दाङ जिल्ला भलिवल संघको अध्यक्षमा बस्नेत निर्वाचित

दाङ, ५ असोज । दाङ जिल्ला भलिवल संघको अध्यक्षमा लक्ष्मण बस्नेत निर्विरोध निर्वाचित भएका छन् । बेलझुण्डीमा सोमवार भएको दाङ जिल्ला भलिवल संघको अधिवेशनले बस्नेतको नेतृत्वमा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।

संघको नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा भरत कुवर, उपाध्यक्षमा भुमिसरा बाठा, महासचिवमा दुर्लभ कुमार श्रेष्ठ र कोषाध्यक्षमा इश्वर केसी निर्विरोध चयन भएका छन् । त्यसैगरी सदस्यमा राजु एरी, नवराज खत्री, लीलाबहादुर घर्ती, कमल दसौदी, पुरन विक र जितेन्द्र चौधरी रहेका छन् ।

दाङ जिल्ला भलिवल संघका उपाध्यक्ष भरत कुवरको अध्यक्षता तथा नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष भीम वलीको प्रमुख आतिथ्यमा भएको अधिवेशनले बाँकी दुई सदस्य दाङ जिल्ला खेलकुद विकास समितिको सिफारिसमा थप गर्ने कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको छ । अधिवेशनले भीमबहादुर डाँगीको संयोजकत्वमा मानबहादुर राना, कृष्ण डाँगी र खड्गबहादुर विकलाई सल्लाहकारमा चयन गरेको छ ।

अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष वली, दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठ,लुम्बिनी प्रदेश भलिबल संघका उपाध्यक्ष कृष्णा पाठक, दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख राकेश परियारलगायतले मन्तव्य राखेका थिए ।