गोरक्ष समाचारदाता
दाङ, २८ साउन । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी एकतामा लाग्नुपर्ने आग्रह एक कार्यक्रममा सहभागी नेता–कार्यकर्ताहरूले गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति स्व. सुशील कोइरालाको ८७औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ ले बिहीवार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरूले पार्टीलाई एकढिक्का बनाउन नेताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने बताएका हुन ।
नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ का क्षेत्रीय सभापति भीमप्रकाश खड्काको अध्यक्षता तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वक्ताहरूले संविधानका पिता मानिने स्व. कोइरालाले लोकतान्त्रिक संविधान जारी गरी देशलाई नयाँ युगमा प्रवेश गराएको स्मरण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि खनालले सशस्त्र द्वन्द्वमा रहेको माओवादी लगायत सबै दल, धर्म, भाषा, वर्ग र लिङ्गलाई मिलाएर लोकतान्त्रिक संविधान जारी गर्दै कोइरालाले आफूलाई एक सक्षम नेताका रूपमा प्रमाणित गरेको बताए ।
सादा जीवन र उच्च विचारसहित देशलाई पहिलो प्राथमिकतामा राखेर कोइरालाले नेपाली कांग्रेसलाई पहिलो दलका रूपमा स्थापित गरेको पनि उनको भनाइ थियो । द्वन्द्व र अप्ठ्यारो परिस्थितिमा आफ्नो नेतृत्व क्षमता प्रयोग गरी पार्टी एकता र राष्ट्रियताको विषयमा कोइराला अडिग रहेको खनालले उल्लेख गरे र वर्तमान समयमा नेता–कार्यकर्ताले उनको विचार आत्मसात् गर्नुपर्ने बताए । कांग्रेस बलियो नभई राष्ट्रियता बलियो नहुने भन्दै उनले पार्टी एकताको आवश्यकतामा जोड दिए ।
राष्ट्रिय सभाकी पूर्वप्रमुख सचेतक अनिता देवकोटाले कोइरालालाई आफ्नो संकल्प पूरा गर्ने नेताका रूपमा चित्रण गर्दै निष्ठा र समर्पणका साथ देशलाई शान्ति र स्थिरताको मार्गमा डोरÞ्याउने उनको विचार आत्मसात् गरी कांग्रेस एकढिक्का भई अगाडि बढ्नुपर्ने बताइन् । लुम्बिनी प्रदेश सदस्य जानका केसीले कोइरालाले देश र जनताका लागि गरेको त्याग स्मरणीय रहेको र पार्टीलाई एकढिक्का बनाउने नेताको वर्तमान समयमा खाँचो रहेको बताइन् । जिल्ला सचिव अर्जुन योगीले लोकतन्त्र, पार्टी र देशका लागि कोइरालाको योगदानको सम्मान गर्नुपर्नेमा जोड दिए भने महासमिति सदस्य बिमला योगीले उनलाई राष्ट्रवादी परिचय बोकेका, राष्ट्र, जनता र सीमान्तकृत समुदायको हितमा काम गरेका नेताका रूपमा उल्लेख गर्दै संक्रमणकालीन समयमा सबैलाई मिलाई संविधान जारी गर्ने र समावेशिताको पक्षमा काम गर्ने उनको योगदान स्मरण गरिन् ।
कांग्रेस नेता नन्दनकुमार शर्माले नेपाली कांग्रेस देशको मियो भएकाले एकताका साथ अगाडि बढ्नुपर्ने र कांग्रेसमा समस्या आए देशमै समस्या आउने भन्दै कोइरालाको विचार आत्मसात् गर्न आग्रह गरे । किसान महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीले वर्तमान नेताहरूले तेरो–मेरो नभनी एकताका साथ अगाडि बढेमा मात्र कोइरालाप्रति साँचो सम्मान हुने बताए । महिला संघ दाङकी कार्यवाहक अध्यक्ष लक्ष्मी लम्सालले पनि पार्टी एकताको आवश्यकतामा जोड दिइन् भने पूर्वजिल्ला सदस्य विपुल पोखरेलले पार्टी र राष्ट्रिय एकता कोइरालाको प्राथमिकताको विषय भएको र लोकतन्त्र तथा संवैधानिक शासनका लागि उनको त्याग अतुलनीय रहेको बताउँदै हालको अप्ठ्यारो परिस्थितिमा नेताहरू एकआपसमा झुकेर व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव आर.के. शीतलले गरेका थिए ।