अनिता अधिकारी
विवाहपछि जीवनसाथीबाहेक अर्को व्यक्तिसँग भावनात्मक वा प्रेम सम्बन्ध जोडिनु अहिले नेपाली समाजमा पनि बहसको विषय बन्न थालेको छ । यस्तो सम्बन्धलाई कतिपयले वैवाहिक जीवनमा पूरा हुन नसकेको भावनात्मक वा व्यक्तिगत आवश्यकताको परिणाम मान्छन् भने कतिपयले नयाँ व्यक्तिप्रतिको आकर्षण र सम्बन्धमा आएको अस्थिरताको परिणामका रूपमा हेर्छन् ।
विवाहपछि बाहिरी सम्बन्ध बन्नुका कारण एउटै हुँदैनन् । जीवनसाथीबीच संवादको कमी, एक–अर्कालाई पर्याप्त समय दिन नसक्नु, भावनात्मक साथको अभाव, व्यस्थताका कारण संयुक्त परिवारको संस्कारमा आएको स्खलन, निरन्तर विवाद, उपेक्षा वा आफ्नो भावना बुझिदिने व्यक्तिको खोजी जस्ता कारणले मानिस अर्को व्यक्तितर्फ नजिकिन सक्ने मनोवैज्ञानिक बुझाइ छ ।
विशेषगरी व्यस्त र प्रबिधि ‘डोमिनेटेट’ जीवनशैलीमा दम्पतीबीच एउटै घरमा रहेर पनि भावनात्मक दूरी बढ्दै गएको अवस्था देखिन्छ । काम, सामाजिक जिम्मेवारी र प्रविधिमा बढ्दो निर्भरताका कारण कतिपय दम्पतीले एक–अर्कालाई आवश्यक समय र ध्यान दिन नसक्दा सम्बन्धमा खालीपन वा निरसभाव सिर्जना हुन सक्छ ।
यही खालीपन र निरसभावको बिचमा परिवारभन्दा बाहिरका व्यक्तिबाट प्राप्त हुने प्रशंसा, ध्यान, आत्मीयता र ‘मलाई बुझ्ने कोही छ’ भन्ने अनुभूतिले नयाँ सम्बन्धलाई आकर्षक बनाउन सक्छ । सुरुमा सामान्य कुराकानी वा मित्रताका रूपमा सुरु भएको सम्बन्ध क्रमशः भावनात्मक निर्भरता र प्रेम सम्बन्धमा परिणत हुन सक्ने अवस्था पनि देखिन्छ ।
प्रविधिले बढाएको निकटता
सामाजिक सञ्जालले मानिसलाई एक–अर्कासँग जोड्न सहज बनाएको छ । फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, टिकटक तथा अन्य डिजिटल माध्यमबाट पुराना साथी भेटिनु वा नयाँ व्यक्तिसँग निरन्तर कुराकानी हुनु सामान्य भइसकेको छ । यही निरन्तर सम्पर्कले कतिपय अवस्थामा भावनात्मक दूरी घटाउँदै सम्बन्धलाई वैवाहिक सीमाभन्दा बाहिर लैजान सक्छ ।
तर प्रविधि आफैंमा बाहिरी सम्बन्धको कारक भने होइन । सम्बन्ध कसरी प्रयोग गरिन्छ र वैवाहिक जीवनमा रहेका सीमालाई कति सम्मान गरिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
आवश्यकता पूरा गर्ने नाममा सम्बन्धबाहिर जानु कति उचित ?
