(नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाज्यूको अध्यक्षतामा शुक्रबार नेपाली कांग्रेस संसदीय दलको बैठक संघीय संसद भवन, बानेश्वरको ल्होत्से हलमा बस्यो । बैठकमा विज्ञका रुपमा पूर्व अर्थ मन्त्री डा. रामशरण महत, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु डा. जगदिशचन्द्र पोखरेल, डा. गोविन्द राज पोखरेल र डा. स्वर्णीम वाग्ले तथा अर्थविद् डा. विश्व पौडेलले बजेटका विविध पक्षको चर्चा गर्दै यसका कमी, कम्जोरी र त्रुटीहरुको बारेमा बैठकलाई जानकारी गराएपछि बैठकले बजेटका बारेमा यस्तो धारणा बनाएको मुख्य सचेतक बालकृष्ण खाँडद्वारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ ।)
नेपाल सरकारद्वारा आर्थिक वर्ष ०७७।७८ को लागि प्रस्तुत बजेट परिणाममुखी भन्दा प्रचारमुखी रहेको देखिएको छ । यस बजेटमा जनतालाई आश्वासन दिने तर कार्यान्वयन नहुने खालका कार्यक्रमलाई जोड दिइएको देखिन्छ ।
विगत दुई महिना भन्दा बढी समय देखि कोरोना भाइरसको कारणले सरकारले नै लकडाउन गरेको अवस्थामा सम्पूर्ण उद्योग, कलकारखाना, पर्यटन, यातायात क्षेत्र लगायत शैक्षिक संस्था ठप्प भएको र अन्य व्यवसाय, बैंक, वित्तिय तथा सहकारी संस्था र निजी अस्पताल सञ्चालनमा ठूलो कठिनाई व्यहोर्नु परिरहेको छ । शिथिल भएको मुलुकको अर्थतन्त्रलाई माथि उठाउने र तत्काल कार्यान्वयन हुने खालका कार्यक्रमहरुलाई यस बजेटमा प्राथमिकता दिएको पाइदैन । महामारीको प्रकोपबाट पिडित निजी क्षेत्रका उद्योग व्यवसायका साथै त्यसका कर्मचारी र श्रमिक वर्गहरुलाई सम्बोधन हुने कुनै पनि ठोस कार्ययोजनाहरुलाई बजेटले सम्बोधन गरेको छैन ।
नेपालको मुख्य समस्या मध्येको एक रोजगारी हो, कोरोनाको प्रभावबाट भविष्यमा हुने रोजगारीको संकटलाई सामना गर्न सरकारले उपयुक्त र पर्याप्त रोजगारी सृजना गरी मुलुकको आर्थिक क्रियाकलापलाई गतिशिल बनाउने र आम नागरिकहरुको क्रय शक्तिलाई पुनस्र्थापन गर्ने योजनाहरुलाई यस बजेटले प्राथमिकतामा राखेको छैन । रोजगारीका नाममा आफ्ना समिति कार्यकर्तालाई तत्काल लाभ पुग्ने किसिमका कार्यक्रमहरु समावेश भएका छन्, जसले बजेटको दुरुपयोगलाई बढवा दिनेछ । फलस्वरुप नेपाली जनताको कल्याण हित हुने छैन ।
विगतमा नेपाली कांग्रेसले प्रारम्भ गरी अगाडि बढाइएका योजना र कार्यक्रमहरुलाई वर्तमान सरकारले आफ्नो उपलब्धीको रुपमा प्रस्तुत गरेको छ । तर प्रष्ट रुपमा त्यसको पूर्वाधारको बारेमा जनतालाई गुमराहा गर्न खोज्नु सरकारको निकम्बापन हो । यस प्रति सरकार गम्भीर हुन जरुरी छ ।
अहिलेको विषम र असामान्य अवस्थामा पनि सरकारले विगतमा झै सामान्य बजेट ल्याएको छ । राजश्वको संकुचन भइरहेको र भविष्यमा अझै भइरहने अवस्थामा सरकारले मितव्यीता अबलम्बन गर्नुपर्नेमा ठूलो विदेशी र आन्तरिक ऋणको आधारमा बजेट बनाएकोे छ, जुन कार्यान्वयन गर्न सरकारले सक्दैन । “आम्दानी अठन्नी खर्च रुपैयाँ” भने जस्तै बजेटले मुलुकमा ठूलो दुर्घटना निम्त्याउन सक्दछ । तसर्थ राष्ट्र र जनताको हित विपरितको सरकारले ल्याएको बजेट नेपाली कांग्रेसलाई स्वीकार्य छैन । यस बारेमा सरकार बेलामै सच्चिनका लागि नेपाली कांग्रेस सचेत गर्दछ ।