थिए ! वर्तमान संकटको अवस्थामा सरकारले मिडियालाई राहत हुने कार्यक्रम ल्याउने भन्दा मिडियालाई नियंत्रण गर्ने सोच बनाएको भन्दै संकटको फाईदा लिएर मिडियालाई कमजोर पार्ने कदम स्विकार्य नहुनेमा सहभागीहरुले जोड़ दिएका थिए ! जानकारहरुका अनुसार नेपालमा संचार क्षेत्रमा पन्ध्र अर्व भन्दा बढी लगानी भइसकेको र करिव साठी हजारले रोजगारी पाएका छन । तर कोरोना प्रकोपका कारण न त लगानीकर्ता नै सुरक्षित देखिएका छन, न त मिडियामा आवद्ध पत्रकार संचारकर्मी तथा कर्मचारीको जागीर नै सुरक्षित छ । यस्तो अवस्थामा संचार क्षेत्रलाई संरक्षण गर्दै लगानी र रोजगारी गुम्न नदिन राज्यको भुमिका महत्वपुर्ण हुने भएपनि सरकार भने उदासीन रहेको उनिहरुको भनाई छ !
नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले राष्ट्रिय अर्थतन्त्रमा योगदान दिइरहेका मिडियालाई जोगाउन राज्यले चासो नदेखाएको मात्र नभई पछिल्लो समय राज्य मिडिया प्रति अनुदार देखिएको बताए । उनले पत्रकारहरुको सुरक्षाको सवालमा समेत सरकार गंभीर नदेखिएको बताउँदै पन्ध्र हजार भन्दा बढी पत्रकारहरु मध्ये महासंघकै पहलमा करिव चार सय जनाको मात्र कोरोना परिक्षण गरिएको र नौ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिए । सरकारले मिडियालाई आफनो आलोचना गर्ने फोरमको रुपमा बुझेर दमन र असहयोग गर्ने स्थिती देखिएको भन्दै उनले पत्रकारहरुको लागि बिमा र फेलोसिपको व्यवस्था तथा मिडिया हाउसका लागि सहुलियत व्याजदरमा क्रृण उपलब्ध गराउन पर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघका पुर्व सभापति हरिहर विरहीले लोकतन्त्रको आधार स्तम्भ मानिने पत्रकारिता क्षेत्रलाई निस्तेज गर्न वर्तमान सरकार प्रयासरत रहेको भन्दै नेपाली प्रेसले कोरोना महामारीमा मात्र हैन देशमा आई पर्ने सवै खाले समस्यामा पनि अग्रमोर्चामा रहेर काम गर्दै आएको बताए । नेपालको राष्ट्रियता र सिमाको संरक्षणका लागि समेत नेपाली प्रेसको भुमिका उल्लेखनिय रहेको भएपनि वर्तमान सरकार स्वतन्त्र प्रेस माथि नियन्त्रण गर्न र लोकतन्त्रको मर्म माथि प्रहार गर्न उद्धत रहेको उनको भनाई थियो !
महासंघका अर्का पुर्व अध्यक्ष सुरेश आचार्यले कोभिड १९ का कारण पत्रकारको सुरक्षासँगै संचार माध्यमको निरन्तरताको सवालमा ठुलो समस्या देखिएको बताए । उनले निजी मिडिया मरुन र आफनो गुडगान गाउने मिडिया मात्र बाँचुन भन्ने चाहाना राख्ने वर्तमान सरकारका लागि कोरोनाको प्रकोप महत्वपुर्ण अवसर बन्ने खतरा देखिएको भन्दै चिन्ता प्रकट गरे ।
महासंघका अर्का पूर्व अध्यक्ष तारानाथ दाहालले सरकारको ग़लत कार्यशैलीका कारण ठुलो संख्यामा मिडिया बन्द हुने र पत्रकारहरु पनि पेशाबाट विमुख हुनुपर्ने अवस्था आएको भन्दै चिन्ता प्रकट गरे ! श्रमजिवि पत्रकारहरुको सहयोगका लागि आंफ्नो तर्फबाट पनि प्रयास भैरहेको जानकारी दिंदै उनले सरकारको निरंकुश कार्यशैलीका कारण नेपाली प्रेस सामु चुनौती बढिरहेको बताए !
कार्यक्रममा नेपाल प्रेस युनियनका पुर्व अध्यक्ष समिर जंग शाहले संकटको समयमा सरकार निरंकुशता तर्फ अगाडी बढ्ने र त्यसका लागि स्वतन्त्र प्रेसमाथी नियंत्रण गर्न खोज्ने प्रवृति हावी हुने भएकोले नेपालमा त्यस्तो अवस्था आउन नंदिन सबै गंभीर बन्नुपर्ने बताए !
कार्यक्रममा युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, वानका पुर्व अध्यक्ष गोपाल झा ,पत्रकार महासंघका पुर्व उपाध्यक्ष अनिता विन्दु र उमिद वागचन, महासंघका प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, पुर्व सचिव राम्जी दाहाल साथै युनियनका उपाध्यक्ष रमेश पौडेल , महासचिव अजय बाबु शिवाकोटी , नवलपुर जिल्ला अध्यक्ष विरेन्द्र पराजुली, महासंघका कैलाली शाखाका पुर्व अध्यक्ष कर्ण शाह, महासंघ तनहुंका पुर्व अध्यक्ष डम्वर अधिकारी, युनियनका केन्द्रीय सदस्यहरु लाल ऐरी , प्रदिप काफ्ले ,दिपा आले, टंक अधिकारी र युवराज रेग्मी, महासंघका प्रदेश महासचिव बालकृष्ण अधिकारी, अनिषा श्रेष्ठ, नेजाका पुर्व अध्यक्ष गौतम दाहाल, महासंघका पुर्व सचिव जगत नेपाल, सेजनका अध्यक्ष भिम गौतम, ललितपुरका पत्रकार रमा लुईंटेल , हेटौंडाका पत्रकार विजय पौडेल नुवाकोटकी गमला लामा , गोमा पाण्डे , रुकुमका पत्रकार प्रविर ददेंल लगायतले प्रेस स्वतन्त्रताको संरक्षण संगै मिडियाको सवलीकरण अहिलेको आवश्यकता भएको कुरामा जोड़ दिएका थिए !
कार्यक्रममा स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरले कोरोनाका कारण विभिन्न क्षेत्र प्रभावित हुने क्रममा संचार क्षेत्रमा पनि गंभीर असर परेकोले आवश्यक सुझाव संकलन गरि सरकार र सरोकारवालालाई प्रतिवेदन बुझाइने बताए । उनले पत्रकारिता क्षेत्र लोकतन्त्रको आधारस्तंभ रहेको र स्कुल अफ डेमोक्रेसीले पनि लोकतान्त्रिक प्रक्रियालाई सहयोग गर्ने भएकोले प्रेस जगत संग निकट सम्बन्ध रहने कुरामा जोड़ दिए !
अन्तरक्रिया कार्यक्रमको संचालन गर्दै स्कुल अफ डेमोक्रेसीका गण्डकी प्रदेश समितिका अध्यक्ष गंगाधर पराजुलीले कोरोना विरुद्ध अग्रमोर्चामा खटिने संचारकर्मी र स्वयं सेवकका लागि राज्य उदासिन बनेको र अन्य क्षेत्रमा सुधारका लागि पहल गर्ने आश्वासन दिए पनि संचार संस्थाको सवलीकरणका लागि सरकार अनुदार देखिएकोले यस क्षेत्रको सुधारका लागि सवैको दवाव आवश्यक रहेको बताए ।