नेपालमा आंँखा स्वास्थ्यलाई तीनै तहका सरकारले महत्व दिएको पाइँदैन । ज्योति बिनाको जीवन कल्पनासम्म पनि गर्न नसकिने अवस्थामा सरकारी निकायको लगानी आँखा स्वास्थ्यमा देखिँदैन । जसोतसो गैरसरकारी संघसंस्थाहरुको सहयोगमा नेपालमा धेरै आँखा अस्पताल सञ्चालनमा छन् । यति धेरै अस्पताल सञ्चालनमा आउँदा पनि नेपालमा अन्धोपनाको अवस्था व्याप्त छ । अन्धोपना न्यूनीकरणको अभियानले अझै सार्थकता पाउन सकेको छैन । त्यस्तै अर्को महत्वपूर्ण पक्ष भनेको मानिसहरुमा पनि आँखा स्वास्थ्यका सवालमा वेवास्तता गर्ने प्रवृत्तिले पनि अन्धोपना न्यूनीकरण हुन सकेको छैन । यी सन्दर्भलाई जोडेर आँखा स्वास्थ्यको सुदृढीकरणका विषयमा केन्द्रित रहेर दृष्टि विज्ञ डा. क्षमता सुवेदीसँग गोरक्षकर्मी बालाराम खड्काले गरेको कुराकानीको सार सङ्क्षेप ।
स्वागत छ तपाईलाई गोरक्ष साता वार्तामा
धन्यवाद, तपाई अनि तपाईको लोकप्रिय गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई । मलाई आँखा स्वास्थ्यका विषयमा केहि कुरा राख्ने अवसर दिनुुभएकोमा ।
आँखा स्वास्थ्यका विषयमा केही कुरा बताइदिनुस् न ?
हाम्रो शरीरका पाँच इन्द्रियमध्ये आँखाको भूमिका निकै महत्वपूर्ण छ । पढ्न, काम गर्न, परिवारसँग समय बिताउन र दैनिक जीवनका धेरै काम गर्न हामी दृष्टिमा निर्भर छौँ तर आँखा बिग्रिएपछि मात्र यसको महत्व बुझ्ने हाम्रो बानी छ । त्यसैले त्यसैले मेरो मुख्य सन्देश आँखामा समस्या आएपछि मात्र होइन, समस्या आउनुअघि नै आँखाको नियमित हेरचाह गरौं भन्न चाहन्छु । आँखालाई माया गर्न सकेमा मात्र ज्योति जोगाउन सकिन्छ । सामान्य हेलचक्रयाइले मात्र पनि हाम्रो ज्योति गुम्न सक्ने खतरा रहन्छ । त्यसैले आँखा स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बानी सबै नागरिकले बसालौँ । जब ज्योति नै रहँदैन भने जीवनको कुनै मूल्य र महत्व हुँदैन ।
भर्खरै नेपालमा पनि विभिन्न स्थानमा. विश्व दृष्टि दिवस मनाइएको छ । यसको मुख्य सन्देश के हो ?
यस वर्ष विश्व दृष्टि दिवसको मुख्य अभियान लभयोरआइज, सेभयोरसाइट भन्ने नारा हो । अर्थात् आँखालाई मायां गरौँ भन्ने हो । यस अभियानले आँखाको स्वास्थ्यलार्ई व्यक्तिगत मात्र होइन, समुदाय र स्वास्थ्य प्रणालीको प्राथमिकताको विषय बनाउन जोड दिएको छ । आँखा नियमित जाँच गराउने, समस्या बेवास्ता नगर्ने र आवश्यक उपचार समयमा नै लिने यसको मुख्य सन्देश हो । सरल भाषामा भन्नुपर्दा, आँखा स्वस्थ छ भने स्वस्थ राखौँ । समस्या छ भने ढिला नगरी उपचार गरौँ । आँखा भएन भने जिवननै अधुरो हुन्छ ।
नेपाल तथा विशेषगरी हाम्रो जिल्लामा अहिले आँखासम्बन्धी रोगको अवस्था कस्तो छ ? कुन–कुन समस्या बढी देखिन्छ ?
