दाङ जेठ ८ । नेपाली कांग्रेसले अतिअशक्त अपाङ्गता भएका व्यक्ति एवं ६० वर्ष मुनिका असहाय एकल (विधवा) महिलाहरुलाई विगतमा दिदै आएको सामाजिक सुरक्षा भत्तालाई हाल वितरण नगर्ने सरकारको निर्णय प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘नेपालको संविधानमा अशक्त, अपाङ्गगता भएका व्यक्ति र असहाय नेपाली नागरिकले सामाजिक सुरक्षाको हकबाट बञ्चित रहनु पर्ने छैन भन्ने प्रावधान अनुसार दिइदै आएको सामाजिक सुरक्षा भत्तालाई कानून र नियम विपरित नदिने निर्णय प्रति’ कांग्रेसले गम्भीर आपत्ति समेत व्यक्त गरेको छ ।
प्रतिनिधिसामा कांग्रेसका मुख्य सचेतक समेत रहेको कांग्रेसनेता बालकृष्ण खाँडले एक विज्ञप्तिमार्फत यस्तो आपत्ति जनाएका हुन् । ‘कोरोना महामारीबाट प्रताडित भइरहेको विषम अवस्थामा अतिअशक्त अपाङ्ग तथा असहाय एकल महिलाहरुको भत्ता रोकिनु भनेको अत्यन्त अमानवीय कार्य हो’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ सरकारद्वारा गरिएको गैर जिम्मेवार निर्णयलाई तत्काल खारेज गरी अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्न नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ ।’