भरत विश्वकर्मा
रोल्पा, ६ असोज । रोल्पाको परिवर्तन गाउँपालिका–१ कुरेलीका अनिल केसी बिहानै घरबाट सदरमुकामका लागि यात्रामा निस्किए । करिब चार घण्टामा सदरमुकाम पुग्नु पर्ने भए पनि झन्डै सात घण्टा लाग्यो । वर्षायाम सुरु भएसँगै रोल्पाको शहीदमार्ग भएर यात्रा गर्ने जोकोहीले भोग्नु पर्ने समस्या हो, यो ।
शहीदमार्गको यात्रा हिउँदमा धुलाम्य र वर्षायाममा हिलाम्य हुँदा जोखिमपूर्ण बनेको केसी बताउँछन् । ‘शहीदमार्ग सडकमा ठेकेदारको लापरवाही अलि धेरै नै छ । शहीदमार्ग हेर्ने निकायले पनि ध्यान दिनुप¥यो, स्थानीय सरकारले पनि समन्वय गर्नुप¥यो’, उनले भने, ‘हिलोमा फसेर गाडीको टायर घुमिरहने र डोरीले तानेर गाडी निकालेर यात्रा गर्नु पर्ने अवस्था छ । गाडीमा राखेको सामानसमेत खसेर हराउने समस्या भयो ।’ यो समस्या केसीको मात्र होइन, शहीदमार्ग भएर यात्रा गर्ने रोल्पा र रुकुमका नागरिकको साझा समस्या हो ।
२०६४÷०६५ सालबाट स्तरोन्नति सुरु गरिएको शहीदमार्गको काम १९ वर्षसम्म पनि पूर्ण रूपमा सम्पन्न नहुँदा रोल्पा र रुकुमका नागरिक जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् । घोराहीदेखि रोल्पा हुँदै रुकुमसम्म जोडिएको शहीदमार्ग समयमै स्तरोन्नति नहुँदा वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुनु यस सडकको नियमित समस्या बनेको छ । वर्षायाममा खाल्टाखुल्टी र हिलो जमेको सडकका कारण रोल्पा र रुकुमका नागरिकले डोरीको सहायताले गाडी पार गर्दै गन्तव्यसम्म पुग्नु पर्ने बाध्यता छ ।
शहीदमार्ग निर्माण सुरु भएदेखि हालसम्म धेरै व्यक्तिले सवारी दुर्घटनामा परी ज्यान गुमाइसकेका छन् । सडकको काम समयमै सम्पन्न हुन नसक्दा उक्त मार्गले शहीदलाई गिज्याइरहेको माडी गाउँपालिकाका स्थानीय बताउँछन् । तत्कालीन १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका शहीदको सम्झनामा नामकरण गरिएको यस सडकको अवस्था पनि ‘शहीद जस्तै’ बनेको स्थानीयको भनाइ छ । सडक स्तरोन्नतिका नाममा हरेक वर्ष करोडौँ रुपैयाँ खर्च भए पनि बाटोको अवस्थामा अपेक्षित सुधार हुन नसकेको स्थानीयको आरोप छ ।
समयमै सडक स्तरोन्नति नहुँदा जोखिम मोलेरै यातायात सञ्चालन गर्नु परेको यातायात व्यवसायी बताउँछन् । लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पा र रुकुमपूर्वको ‘लाइफलाइन’ का रूपमा हेरिएको उक्त सडक घोराहीदेखि रुकुम पूर्वको तकसेरा–मैकोटसम्म करिब दुई सय २० किलोमिटर लामो छ । सरकारले घोराहीदेखि रोल्पाको होलेरी–दार्बोट–घर्तीगाउँ–थबाङ हुँदै रुकुम पूर्वको तकसेरा–मैकोट र त्यहाँबाट डोल्पासम्म जोड्ने लक्ष्य राखेको छ । शान्ति प्रक्रियापछि शहीदमार्गको कामले गति लिने अपेक्षा गरिए पनि हालसम्म अपेक्षित प्रगति हुन नसकेको स्थानीय बताउँछन् । घोराहीदेखि रोल्पाको होलेरी–घर्तीगाउँ–थबाङ हुँदै रुकुमपूर्व सम्म जोडिएको शहीदमार्गको होलेरीदेखि दार्बोट खण्ड कालोपत्रे भएको पनि शहीदमार्गको अधिकांश भाग अझै कच्ची नै छ । घोराही–होलेरी खण्डमा कालोपत्रे गरिए पनि अहिले त्यसको नामोनिसान नरहेको स्थानीय बताउँछन् ।
कमसल कालोपत्रे तथा सिमेन्ट उद्योगका टिप्परले सडकको भारवहन क्षमताभन्दा बढी चुनढुङ्गा ओसार्न थालेपछि कालोपत्रे उप्किएको उनीहरूको भनाइ छ । सडकको सहज पहुँच नहुँदा रोल्पा र रुकुमका कृषि उत्पादनले उचित बजार पाउन सकेका छैनन् । रोल्पाको पश्चिमी भूभाग कृषि उत्पादनका हिसाबले सम्भावनायुक्त क्षेत्र मानिन्छ । थबाङ, परिवर्तन, गङ्गादेव र माडी गाउँपालिकामा उत्पादन हुने स्याउ, आलु, सुन्तला, कागतीलगायतका कृषि उपजले पर्याप्त बजार पाउन नसकेको स्थानीय बताउँछन् । हिउँदमा धुलोका कारण नागरिकले सास्ती खेप्नुपर्छ भने वर्षायाममा सडक भत्किने, पहिरो जाने, सडकमा पानी जम्ने र गाडी फस्ने समस्याले सवारी आवागमन कठिन हुने गरेको छ । पश्चिम रोल्पालीको जनजीवन सहज बनाउने मुख्य ‘लाइफलाइन’का रूपमा रहेको सडक नै समयमै निर्माण सम्पन्न नहुँदा नागरिकले सास्ती खेपिरहेका छन् ।
०६४÷०६५ बाट निर्माणको काम सुरु गरिएको शहीदमार्गको हालसम्मको भौतिक प्रगति करिब ४४ प्रतिशत र वित्तीय प्रगति करिब ४१ प्रतिशत रहेको कार्यालयले जनाएको छ । हालसम्म झन्डै सवाचार अर्ब रुपैयाँ खर्च भएको कार्यालयको भनाइ छ । शहीदमार्ग आयोजना कार्यालय रोल्पाका प्रमुख माधवप्रसाद अधिकारीले दार्बोटदेखि खरिबोट क्षेत्रमा स्तरोन्नतिको काम भइरहेकाले कतिपय स्थानमा सडक कटिङका क्रममा माटो जम्मा हुँदा बाटो बिग्रिएको बताए । उनका अनुसार हाल शहीदमार्गको दार्बोटदेखि खरिबोटसम्मको करिब ४५ किलोमिटर खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको छ । उक्त क्षेत्रमा तीन निर्माण कम्पनीले काम गरिरहेको आयोजनाले जनाएको छ ।