नेपालमा आँखाका धेरै समस्या रोकथाम वा उपचार गर्न सकिने खालका छन् । विश्वमै दृष्टि कमजोर हुने प्रमुख कारणमध्ये चस्माले सुधार गर्न सकिने दृष्टि समस्या र मोतिविन्दु प्रमुख हुन् । नेपालमा पनि आवश्यक चस्मा नलगाउने समस्या महत्वपूर्ण छ । त्यसैले चस्माको पहुँच बढाउने उद्देश्यले भिजन २०३० जस्ता कार्यक्रम अघि बढाइएका छन् । दाङ र आसपासको क्षेत्रमा हेर्दा उमेरअनुसार समस्या फरक देखिन्छ । बालबालिकामा चस्माको नम्बर, मायोपिया, एलर्जी र सङ्क्रमण बढी देखिन्छ । युवा तथा वयस्कमा एलर्जी र सङ्क्रमणका विरामी पनि आउने गरेका छन् । उमेर बढ्दै जाँदा मोतिबिन्दु, ग्लुकोमा जस्ता रोग पनि देखिने गरेका छन् । ग्रामीण क्षेत्रमा अर्को समस्या पनि छ । धेरै मानिस समस्या हुँदा हुँदै अस्पताल आउन ढिला गर्नुहुन्छ । ‘पछि जाउँला’, ‘बुढेसकालमा यस्तै हुन्छ’ वा ‘घरेलु उपचारले ठीक हुन्छ’ भन्ने सोच अझै पाइन्छ । त्यसैले उपचारसँगै समुदायमा सचेतना बढाउनु पनि हाम्रो महत्वपूर्ण जिम्मेवारी हो ।
आँखाको समस्या तथा दृष्टि कमजोर हुने प्रमुख कारणहरू के–के हुन् ?
यसको एउटै कारण हुँदैन । उमेर र व्यक्तिअनुसार कारण फरक हुन्छ । सबैभन्दा सामान्य कारणमध्ये चस्माको चस्माले सुधार गर्न सकिने दृष्टि समस्या र मोतिबिन्दु पर्छन् । यसबाहेक ग्लुकोमा, आँखामा चोटपटक, सङ्क्रमण, एलर्जी र केही जन्मजात समस्या पनि दृष्टि कमजोर हुने कारण हुन् । बालबालिकामा आँखाको नम्बर र मायोपिया समयमै पत्ता लगाउनु निकै महत्वपूर्ण छ । परिवारमा धेरै नम्बरको चस्मा लगाउने व्यक्ति छन् भने बच्चामा मायोपियाको जोखिम पनि बढ्न सक्छ । मधुमेह भएका व्यक्तिले आँखाको विशेष ख्याल गर्नुपर्छ। मधुमेहले आँखाको पर्दा अर्थात्् दृष्टि–पटलमा असर गर्न सक्छ । धुम्रपान, आँखामा चोटपटक र अत्यधिक सौर्य विकिरण जस्ता कारणले पनि आँखामा विभिन्न समस्या आउन सक्छन् ।
त्यस्तै मोबाइल, कम्प्युटर तथा अन्य डिजिटल स्क्रिनको बढ्दो प्रयोगले बालबालिका तथा वयस्कको आँखामा असर पारेको पाइन्छ । लामो समयसम्म लगातार नजिकबाट स्क्रिन हेर्दा आँखा थाक्ने र सुख्खा हुने समस्या बढ्न सक्छ । स्क्रिन हेर्दा हामी कम झिम्काउँछौँ । त्यसैले आँखा पोल्ने, सुख्खा हुने, टाउको दुख्ने र धमिलो देखिने हुनसक्छ । बालबालिकामा मायोपिया अर्को महत्वपूर्ण विषय हो । धेरै समय नजिकको काम गर्नु र बाहिर खेल्ने समय कम हुनु मायोपियासँग सम्बन्धित देखिएको छ । त्यसैले बच्चालार्ई मोबाइल मात्र नदिने होइन । बाहिर खेल्ने र दिउँसोको उज्यालोमा समय बिताउने बानी पनि बसाल्नुपर्छ ।
आँखामा समस्या नभए पनि नियमित आँखा परीक्षण किन आवश्यक छ ? कति समयको अन्तरालमा जाँच गर्नुपर्छ ?