वैवाहिक जीवनमा भावनात्मक, मानसिक वा शारीरिक आवश्यकता पूरा नभएको महसुस हुनु वास्तविक समस्या हुन सक्छ । तर त्यसको समाधानका रूपमा बाहिरी सम्बन्ध रोज्नुलाई नैतिक र उचित भन्न सकिदैन ।
त्यस्तो सम्बन्ध रोज्दा झनै अर्को समस्या सिर्जना उत्पन्न हुन सक्छ । यसले जीवन साथी बीचको विश्वास कमजोर बनाउने, परिवारमा तनाव बढाउने र सम्बन्धमा गहिरो चोट पु¥याउने सम्भावना रहन्छ । त्यस्तो संम्भावना धेरै रहन्छ । घर भित्रको सम्बन्ध झनै बिग्रदै जानु र बाहिरको सम्बन्ध लुकिछिपीमा सिमित हुँदै गर्दा मानसिक रुपमा बिच्छिप्त हुने खतरा रहन्छ ।
मनोपरामर्शदाता तथा त्यस क्षेत्रमा कामगर्ने चिकित्सकहरुका अनुसार यस्तो खतराले धेरैलाई मानसिक रोगको शिकारसमेत बनाएको छ ।
त्यसैले वैवाहिक जीवनमा कुनै आवश्यकता वा असन्तुष्टि भए त्यसबारे खुलेर संवाद गर्नु, एक–अर्काको भावना बुझ्ने प्रयास गर्नु र आवश्यक परे सम्बन्ध परामर्श लिनु नै स्वस्थ र नैतिक विकल्प हो र हुनुपर्छ ।
आकर्षण क्षणिक हुन सक्छ, तर असर दीर्घकालीन
नयाँ व्यक्तिबाट प्राप्त हुने ध्यान, प्रशंसा र उत्साहले सुरुमा सम्बन्ध निकै विशेष लाग्न सक्छ । तर नयाँपनको आकर्षण र दीर्घकालीन सम्बन्धको वास्तविकता एउटै हुँदैन । त्यसैले तत्कालको भावनात्मक आकर्षणलाई जीवनको स्थायी आवश्यकता ठान्नुअघि त्यसले आफू, जीवनसाथी र परिवारमा पार्न सक्ने प्रभावबारे गंभिर भएर सोच्नु आवश्यक हुन्छ ।
अन्ततः बिहेपछि बाहिरी प्रेम सम्बन्धलाई केवल ‘आवश्यकता’ वा ‘आकर्षण’ भनेर एउटा शब्दमा सीमित गर्न सकिँदैन । यसको पछाडि व्यक्तिको भावनात्मक अवस्था, वैवाहिक सम्बन्धको गुणस्तर, आपसी संवाद, व्यक्तिगत सीमाना र परिस्थितिको भूमिका हुन्छ । यो सम्बन्धलाई नैतिकताको छाता ओडाउन पनि सकिदैन ।
विवाहलाई बलियो बनाउने आधार भनेको केवल एउटै छानामुनि बस्नु होइन—एक–अर्कालाई समय दिनु, सुन्नु, बुझ्नु, सम्मान गर्नु र आवश्यक पर्दा खुलेर कुरा गर्नु हो । यो पक्षलाई ध्यानमा राखेर वैवाहिक सम्बन्धलाई बलियो बनाउनु नै सबैभन्दा श्रेयस्कर हुन्छ ।
दाम्पत्य जीवनमा भावनात्मक दूरी बढ्दै जाँदा बाहिरी सम्बन्धतर्फ आकर्षण बढ्न सक्छ । प्रबिधिको अत्यधिक प्रयोगले त्यस दिशातर्फ मानिसलाई डो¥याउन पनि सक्छ । यो पनि एकप्रकारको अल्गोरिदम नै हो ।
तर अल्गोरिदमले खुला भएर सोच्ने ठाउँमा पु¥याउन सक्दैन । त्यसले त झनै साँघुरो बनाउँदै निश्चित बिन्दूमा लगेर मानिसलाई उभ्याइदिन्छ, जहाँ मानिस गैडा जस्तै हुन्छ, दायाँबायाँ हेर्न सोच्न पनि सक्दैन ।
यस्तो ठाउँमा पु¥याउन सक्ने क्षमता राख्ने प्रबिधिले निकास दिनसक्दैन भन्ने हेक्का नराख्ने हो भने त्यसले दूर्घटनाको संभावनालाई नै अगाडी उभ्याई दिन्छ । त्यसकारण प्रविधिको बाटोले हामिलाई कहाँ पुराउँदै छ ? भन्ने कुरालाई समय छदै हामिले सोच्न र मनन् गर्न सक्नु पर्दछ ।