कतिपय रोगहरूमा दृष्टि धेरै प्रभावित भएपछि मात्र बिरामीलार्ई समस्या थाहा हुन सक्छ । त्यसैले ‘मैले राम्रै देख्छु’ भन्दैमा आँखा पूर्ण रूपमा स्वस्थ छ भन्न मिल्दैन । बालबालिकाको दृष्टि परीक्षण अझ महत्वपूर्ण हुन्छ । बच्चाले आफ्नो समस्या सधैँ भन्न सक्दैन । विद्यालय जाने उमेरमा दृष्टि परीक्षण र आवश्यक परे विस्तृत आँखा परीक्षण गर्नुपर्छ । वयस्कमा सामान्यतया एक–दुई वर्षको अन्तरालमा आँखा जाँच गर्ने बानी राम्रो हुन्छ । तर, मधुमेह, उच्च रक्तचाप, ग्लुकोमाको पारिवारिक इतिहास, चस्माको अवस्था वा पहिलेको आँखाको रोग छ भने अझ नियमित जाँच आवश्यक पर्न सक्छ । सबैका लागि एउटै समयतालिका हुँदैन ।
आँखामा समस्या आएपछि आफैँ औषधी वा आईड्रप प्रयोग गर्ने प्रवृत्ति पनि जोखिमपूर्ण नै मान्नु पर्दछ । गलत अवस्थामा वा लामो समय प्रयोग गर्दा आँखाको दृष्टिनै गुम्न सक्दछ । त्यसैले छिमेकीले प्रयोग गरेको वा पहिले आफूलार्ई दिइएको औषधी वा मेडिकल पसलमा सिफारिस गरिएको भएपनि आफै प्रयोग गर्नु हुदैन । आँखा रातो भयो, दुख्यो, पानी आयो वा दृष्टि धमिलो भयो भने पहिले कारण पत्ता लगाउनुपर्छ । आँखा संवेदनशील अङ्ग हो । त्यसैले ‘पहिले मचयउ हालेर हेरौँ’ भन्दा चिकित्सकलार्ई देखाएर सही औषधी प्रयोग गर्नु सुरक्षित हुन्छ ।
अहिले समुदायमा रातो आँखा तथा इकेसी जस्ता सङ्क्रमण पनि देखिएका छन्। यसबाट कसरी बच्न सकिन्छ ?
रातो आँखा धेरै कारणले हुनसक्छ । एलर्जी, भाइरल सङ्क्रमण र व्याक्टेरियल सङ्क्रमण यसका केही कारण हुन् । त्यसैले हरेक रातो आँखा एउटै रोग हो भनेर बुझ्नु हुँदैन । आँखा सङ्क्रमित भएको अवस्थामा विद्यालय, कार्यालय वा भीडभाडमा नजिकको सम्पर्क कम गर्नु राम्रो हुन्छ । आँखा रातो भयो भन्दैमा आफैँ औषधी सुरु गर्नु पनि हानीकारक हुन सक्दछ । विशेषगरी धेरै दुखाई छ, प्रकाश हेर्न गाह्रो हुन्छ, दृष्टि घटेको छ वा कन्ट्याक्ट लेन्स प्रयोग गर्नुहुन्छ भने तुरुन्त आँखा चिकित्सकलार्ई देखाउनुपर्छ ।
आँखा उपचारको सावधानीमा अभिभावकको पनि केही भूमिका हुन्छ कि ?
यो विषयमा म केही सरल कुरा भन्न चाहन्छु । पहिलो, आँखा जाँचलार्ई नियमित स्वास्थ्य परीक्षणको एउटा हिस्सा बनाऔँ । दोस्रो, बालबालिकाको आँखामा विशेष ध्यान दिऔँ । टिभी वा बोर्ड नजिक गएर हेर्छ, किताब धेरै नजिक राख्छ वा बारम्बार टाउँको दुख्छ भने आँखा जाँच गराऔँ । तेस्रो, मोबाइल र स्क्रिनको प्रयोग व्यवस्थित गरौँ । लगातार धेरै समय नजिकबाट स्क्रिन हेर्न नदिऔँ । बच्चालार्ई बाहिर खेल्ने समय दिऔँ । चौथो, आँखा रातो वा दुख्यो भन्दैमा आफैँ औषधी प्रयोग नगरौँ । पाँचौँ, मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिले नियमित आँखा परीक्षण गराऔँ । अर्को कुरा निकै महत्वपूर्ण छ । दृष्टि अचानक घट्यो, आँखामा धेरै दुखाइ भयो, चोट लाग्यो, प्रकाश हेर्न गाह्रो भयो वा अचानक धेरै रातो देखियो भने यसलार्ई सामान्य नठानौँ । यस्तो अवस्थामा तुरुन्त आँखा चिकित्सकलार्ई देखाउनुपर्छ । धन्यवाद ।